वीरगन्ज । अन्य पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गर्ने लहर मधेश प्रदेशमा निरन्तर अगाडी बढिरहेको छ । यहि पुस १४ गते आईतबार पनि अन्य पार्टी परित्याग गरी एमाले पार्टीमा प्रवेश गर्ने वृहत पार्टी प्रवेश कार्यक्रम एमालेले औपचारिक रुपमा नै सार्वजनिक गरेको हो ।
नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा एमाले पार्टी पर्साको अगुवाईमा वृहत पार्टी प्रवेश कार्यक्रम आईतबार पर्साको सखुवाप्रसौनी गाउँपालिकामा राखेको छ । यो कार्यक्रमका विभिन्न पार्टी परित्याग गरी ५ हजार बढि व्यक्तिहरु एमालेमा प्रवेश गर्ने तयारी रहेको एमाले स्थायी कमिटि सदस्य एवं मधेश प्रदेश इन्चार्ज लिलाराज श्रेष्ठले बताए । ‘संख्यामा मात्र नभई ५ हजार जना व्यक्तिको नाम, फोन नम्बर सहितको लिष्ट नै तयार भइसकेको छ’ उनले भने ।
मधेशमा एमाले प्रतिको आकर्षणको दरिलो आधार मधेश प्रदेशको समृद्धि र विकासमा एमालेले राखेको प्रष्ट भिजन र कार्य सम्पादन नै रहेको एमाले मधेश प्रदेश इन्चार्ज श्रेष्ठले पर्सेली संचारकर्मी सामु बताए । कृषिमा अपार सम्भावना बोकेको मधेशको समृद्धिका लागि सुनकोशी मरिन डाइर्भन सिचाईं आयोजना सहितको काम अहिले पनि एमाले नेतृत्वको सरकारले गरिरहेको छ । हुलाकी राजमार्ग निर्माण, रेल सेवा संचालन र पाइपबाटै पेट्रोलियम पदार्थ नेपाल भित्र्याउने जस्ता विगतका कार्य सम्पादन पनि मधेशको भूमिमा एमालेले नै अगाडी बढाएका कामका उदाहरण हुन् । कृषिमा पनि मधेशका विभिन्न जिल्लामा सिंचाई सेवा पु¥याउने लक्ष्य सहित एमाले नेतृत्वको सरकारले अहिले पनि गरिरहेको उदाहरण्मले एमाले प्रति मधेशमा जनलहर आएको एमाले नेताहरुको दावी छ । एमालेका नेताहरुको यो दावीलाई मधेशमा एमाले प्रवेश गर्नेहरुको लहरले पनि पुष्टि गरिरहेको स्थानीय अगुवाहरुको तर्क छ ।
राजनीतिक वृत्तमा राम्रो पकड राख्ने सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल लगायतका व्यक्तित्व आईतबार पनि एमाले पार्टीमा प्रवेश गर्ने सम्पूर्ण तयारी रहेको एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माले बताए । प्रेस चौतारी नेपाल पर्साको व्यानरमा औपचारिक रुपमा पत्रकार सम्मेलन गरी एमालेले वृहत पार्टी प्रवेश र जनसभाको कार्यक्रम ’bout शनिबार घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा एमालेका स्थायी कमिटि सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलाराज श्रेष्ठ, एमाले पार्टीका केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजारा, केन्द्रिय सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, एमाले केन्द्रिय सदस्य तथा महिला नेतृ निर्मला देवकोटा, एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष एवं संविधान सभा सदस्य विचारी यादव, मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल, पर्साका चर्चित नेता एमालेका सल्लाहकार जालिम मिया, एमाले पर्साका लेखा समिति अध्यक्ष शिवजी गुप्ता लगायतका एमालेका नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको हो । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, रेडियो वीरगन्ज, टिभी वीरगन्ज र मधेश दृष्टि पत्रिकाका संचालक महासंघका पूर्व उपाध्यक्ष ध्रुव साह लगायतका संचारकर्मीहरुको पनि सकृय सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रेस चौतारी नेपाल पर्साका कोषाध्यक्ष सन्तोष पटेलले गरेका थिए ।
विगतमा पनि एमाले पार्टीमा प्रवेश गर्ने क्रम निकै रहेको थियो । पूर्व सांसद हरिनारायण रौनियारदेखि स्थानीय पालिकाका प्रमुख मात्र नभई प्रदेश सांसदहरु पनि एमाले पार्टीमा प्रवेश गरेका उदाहरण मधेशमा धेरै छन् । आईतबारको वृहत एमाले प्रवेश कार्यक्रम पनि यसैको निरन्तरता भएको पाइएको छ ।