धनगढी । धनगढी उपमहानगरपालिकाले उज्यालो धनगढी अभियानअन्तर्गत नगरका भित्री सडकमा पनि रोप लाइट जडान गरेको छ ।
सुरुमा मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा लाइट जडान गरेको उपमहानगरपालिकाले त्यसपछि क्याम्पस रोडमा रोप लाइट जडान गरेको थियो ।
सोही क्रममा धनगढी उपमहानगरपालिका २ गुल्म–एसपीए भएर चौराहसम्मको सडक खण्डमा पनि सडक बत्तीका पोलहरूमा रोप लाइट जडान गरिएको छ ।
नगर उपप्रमुख कन्दकला रानाले सो सडक खण्डमा जडान गरिएका रोप लाइट बालेर उद्घाटन गरेकी छन् । उपमहानगरपालिकाले सहिद गेटदेखि क्याम्पस रोडसम्म रहेको सडक खण्डमा सडक बत्तीका पोलहरूमा लगाइएका रोप लाइट शुक्रकार एक कार्यक्रमकाबीच नगर उपप्रमुख रानाले उद्घाटन गरेकी हुन् ।
सो अवसरमा उपमहानगरभित्र कार्यरत कर्मचारी, पदाधिकारी लगायत नगरवासीको समेत उत्साहपूर्ण सहभागिता रहेको थियो । उपमहानगरपालिकाले धनगढीका प्रत्येक सडक खण्डमा रात्रीकालिन बत्ती जडान गरेर उज्यालो धनगढी बनाउने योजनालाई क्रमिक रुपमा कार्यान्वयन गर्दै आएको छ ।