लमजुङमा पात बजाउने प्रतियोगिताको तयारी

लमजुङ । लमजुङमा लोकधुनका रुपमा परिचित पात बजाउने प्रतियोगिताको तयारी थालिएको छ । मौलिक लोकसंस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापित ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो नवौं स्थापना दिवसका अवसरमा यो वर्षदेखि तीन दिने ठाडोभाका मेलाका साथमा सो प्रतियोगिता समेत गर्ने घोषणा गरेको हो ।

सो स्थापना दिवस यो वर्ष लमजुङको दोर्दी गाउँपालिका– ८ को हिलेबेसीमा आउँदो माघ १७, १८ र १९ गते सञ्चालन गरिने तय भएको प्रतिष्ठानले जनाएको छ । सो अवसरमा यो वर्षदेखि लोकधुनको रुपमा स्थापित पात बजाउने प्रतियोगिता समेत थप गरिएको प्रतिष्ठानका संरक्षक समेत रहेका ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले बताए । उनका अनुसार स्थापना दिवसमा यस अघि सञ्चालन गर्दै आएका ठाडोभाका खुला प्रतियोगिता र बाघचाल खुला प्रतियोगिता पनि सँगसँगै हुने छन् ।

लोकधुनको पात बजाउने प्रतियोगिताका ’boutमा जानकारी दिदै धम्पुले भने, ‘केही दशक अघिसम्म पहाडका वनपाखामा घन्किने पातको सशेली हिजोआज सुन्न छाडिएको छ । लोपोन्मुख पात बजाउने कलाको संरक्षण र प्रवद्र्धनका लागि यो वर्षदेखि सो प्रतियोगिता गरिने भएको हो ।’

जुन समयमा मादलको समेत पर्याप्तता थिएन– त्यो समयमा लोकधुन अर्थात पात बजाउने कार्य गरेर त्यसैमार्फत वारीपारीका साथीसंगीलाई भेटघाटका लागि आफ्नोमा बोलाउने, मनका विरह बेथा वा खुशी तथा मायापिरतिका कुरा पातको धुनमार्फत पस्कने काम गर्ने गरिन्थ्यो धम्पुको भनाइ छ । उनका अनुसार पछिल्लो पुस्ताले यसको नामसम्म नसुनेको स्थिति बन्दैछ भने पात बजाउन जान्ने त धेरै पर रह्यो । ‘पात बजाउनु पनि एक कला र संस्कृति थियो, हो तर यो लोप हुने स्थितिमा पुगेको हुँदा त्यसको जगेर्नाका लागि यसको समेत प्रतियोगिताको आयोजना गर्ने सोच र योजना अनुसार यो वर्षबाट सो प्रतियोगिता प्रतिष्ठानमार्फत सञ्चालन गरिने भएको हो ।’ प्रतिष्ठानका महिला उपाध्यक्ष एवम् लोकगायिका सीता दुराले बताइन् ।

यो पहिलो पात बजाउने प्रतियोगिताको परीक्षण वर्ष भएको हुँदा सहभागी संख्याका आधारमा अर्को वर्षबाट पुरस्कार राशि थप गर्न सकिने सल्लाह भएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताइन् । उनका अनुसार यो वर्ष पात बजाउने प्रतियोगितामा पहिलो हुनेलाई सात हजार रुपैयाँ, दोस्रो हुनेलाई पाँच हजार रुपैयाँ तेस्रो हुनेलाई तीन हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही २–२ हजार रुपैयाँ र सबैलाई प्रमाणपत्र प्रदान गर्ने तयारी छ ।

यसैगरी विगतका पाँच छ वर्षदेखि सञ्चालन हुँदै आएको बाघचालमा पहिलो पुरस्कार १० हजार, दोस्रो सात हजार, तेस्रो पुरस्कार पाँच हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई २५ सयका दरले पुरस्कार प्रदान गरिने कोषाध्यक्ष गुरुङले बताएकी छन् ।

त्यस्तै, ठाडोभाका प्रतियोगिताको पुरस्कार विगत वर्षजस्तै पहिलो हुने टिमलाई ४० हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टिमलाई १० हजार रुपैयाँ रहेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताए । उनका अनुसार ठाडोभाका प्रतियोगितामा सहभागी हुने टिमलाई विगतका वर्षझैं गीत गाएपछि तीन हजार रुपैयाँ बाटोखर्च प्रदान गर्ने नीति कायमै छ ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष घिमिरेले भने, ‘यो वर्षबाट स्थापना दिवसको उदघाटन कार्यक्रममा वितरण गर्ने गरी दुई पुरस्कार थप गरिएको छ ।’ ती पुरस्कार पूर्वप्रजिअ समेत रहेका प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारीले आफ्नी स्व. आमा जगतमायाको स्मृतिमा ‘स्व. जगतमाया अधिकारी स्मृति पुरस्कार’ र कार्यकारी सदस्य कृष्ण केसीले आफ्ना पिताका नाउँमा ‘स्व. दुर्गा स्मृति पुरस्कार’को स्थापना गर्नु भएको हो ।

जगतमाया स्मृति पुरस्कार प्रतिष्ठानसँग आवद्ध भएका ठाडोभाकाका गायक गायिका रहेका वरिष्ठ आजीवन सदस्य तथा आजीवन सदस्यलाई जेष्ठताका आधारमा प्रदान गरिने छ । त्यस्तै, स्व. दुर्गा स्मृति पुरस्कार लोकसंस्कृतिको खोज अनुसान्धान तथा स्थायित्वका लागि काम गर्ने अभियन्ताहरूको सम्मानका लागि प्रदान गरिने छ । ती पुरस्कारको राशि क्रमशः नगद पाँच हजार र पाँच हजार ५१ रुपैयाँ रहेको छ भने साथमा सम्मान पत्र र दोसल्ला रहने ती पुरस्कारका संस्थापकहरूले प्रतिष्ठानसँग सम्झौता गर्नु भएको घिमिरेले जानकारी दिए ।

ती पुरस्कारको स्थायित्वका लागि विस्तारै अक्षयकोष समेत बनाई दिने बचन दिनु भएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताएकी छन् ।

प्रतिष्ठानले स्थापना दिवसमा विगतको पाँच वर्षदेखि स्व. टिकाकुमारी ढुंगाना स्मृति पुरस्कार र गत वर्षदेखि ठाडोभाका गायक स्व. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार वितरण गर्दै आएको छ । ती पुरस्कारको राशि क्रमशः दश हजार रुपैयाँ र २२ हजार २२२ रुपैयाँका साथमा सम्मान पत्र र दोसल्ला रहेको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिएकी छन् । उनका अनुसा ती दुवै पुरस्कारको अक्षयकोष समेत स्थापना भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को