काठमाडौं । कलाकार बुद्धी तामाङ पनि चलचित्र निर्माणमा उत्रिएका छन् । तमु ल्होसारको अवसर पारेर उनले सोमबार नयाँ चलचित्र ‘कुस्ती’ निर्माणको घोषणा गरेका छन् ।
अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने यो चलचित्रको फस्ट लुक्स (पोष्टर) सार्वजनिक सहित सोमबार निर्माण घोषणा गरिएको हो । चलचित्रमा धीरज मगर र मिरुना मगरलाई शिर्ष भूमिकामा चयन गरिएको छ । चलचित्रमा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि मुख्य भूमिका रहने निर्देशक अनिलले जानकारी गराएका छन् । बाँकी कलाकारको चयन गरेर माघबाट यसको अभिनय कार्यशालासँगै छायांकन सुरु गरिने भएको छ ।
सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा चलचित्र कुस्तीमा देखाइने निर्देशक योञ्जनले बताए । उनले भने,‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ ।’
अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने यो चलचित्रमा कलाकार बुद्धी तामाङको कथावस्तु रहेको छ । सोही कारण आफू टिममा निर्माताको रुपमा जोडिएको बुद्धीले बताए । उनले भने,‘म यसै क्षेत्रमा छु र यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । हामी चलचित्रको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौँ ।’
यो चलचित्रलाई काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने छ । कुस्तीलाई आगामी भदौमा रिलिज गरिने भएको छ ।