अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायमपछि यी हुन् अध्यक्षका दाबेदार


काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायम हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् । उमेर हद कायम हुने भएपछि अब उपमहासचिव र त्योभन्दा तल्लो वरीयतामा रहेका विद्यार्थी नेताहरूले मात्रै सो पदमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा मतदान हुँदा उमेर हद लागू गर्नुपर्ने पक्षमा ९ सय र उमेर हद लागू नगरी खुला प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा ८ सय ७९ मत परेको थियो । शनिबार भएको निर्वाचनको आइतबार राति अबेर मात्रै मतपरिणाम सार्वजनिक भएको थियो ।
अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चुन्दा उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा विवाद थियो । यही विवादका कारण गत १० असोजदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित २३औं राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको थियो । यो विवादको छिनोफानो गर्न अखिल क्रान्तिकारीले लोकतान्त्रिक प्रक्रिया अपनाएको थियो ।

अब ३२ वर्षसम्मकाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरू चुनिनेछ । नयाँ कार्यसमिति चयनका लागि आगामी १२ माघमा निर्वाचन कार्यक्रम छ ।

अखिल क्रान्तिकारीमा उमेर हद सबै तहका कमिटीमा लागू हुनेछ । फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले केन्द्रदेखि प्रदेश र जिल्ला तहका कमिटीसम्म अब ३२ वर्षे उमेर हद लागू हुने बताए । एकाइ कमिटीमा भने यसअघि नै ३२ वर्षे उमेर हद लागू भइसकेको छ ।

अखिल क्रान्तिकारीको विधानमा २ सय ४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ ।

उमेर हद लागू हुँदा २२औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, गजेन्द्र देवलगायत प्रतिस्पर्धाबाट बाहिरिनेछन् । यस्तै, संगठनका निवर्तमान महासचिव दीपेश पुन पनि अब उम्मेदवार बन्न पाउनेछैनन् ।

योसँगै निवर्तमान उपमहासचिव, सचीव र तल्लो वरीयतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहनेछ । ३२ बर्से उमेर हद कायम हुँदा विश्वविद्यालय प्रदेशबाट गोविन्द बानियाँ अध्यक्षका बलिया दाबेदार हुन् । सिभिल इन्जिनियर स्नातक र व्यवस्थापन एमबीए स्नातकोत्तर पास गरेका उनी सबै नेताहरूसँग समदूरीमा रहेका छन् र समाजसेवी संस्था रोटरी क्लबका सदस्य पनि हुन् ।

कोशीबाट हेमन्त राई अध्यक्षको आकांक्षी छन् । कोशीको निवर्तमान अध्यक्ष राई नेता सुदन किराती निकट हुन् । उनी उपमहासचिव जनार्दन शर्मा पक्षधरका हुन् ।

बाग्मतीबाट अध्यक्षमा अर्का आकांक्षी रोशन थापामगर देखिएका छन् । नेता जनार्दन शर्मा पक्षका उनी निवर्तमान कमिटीमा सचिव एवम् पुल्चोक क्याम्पसका निवर्तमान स्ववियु सभापति थिए ।

बाग्मतीबाट अघिल्लो कमिटीमा उपमहासचिव रहेका सुरजसिंह ठकुरीले केन्द्रीय अध्यक्षमा दाबी गर्ने तयारी गरेका छन् । उमेर हद लागू हुँदा अध्यक्षका दाबेदार गर्ने ठकुरी पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नजिकका भनेर चिनिन्छन् ।

उमेर हद लागू भए गण्डकीबाट केन्द्रीय अध्यक्षको दाबी गर्नेमा नारायण बडाल र सुदिन पौडेल छन् । दुवै जना विघटित कमिटीका उपहासचिव हुन् । बडाललाई नेता शर्मा र पौडेललाई वर्षमान पुनको साथ छ ।

लुम्बिनीबाट राजेन्द्र विष्ट अध्यक्षका आकांक्षी देखिएका छन् । सचिवको कार्यकाल सकाएका विष्ट वर्षमान पुन पक्षधर हुन् ।

उमेर हद लागू हुँदा कर्णालीका तिर्सना हमाल, योगेन्द्र बुढा अध्यक्षका आकांक्षी देखिएका छन् । अघिल्लो कार्यकालमा उपमहासचिव रहेकी हमाल वर्षमान पुन पक्षधर हुन् भने अघिल्लो कार्यकाल उपमहासचिव रहेका बुढा कृष्णबहादुर महरा निकट मानिन्छिन् ।

सुदूरपश्चिमबाट पार्वती नेगीले अध्यक्षमा दाबी गर्ने तयारी गरेकी छन् । वर्षमान पक्षधर उनी अघिल्लो कमिटीमा उपमहासचिव थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरी वडा नं २० मा कांग्रेसको प्यानलै विजयी