प्रतिवादीहरुलाई थुनामै पठाउनुपर्ने सरकारी वकिलको जिकिर

पोखरा । पोखरामा सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दाका प्रतिवादीहरुलाई तत्काल पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्नुपर्ने सरकारी वकिलले माग दाबी गरेका छन् ।

मंगलबार र बुधबार दुई दिन लगाएर ६ जना सरकारी वकिलहरुले गरेको बहसमा सबैजसोले आफ्नो बहस पैरवीमा त्यस्तो दलीत प्रस्तुत गरेका हुन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणः

हाल उपस्थित उपस्थित गराइएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ७ जना प्रतिवादीहरुको न्यायाधीशसमक्ष बहसपछि मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

मंगलबार सहायक जिल्ला न्यायाधिवक्ता सुजता पौडेलले बहस सुरु गरेकोमा सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले बहस नटुंगिएपछि बुधबार उनीबाटै थुनछेक बहस थालनी भएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

उनका अनुसार बुधबार शर्मासहित अन्य ४ जना सरकारी वकिलले बहस गरेका हुन् । क्रशमः सहायक जिल्ला न्यायाधिवक्ता विपीनराज तिवारी, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश गौतम र नायव महान्यायाधिवक्ता सन्दीपराज रेग्मीले बहस गरेका थिए ।

बहसमा उपस्थित पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुलीले उनीहरुको भनाइ उद्घृत गर्दै सबैजसो सरकारी वकिलले अभियोजनअनुसार सजाय हुनुपर्ने तथा पीडितको रकम फिर्ताका लागि तत्काललाई प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामै पठाएर अनुसन्धान गर्नुपर्ने माग गरेको जानकारी दिए ।

प्रतिवादीहरुलाई थुनामा नराख्दा मुद्दामा नकारात्मक असर पर्न सक्ने उनीहरुको बहसको मुख्य जोड थियो ।

अर्का अधिवक्ता बिबी विष्टका अनुसार ‘बचतकर्ताले थोपा–थोपा गरेर बचत गरेको रकम यी प्रतिवादीहरुको मिलेमतोमा हिनामिना भएको, मुख्य कुरा बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने अहिलेको आवश्यकता रहेको’ सरकारी वकिलहरुले दलील प्रस्तुत गरेका छन् ।

गाईंभैँसीको दूध, दही, ध्यू बेचेर आफ्ना सन्तानको भविष्यका लागि दुःख गरेका किसानको रकम हिनामिना भएको, आफूले एक रुपैयाँ पनि लगानी नगर्ने, तर विभिन्न सहकारीका बचतकर्ताको करोडौं रकम लगानी महँगो टिभी खोल्ने, अहिले टिभी पनि बन्द गरेर रकम अपचलन गर्ने लगायतका क्रियाकलाप गर्ने हाल उपस्थित गराइएका सातै जना प्रतिवादीहरुलाई कारबाही गर्नुपर्ने उनीहरुको जोड थियो ।

बिहीबार जाहेरवालाको तर्फबाट कानून व्यवसायीले बहस गर्ने स्रेस्तेदार खनालले जानकारी दिए ।

‘आज (बुधबार) सरकारी वकिलको बहस सकियो । अब भोलि (बिहीबार) जाहेरवालाको तर्फबाट बहस हुनेछ । त्यसपछि क्रमैसँगै प्रतिवादीहरुको तर्फबाट कानून व्यवसायीहरुको बहस हुन्छ,’ स्रेस्तेदार खनालले भने, ‘सबैको बहस सकिएपछि अन्तिम दिन उच्च सरकारी वकिल कार्यालयका तर्फबाट सहन्यायाधिवक्तासहितले जवाफ बहस गर्नुहुनेछ ।’ उच्च सरकारी वकिल कार्यालय, पोखरामा हाल सहन्यायाधिवक्ता गोविन्दराज गौली छन् । प्रतिवादी रवि लामिछानेको तर्फबाट बहसका लागि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बास्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्तलगायतले वकालतनामा दिएका छन् ।

धेरे कानून व्यवसायीहरुले नाम टिपाएको हुँदा न्यायाधीश नीतिज राईले समयको व्यवस्थापन गर्ने गरी हरेक प्रतिवादीहरुको तर्फबाट चारपाँच जनासम्मलाई समय दिन सक्ने अदालतले जनायो ।

सधैँ झैं बुधबार पनि रविसहित गोर्खा मिडियाका पूर्व संचालक छविलाल जोशी, जिबी राईकी पार्टनर लीला पछाईं, साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद एवं सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ र पूर्व संचालक कृष्णबहादुर गुरुङलाई अदालत उपस्थित गराइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन समेतको मुद्दामा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसमेत ४४ जनालाई प्रतिवादी बनाएर अघिल्लो आइतबार अदालतमा मुद्दा दर्ता भएको थियो ।

गत वर्ष नै मुख्य अभियुक्त जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाएर उक्त सहकारी ठगी अभियोगमा अदालतमा विचाराधीन मुद्दा दायर भएको थियो । पछिल्लो प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले ती प्रतिवादीहरुविरुद्ध कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गर्दै थप संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा कांग्रेस एक्लै चुनाव लड्ने