काठमाडौं । अभिनेता दयाहाङ राईको फेरी लगातार चलचित्र रिलिज हुने भएका छन् । गत असारपछि उनको एउटा पनि चलचित्र रिलिज भएको थिएन । कम्तीमा तीन महिनाको अन्तरालमा आफ्ना चलचित्र रिलिज होस भन्ने अभिनेता दयाहाङको चाहना थियो । तर त्यो चाहना बिपरित उनको अब पुसदेखि चैतसम्म तीन महिना भित्र चारवटा चलचित्र दर्शकमाझ आउने छन् ।
पछिल्लो समय गत असारमा दयाहाङको चलचित्र घरज्वाईँ रिलिज भएको थियो । यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । त्यसपछि उनको यतिबेलासम्म एउटा चलचित्र पनि आएको छ । अब यी अभिनेताको नयाँ चलचित्र कार्साङ रिलिज हुने भएको छ । २०८१ सालमा रिलिज हुने यो उनको पाँचौ चलचित्र हो । कार्साङ यही २६ पुसमा चलचित्र घरमा आउने छ ।
तर यसपछि आगामी चैतसम्म अरु चार वटा चलचित्र रिलिज हुने जानकारी आफुलाई आएको अभिनेता दयाहाङले बताएका छन् । चलचित्र कार्साङको पत्रकार भेटघाटका क्रममा यी अभिनेताले यो कुरा खुलाएका हुन् ।
अब चार वटा चलचित्र चैतसम्म रिलिज हुँदा २०८१ सालमा सबैभन्दा धेरै चलचित्र रिलिज हुने अभिनेताको सुचीमा दयाहाङ पर्ने भएका छन् । त्यसो त उनको २०८० मा पनि नौ वटै चलचित्र रिलिज भएका थिए । यी अभिनेताको बुझाईमा एकै वर्ष यतिधेरै चलचित्र हलमा आउनु राम्रो हैन । तर विभिन्न कारणले गर्दा २०८१ मा पनि ९ वटासम्म चलचित्र रिलिजको अबस्था आएको दयाहाङले प्रकाश पारेका छन् ।
यो वर्षका चलचित्रको कुरा गर्दा दयाहाङको गत २०८१ नयाँ वर्षको अबसर पारेर गत चैत ३०मा चलचित्र डिग्री माइला रिलिज भएको थियो । नयाँ वर्षको अघिल्लो दिन रिलिज भए पनि यसको व्यापार यो वर्षकै सूचीमा गणना भएको छ । डिग्री माइलाले बक्स अफिसमा सुखद व्यापार गरेको थियो । यो चलचित्रमा उनको जोडीको रुपमा अभिनेत्री आँचल शर्मा थिईन् ।
बैशाखकै तेश्रो हप्ता दयाहाङको अर्को चलचित्र मनसरा चलचित्र घरमा आएको भयो । यो चलिचत्रमा दयाहाङसँगै मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानसहितको मुख्य भूमिका थियो । चलचित्र मनसराले पनि राम्रो व्यापार गरेको थियो ।
यस्तै दयाहाङकै तेश्रो चलचित्रको रुपमा यो वर्ष जेठमा गाउँ आएको बाटो प्रदर्शन भएको थियो । नविन सुब्बाले निर्देशन गरेको यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेपनि यसले नेपाली बक्स अफिसमा औसत व्यापार गरेको थियो । यसमा दयाहाङ राई र पशुपति राई शिर्ष भूमिकामा रहेका थिए ।

अभिनेत्री मिरुना मगरसँग दयाहाङ राईले मुख्य भूमिका निर्वाह गरेको चलचित्र घरज्वाईं गत असारमा रिलिज भयो । यो चलचित्रले पनि आफ्नो लगानी उठाएर केही रकम मुनाफा कमाएको थियो । यसरी तीन महिनामा लगातार चारवटा चलचित्र रिलिज भएपछि भने हालसम्म दयाहाङको नयाँ चलचित्र आएको थिएन । अब भने यही २६ पुसमा उनको चलचित्र कार्साङ रिलिज हुने लागेको हो ।
दयाहाङको यो वर्षको कार्साङ पाँचौं चलचित्र हो । शेर्पा संस्कृतिमा आधारित भएर बनाईएको यो चलचित्रमा आफुले पहिलो पटक शेर्पा पात्र बनेर काम गरेको पनि यी अभिनेताले बताएका छन् । यो चलचित्रमा दयाहाङले नव अभिनेत्री सृजना निङ्लेखुसँग अभिनय गरेका छन् । जसमा जितु नेपाल, दीया मास्के पनि मुख्य भूमिकामा छन् ।
कार्साङपछि आगामी चैत अन्तिमसम्म दयाहाङका अरु चार चलचित्र आउने भएका छन् । ६ महिनासम्म एउटा पनि चलचित्र नआएको दयाहाङको फेरी तीन महिनामा चार चलचित्र आउन लागेका हुन् । यसरी अब चारवटा चलचित्र आउुनलाई दयाहाङ नियमित प्रकृया भन्छन् । एक महिनाको अन्तरमा आफ्नो चलचित्र आउँदा बिगतमा व्यापारमा असर नपरेको यी अभिनेताको कथन छ । तर अब फेरी दुई दिनमै यी अभिनेताका दुई चलचित्र रिलिज हुने भएका छन् ।
दयाहाङले अभिनय गरेको चलचित्र अञ्जिला आगामी २९ फागुनमा रिलिज हुने भएको छ । राष्ट्रिय महिला फुटबल खेलाडी अञ्जिला सुब्बाको खेल जिवनीमा यो चलचित्र आधारित छ । यसको भोलीपल्ट १ चैतमै दयाहाङकै मुख्य भूमिका रहेको नेपाली चलचित्र पूजा, सर ः राजागञ्ज प्रदर्शन हुने छ । यसरी दुई दिनमा दयाहाङकै लगातार दुई चलचित्र आउँनेछन् । तथापि दुई फरक जनराका चलचित्र भएकाले दुबैलाई दर्शकले हेर्ने विश्वास यी अभिनेताको छ ।
यी दुई चलचित्र आउनु अघि आगामी २ फागुनमा दयाहाङ राईकै अर्को चलचित्र दुःखी आत्मा रिलिज हुँदैछ । दयाहाङ र आँचल शर्माको मुख्य भूमिका रहेको यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसरी आगामी फागुनमा दयाहाङकै दुःखी आत्मा र अञ्जिला गरी दुई चलचित्र प्रदर्शन हुनेछन् ।
यो वर्षको अन्तिममा दयाहाङको अर्को चलचित्र पिताम्बर रिलिज हुनेछ । यो चलचित्र आगामी २९ चैतबाट चलचित्र घरमा आउँदैछ । पिताम्बरमा दयाहाङसँगै प्रदीप खड्का, सौगात मल्ल, दीव्य देब जस्ता मल्टी स्टार रहेका छन् ।
यसरी २०८१ सालमा दयाहाङका नौ वटा चलचित्र दर्शकमामाझ आउने छन् । २०८० सालमा पनि दयाहाङकै नौ वटा चलचित्र रिलिज भएका थिए । फेरी नौ वटा चलचित्र रिलिज भएर सोही रेकर्ड २०८१ मा पनि दयाहाङले कायम गर्दैछन् । यसरी २ वर्षमा दयाहाङका मात्र १८ वटा चलचित्र दर्शकमाझ आउने रेकर्ड बन्दैछ ।