काठमाडौं । विश्व विद्यालय अनुदान आयोग (युजीसी)ले भक्तपुरको बागीश्वरी कलेजलाई गुणस्तर सुनिश्चित तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । पढाईको गुणस्तर राम्रो भएको, विद्यार्थी संख्या उल्लेख्य भएको, भौतिक संरचना राम्रो भएको, दक्ष जनशक्ति भएको लगायत तोकिएको मापदण्ड पुरा गरेका कलेजलाई विश्व विद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गर्ने गर्दछ ।
बागीश्वरी कलेजले १ सय २० वटा सूचकहरु पार गरेर गुणस्तर निर्माण गरेकाले भक्तपुरका सामुदायिक कलेजहरुमध्येबाट पहिलो पटक क्यूएए प्रदान गरेको आयोगले जनाएको छ । आयोगले आइतबार एक समारोहका बीच कलेजलाई क्यूएए दिएको हो । क्यूएए पछि गुणस्तरीय शिक्षा प्रवद्र्धन हुने र नेपाली शैक्षिक प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त हुने कार्यक्रममा बताइएको थियो ।
क्यूएए सर्टिफिकेट प्रदान गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले शिक्षामा गुणस्तर सुनिश्चितता र प्रत्यायनले शैक्षिक संस्थाहरू थप जिम्मेवार हुने, शैक्षिक क्षेत्रको पारदर्शिता र उत्तरदायित्व वढ्ने अनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता वृद्धि भइ विश्वव्यापी मान्यता पाउने जानकारी दिए ।
बागीश्वरी कलेजले पहिलो तह प्राप्त गरेको र दोस्रो तथा तेस्रो तह पूरा गरेपछि विश्वविद्यालयको मान्यतामा पुग्ने कार्यक्रममा जानकारी दिइएको थियो । नेपालमा शिक्षाको गुणस्तर सुनिश्चितता र प्रत्यायनका लागि जिम्मेवार निकाय विश्वविद्यालय अनुदान आयोग हो। यसले शैक्षिक संस्थाहरूको मूल्यांकन गरी प्रत्यायन प्रदान गर्छ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली अन्तर्गत स्वपरीक्षण, समकक्षी परीक्षण तथा प्रत्यायन प्रयोजनको लागि गुणस्तर सुनिश्चितता तथा प्रत्यायनका मानकहरु र सूचकहरुको निर्धारणलगायतका पर्दछन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रका डिन प्राडा मोहनराज शर्माले क्यूएए प्राप्त कलेजहरुले रिसर्चमा जोड दिनुपर्ने बताए ।
प्राडा प्रेमराज पन्तले बागीश्वरी कलेजले राजनीतिक हडताललगायतमा पनि कलेज चलाउने गरेको र देशभरीका अभिभावकहरुको विश्वास जितेर समुदायको बलबुतामा भवन निर्माण गरेको बताए । बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले क्यूएए प्राप्त गर्नका लागि १० वर्ष तयार गरेको र अझ मेहनत गरी गुणस्तरलाई कायम राखिराख्ने प्रतिवद्धता जनाए । आइतवार नै आयोजित कार्यक्रममा मनमोहन इन्स्टिच्यूट अफ हेल्थ साइन्सलाई पनि क्यूएए प्रमाणपत्र दिइएको थियो ।