भक्तपुर । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम वागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमेः खल’ विजेता बनेको छ ।
नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै वडा नं. ९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा चाँगुनारायण नगरपालिका–९ को ताथली धिमेः खलःले नगद रु. ५० हजारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्राप्त गरेको हो ।
प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल ताथलीको ‘तैकाबु गणेश सांस्कृतिक समूह’ले नगद रु.२५ हजार सहित शिल्ड प्रमाण पत्र, धिमय् बाजा, भुछ्या, सिछ्या एक थान पुरस्कारको रूपमा प्राप्त गरेको छ ।
भक्तपुर नगरपालिकाको ‘निओ फ्युजन बाजा समूह’ले तेश्रो हुँदै नगद रु. १० हजारसहित शिल्ड पुरस्कार, धिमय् बाजा, भुछ्या एक थान प्राप्त गरेको छ ।
चौथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार भने काभ्रेपलाञ्चोक बनेपास्थित ‘देउला बाँसुरी बाजा खल’ले नगद रु. पाँच हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र एक थान धिमय् बाजा प्राप्त गरेको छ । त्यस्तै पाँचौ स्थानमा काभ्रेपलाञ्चोकको बनेपास्थित ‘वाँख्यो दाफा भजन खलः, छैटौंमा काभ्रेपलाञ्चोक पनौतीको ‘लायकु धिमे खलः, सातौंमा मध्यपुरथिमिको ‘शिवा सायमी खलः’, आठौँमा ललितपुरको लुभुस्थित ‘तलेजु बाजा खलः’, नवौंमा काठमाडौंको ‘बालकुमारी धिमे खलः’ र दशौँ स्थानमा ताथली सौडोलस्थित.‘सौडोल सांस्कृतिक बाजा खल’ परेको छ ।
सो कार्यक्रमको उदघाटन भक्तपुर क्षेत्र नं. १ का सङ्घीय सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले गरेका थिए भने पुरस्कार वितरण भक्तपुर क्षेत्र नं. २ का सङ्घीय सांसद दुर्लभ थापाले गरेका थिए ।
सो प्रतियोगितामा वागमती प्रदेश भित्रका भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायतका विभिन्न जिल्लाका विभिन्न पालिकाहरु गरि कूल ५५ वटा समूहको सहभागिता रहेको वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले जानकारी दिँदै वागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगिताले समग्र चाँगुनारायण नगरपालिकामा रहेका मूर्त–अमूर्त सम्पदा जगेर्ना गर्न सहयोग पुग्ने बताए ।
सो प्रतियोगिताको निर्णायक मण्डलमा धिमय् बाजा गुरु विष्णुबहादुर मानन्धर संयोजक रहेका थिए भने सदस्यहरुमा प्रा. डा पुरुषोत्तमलोचन श्रेष्ठ, शेषनारायण महर्जन, रविन्सन श्रेष्ठ र सुनेश श्रेष्ठ रहेका थिए ।