काठमाडौं । नियमित रुपमा आयोजना हुँदै आएको सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को लागि ६१ जन चयन भएका छन् । डिजिटल अडिसनमा सहभागी ७०० जना भन्दा बढी प्रतिस्पर्धीबाट ब्लाइण्ड अडिसनका लागि ६१ जना चयन भएको आयोजक संस्थाले जनाएको छ ।
बिगत जस्तै यो सिजनलाई पनि लक्ष्मण पौड्यालले निर्देशन गर्ने भएका छन् । यो सिजनको प्रसारण आगामी ४ माघबाट सुरु हुने निर्देशक पौडेलले राजधानीलाई जानकारी गराएका छन् । उनका अनुसार भ्वाइस अफ नेपाल सिजन ६ को प्रशारण यसपटक पनि हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट हुने छ ।
यसपटक पनि बिगतका सिजनहरुजस्तै बिभिन्न राउण्डको प्रतियोगिता कायमै रहेका पनि निर्देशक पौड्यालले बताएका छन् । बिगतमा रहेका केही कोचहरु भने यसपटक परिवर्तन भएको पनि उनले जानकारी गराएका छन् ।
यस अघि निरन्तर कोच रहेका प्रमोद खरेल यसपटकबाट बाहिरिएका छन् । यस्तै अघिल्लो सृँखलाका अर्का कोच राजेश पायल राईले पनि यो पटकको लागि समय दिन नसकेपछि उनको ठाउँमा अर्को कोच राख्नु परेको आयोजक पक्षले जनाएको छ ।
यसपटक लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका मेलिना राई नयाँ कोचको रुपमा भित्रिएका छन् । यसअघि कोच बनिसकेका राजु लामा र उदय सोताङ पनि कोचको रुपमा रहेका छन् ।