३ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धि हुँदा निर्माण क्षेत्र ऋणात्मक

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको आर्थिक वृद्धि ३ दशमलव ४ प्रतिशत हुँदा निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक रहेको छ । सरकारले चालू आवमा ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

चालू आवको साउन, भदौ र असोजको आर्थिक वृद्धिको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले पहिलो त्रैमासमा विद्युतीय, ग्यास, एयरकन्डिसन क्षेत्रमा सबैभन्दा बढी अर्थात् २१ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धि हुँदा निर्माण क्षेत्र शून्य दशमलव ३ प्रतिशतले ऋणात्मक रहेको जनाएको हो ।

कार्यालयले त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आव २०८०–८१ को प्रथम त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो ।

यस त्रैमासमा सकारात्मक आर्थिक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको कार्यालयले प्रस्ट्याएको छ ।

‘यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो,’ प्रतिवेदनमा उल्लेख छ, ‘खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेकाले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ ।’

यस वर्षको पहिलो त्रैमासमा कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये ६ वटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको छ । कार्यालयले विद्युत् र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ ।

कार्यालयले गत आवको चौथो त्रैमासको आधारमा भने चालू आवको पहिलो त्रैमासमा नेपालको अर्थतन्त्रको आकार शून्य दशमलव २ प्रतिशतले बढेको छ । आव २०८०–८१ को चौथो त्रैमास (वैशाख–असार)को तुलनामा आव २०८१–८२ को पहिलो त्रैमास साउन–असोज)को मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर शून्य दशमलव २ प्रतिशत रहेको पाइएको हो ।

मौसम प्रभाव समायोजन गरेको विवरणअनुसार पहिलो त्रैमासमा विद्युत् तथा ग्यास, सूचना तथा प्रविधि र यातायात तथा भण्डारण क्षेत्रमा सुधार आएको छ । खानी तथा उत्खनन क्षेत्र करिब १४ प्रतिशतले खुम्चिएको छ । यसैगरी व्यापार, निर्माण, पानी आपूर्ति तथा फोहोर व्यवस्थापन, उत्पादनमूलक उद्योग, कृषि, वन तथा मत्स्य क्षेत्र खुम्चिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आव २०८०–८१ को प्रथम त्रैमासको तुलनामा ३ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

यस त्रैमासमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक देखिएका छन् ।

चालू आव २०८१–८२ को प्रथम त्रैमास र अघिल्लो आवको सोही अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्र मापन गर्ने १८ मध्ये एउटा सूचक मात्रै ऋणात्मक देखिएको छ ।

चालू आवको साउन, भदौ र असोजमा यातायात तथा गोदाम क्षेत्र ६ दशमलव ७ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।

आवास तथा भोजन सेवा क्षेत्रले ६ दशमलव ३ प्रतिशत वृद्धिदर कायम गरेको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५ दशमलव ७ प्रतिशत भएको छ । प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५ दशमलव ४ प्रतिशत र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५ दशमलव १ प्रतिशत रहेको छ ।

निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको प्रारम्भिक अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि दर ३ प्रतिशत रहेको छ ।

धानलगायतका वर्षे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे बालीहरू र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिएको छ ।

समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको उल्लेख छ । यद्यपि, वर्षायामको बाढी र पहिरोले पु¥याएको क्षतिका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि भने हुन नसकेको जनाइएको छ ।

अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालू आवको प्रथम त्रैमासमा शून्य दशमलव ५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारण केही सुधार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि २ दशमलव ३ प्रतिशतले धनात्मक रहन गएको छ । मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा गत आव २०८०–८१ को चौथो त्रैमासिक (वैशाख, जेठ र असार)को तुलनामा चालू आव २०८१–८२ को प्रथम त्रैमास (साउन, भदौ र असोज)को प्रारम्भिक अनुमानअनुसार प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये १२ वटाको उत्पादन बढेको देखिएको छ । ६ वटा औद्योगिक क्षेत्रको उत्पादन भने घटेको देखिन्छ ।

विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा बढी ८ दशमलव ५ प्रतिशत वृद्धि हुने र यस क्षेत्रलाई पछ्याउँदै सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ७ दशमलव ७ प्रतिशत रहने अनुमान गरिएको छ । यस अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर नगण्य रूपमा ऋणात्मक शून्य दशमलव ८ प्रतिशत हुन पुगेको छ भने समग्र अर्थतन्त्रको वृद्धिदर शून्य दशमलव २ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान रहेको छ । ऋणात्मक वृद्धि हुने ६ वटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै खानी तथा उत्खनन क्षेत्रको ऋणात्मक वृद्धिदर १३ दशमलव ९ प्रतिशत र त्यसपछि व्यापार क्षेत्रको वृद्धिदर ऋणात्मक ३ दशमलव ७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने