काठमाडौं । नेपाली चलचित्र सोल्टिनीको छायांकन वुधबारबाट सुरु गरिएको छ । यो चलचित्रको मंगलबार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गरिएको थियो । सोल्टिनीको मूहुर्तमा प्रकाश सपुत, सुन्दर धिताल, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङले सर्ट दिएका थिए । उनका अनुसार यो चलचित्र इलाम तथा भोजपुरको रमणीय स्थलमा छायांकन गरिने भएको छ ।
मुहूर्तपछि आफुहरुले वुधबारबाट इलामदेखि नै छायांकन सुरु गरेको यसका निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् । निर्देशक सुवेदीका अनुसार यो चलिचत्रको ३१ दिनको छायांकन तालिका राखिएको छ ।
‘हामी केही दिनसम्म इलाममा छायांकन गर्नेछौं र त्यसपछि भोजपुरमा बाँकी छायांकनको लागि जाने छौं’, निर्देशक सुवेदीले भने । इलामको मौसम छिनछिनमा परिवर्तन भईरहेकाले छायांकनमा केही कठिनाई भईरहेको पनि उनले जानकारी गराएका छन् ।
निर्देशक सुवेदीका अनुसार यो चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । दुई प्रमुख पात्रबीचको प्रेम कथा र जातीय समस्याले उनीहरुको प्रेममा ल्याएको समस्यालाई पनि कथानक रुपमा चलचित्रमा प्रस्तुत गरिने उनले बताए ।
यो चलचित्रमा प्रकाश सपुतसँगै विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतको मुख्य भूमिका रहेको छ ।
चलचित्र सोल्टिनीमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहने छ । यसको छायांकारमा सुशन प्रजापति रहेका छन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिष्ट र संसार चौलागाईँ हुन् । आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले यो चलचित्रलाई विदेश वितरण गर्नेछन् । यस्तै यसको डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको छ । चलचित्र सोल्टिनीलाई २०८२ सालको संविधान दिवस अर्थात अगामी ३ असोजमा नेपाल र विदेशमा एकसाथ रिलिज गरिने निर्माण पक्षले जानकारी गराएको छ ।