काठमाडौं । प्रदर्शनको मिति नजिकिँदै गर्दा नयाँ चलचित्र ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । टिजरलाई बुढासुब्बा डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा यो चलचित्र तयार भएको छ । चलचित्रलाई आगामी २ फागनुबाट देश बिदेशमा रिलिज गरिँदैछ ।
सार्वजनिक गरिएको यो चलचित्रको टिजर ३ मिनेट भन्दा लामो रहेको छ । प्राय एकदेखि डेढ मिनटको टिजर हुनु पर्नेमा निर्देशक लामाले दुखी आत्माको टिजर यति लामो बनाएका छन् । चलचित्रका दुई मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा टिजरमा हाबी छन् । छोटो टिजरले चलचित्रको कथाको भाव दिन नसकेपछि यसको टिजर पनि तीन मिनटको बनाउनु परेको लामाले प्रस्ट्याएका छन् ।
आगामी प्रणय दिवसको अवसर पारेर आफुले यो चलचित्र रिलिज गर्न लागेको निर्देशक लामाले राजधानीलाई बताएका छन् । चलचित्रको कथा पारिवारिकसँगै केही फरक रहेको पनि लामाले जानकारी गराएका छन् ।
टिजर हेर्दा श्रीमानको नपुंसकताले दम्पत्य सम्बन्धमा ल्याउने समस्यामा यो चलचित्र केन्द्रित रहने देखिन्छ । यसमा अभिनेता दयाहाङमा यौन दुर्वलता भएको टिजरले सँकेत गरेको छ । त्यसले उनकी पत्नी आँचलमा ल्याएको मानसिक समस्या पनि टिजरले दर्शाएको छ ।
दयाहाङ र आँचलसँगै यो चलचित्रमा अनुप विक्रम शाही, वुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आलेमगर, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारहरुको अभिनय रहेको छ ।
क्लक वर्क क्रियशनको व्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा हिमाल कडरिया मुख्य निर्माता रहेका छन् । सुदिप ढकाल कार्यकारी निर्माता रहेको दुखी आत्मामा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।