लमजुङमा असल आमा–बाबाका एक जोडीलाई सम्मान

लमजुङ । लमजुङमा असल आमा– बाबाका एक जोडीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । दोर्दी गाउँपालिका– ४ को नौथर, सिख्र स्थित चैतन्योदय माविमा आयोजित कार्यक्रममा स्थानीय टोल निवासी फुलकुमारी गुरुङ–भरत गुरुङलाई उक्त सम्मान गरिएको हो ।

सो कार्यक्रम ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आयोजनामा भएको हो । प्रमुख अतिथि दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, विशेष अतिथि ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, सो माविका प्रधानाध्यापक सहस्रजीवी घिमिरेले संयुक्त रुपमा असल आमा– बाबा पानकुमारी गुरुङ र भरत गुरुङ दम्पतीलाई उक्त सम्मान गरेका थिए । सो पुरस्कारको राशि दश हजार रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ ।

प्रमुख अतिथि काफ्लेले सम्मान पत्र, विशेष अतिथि धम्पुले नगद पुरस्कार तथा प्रअ घिमिरेले टीका र दोसल्ला ओढाएर फुलकुमारी दम्पतीलाई सम्मान गरेका हुन् । सो विद्यालयमा पढ्ने फुलकुमारीकी माहिली छोरी लक्ष्मी गुरुङ कक्षा– ६ र कान्छी छोरी बिनु गुरुङ कक्षा– ३ मा दुवै आफ्नो कक्षामा पहिलो हुने विद्यार्थी भएको सो माविका प्रअ घिमिरेले जानकारी दिए ।

त्यस्ता जेहन्दार विद्यार्थीका आमा– बाबा जो विशुद्ध किसान छन्, सरकारी वा अर्ध सरकारी जागिर खाने कोही नभएको परिवारलाई यो सम्मान प्रदान गर्ने प्रतिष्ठानको नीति रहेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कोषाध्यक्ष सीता गुरुङले बताइन् । उनका अनुसार उक्त पुरस्कार प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले स्थापना गरेका हुन् । उनले भनिन्, ‘सो पुरस्कारको स्थायित्वका लागि संरक्षक धम्पुले एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिएका छन् ।’

सो पुरस्कार वितरण पछि यो कार्यक्रम यति महत्वको र प्रभावकारी होला भन्ने कल्पना गरेको थिइन्, कार्यक्रम प्रेरणादायी छ भन्दै सांस्कृतिक उन्नयनका लागि यस्ता कलासंस्कृति र साहित्यको एक साथ उत्थान गर्ने गरी संयोजन गरिएको पाएको उनले बताए । यस्ता कार्यक्रम अझ धेरै व्यक्तिहरूका माझ गरेर लोकप्रिय, सर्वसुलभ बनाउन सकिन्छ, आफ्नो पहिचान र परिचय बोकेको हाम्रो जरोकिलो भनेको नै धर्म, संस्कार, संस्कृति हो यसलाई बिर्सने हो भने मानिस रोवर्ट बन्छ काफ्लेको सुझाव थियो । उनले यस्तो उदाहरणीय कार्य गर्ने संस्थाको अभियानमा आफू पनि जोडिन तयार छु र यो प्रतिष्ठानको आजीवन सदस्य बन्छु भने ।

सांस्कृतिक इतिहासको विरासतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न, त्यसलाई गति दिनका लागि पनि यस्ता कार्यक्रमको आवश्यक छ भन्ने काफ्ले उल्लेख गर्दै आफ्नो पालिकाबाट सांस्कृतिक उन्नयनका लागि चालु आवमा दुई लाख रुपैया बजेट विनियोजन गरेको जानकारी दिए ।

आयोजक प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले संसारमा आमा– बाबुभन्दा ठूलो अर्को कोही नभएको बताउँदै आफ्नी आमाको सम्झनामा जिवित आमाहरूको सम्मानका लागि यो पुरस्कारको स्थापना गरेको हुँ भने । उहाँले विद्यार्थीलाई उत्प्रेरित गर्न आमाप्रति श्रद्धा जागृत गर्ने गीतसमेत सँगसँगै गाउन लगाउँदै मनोरञ्जन दिदै ठाडोभाकाको पनि प्रस्तुति गरेका थिए ।

सो माविका प्रअ सहस्रजीवी घिमिरेले स्वागत मन्तव्यका साथमा उक्त कार्यक्रमका लागि आफ्नो विद्यालय छनौटमा परेको खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले प्रतिष्ठानमार्फत निरन्तरता पाउन् भन्ने माग गरेका थिए ।

सोही माविका शिक्षक एवम् कवि श्रीकृष्ण न्यौपानेले ठाडोभाकाका गायकहरू लोककवि हुन् भन्दै लक्ष्मीप्रसाद देवकोटा ‘मुना मदन’ कीर्तिमा ठाडोभाका र नानिलो भाकामा झ्याउरे छन्दमा लेखिएको दावी गरे । उनले ठाडोभाकाका हाँगाविंगा समेत फैलिदै गरेको हुँदा यो कहिल्यै मर्दैन भने । ठाडोभाका गाउनेहरू झ्याउरे कवि हुन्, उनीहरू सिर्जनशील छन् त्यसैले पनि ठाडोभाका नमर्ने ठोकुवा उनको थियो ।

उक्त कार्यक्रममा विव्यसका पूर्वअध्यक्ष अशोक अधिकारी तथा वर्तमान अध्यक्ष लालकाजी श्रेष्ठले समेत शुभकामना व्यक्त गर्दै आफ्नो विद्यालयलाई सम्झिरहन आयोजकलाई आग्रह गरेका थिए ।

उक्त अवसरमा आयोजक प्रतिष्ठानका संरक्षक धम्पु, उपाध्यक्ष सीता दुरा, ८४ वर्षीय ठाडोभाकाका अग्रज गायक एवम् प्रतिष्ठानका कार्यकारी सदस्य अमरध्वज गुरुङ, कार्यकारी सदस्य मीना गुरुङले ठाडोभाका गाउनु भएको थियो भने स्थानीय गायक भीमबहादुर मगरले समेत ठाडोभाका गाएका थिए । सो अवसरमा प्रतिष्ठानका संरक्षक धम्पुका साथमा प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङ सम्मानित आमा– बाबाका छोरीद्वय लक्ष्मी र बिनु तथा कक्षा– ४ का छात्र साजन विकले समेत नृत्य गरेका थिए ।

आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सोही विद्यालयका शिक्षक रुपेन्द्र थापाले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख