धनगढी । सार्वजनिक शौचालयको कमीको समस्या बेहोरिरहेका धनगढी उपमहानरबासीहरू अब स्मार्ट (आधुनिक) शौचालयको सुविधा पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले बजारका मुख्य क्षेत्रहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण कार्य अघि बढाएको छ ।
उपमहानगरपालिकाले धनगढीका मुख्य चोक र बजार क्षेत्रमा लक्षित गरी चालु आर्थिक वर्ष २०८१–०८२ मा पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिरहेको छ । उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रका चार स्थानमा र एउटा खुल्लामञ्च गरेर पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माणको कार्य थालेको जनाएको छ ।
धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले निर्माणाधिन शौचालयहरु चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताए । उनले निर्माणाधिन शौचालयलाई चैत भित्रै सञ्चालन गर्ने तयारीका साथ काम अगाडि बढाइएको बताए । निर्माणििधन स्मार्ट सार्वजसनक शौचालय ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बालमैत्री तथा महिला र पुरुषका लागि छुट्टाएर बनाइएको छ ।
उपमहानगरपालिकाले पाँच वटा सार्वजनिक शौचालय निर्माण गर्न सीबीआर कन्स्ट्रक्सन प्रालिसँग एक करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । उपमहानगरपालिकाले प्रति शौचालय निर्माणका लागि २४ लाख रुपैयाँका दरले ठेक्का सम्झौता गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अगाडि, साल्ट्र टे«डिङ अगाडि, डिभिजन वन कार्यालय अगाडि र खुल्ला मञ्च (पूरानो एयरपोर्ट नजिक) गरेर पाँच वटा शौचालय निर्माणधीन रहेका छन् ।
उपमहानगरपालिकाले गत आर्थिक वर्षमा उपमहानगरपालिका क्षेत्र अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि शौचालय निर्माण गरिसकेको छ ।
डिभिजन इन्जिनियर भट्टले सडक निर्माणका क्रममा केही शौचालयहरु भत्किएर गए पनि केही क्षेत्रमा शौचालयहरु सञ्चालनमा नै रहेको बताए । प्रदेश सरकार र उपमहानगरपालिकाको संयुक्त लगानीमा चालु आर्थिक वर्ष भित्रै १० वटा थप स्थानमा शौचालय निर्माणका लागि पहिचान समेत गरेको उनले बताए ।
उनले पहिचान भएका स्थान मध्य पाँच वटा स्थानमा चालु आर्थिक वर्ष भित्रै शौचालय निर्माण कार्य सुरु गर्ने लक्ष्य लिएको बताए । उनले आवश्यकता र भिडभाड हुने स्थानमा थप शौचालय निर्माण गर्दै जाने योजना रहेको बताए । निर्माणाधीन शौचालयहरुमा पानीको व्यवस्था, प्याडहरुको व्यवस्था र शौचालय भित्रै चिया कफीको व्यवस्था समेत गरेको उनको भनाइ छ ।
शौचालयहरु रहेका ठाउँहरुमा पार्किङ क्षेत्रको पनि विकास गरिरहेको डिभिजन इन्जिनियर भट्टले बताए । ग्रामीण क्षेत्रहरुमा पनि शौचालय निर्माणका लागि आफूहरुले जनचेतना मूलक कार्यक्रमहरु गर्दै आइरहेको उनको भनाइ छ ।
चालु आर्थिक वर्षमा थप शौचालय हुने स्थानहरु भन्सार क्षेत्रमा, विद्युत कार्यालय नजिक, चटकपुर आयल निगम अगाडि, बोराडाँडी क्षेत्रमा, उत्तरबेहडी चोकमा, ठाउँ पाएको खण्डमा राजपुरमा, खुल्लामञ्च क्षेत्रमा थप एउटा, कैलाली बहुमुखी क्यापसको क्षेत्रमा एउटा गरेर चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य सुरुवात हुने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले बालाजी कन्स्ट्रक्सन प्रालिलाई वार्षिक एक लाखका दरले तीन वटा घुम्ती शौचालय सञ्चालनका लागि ठेक्कामा दिइएको जनाएको छ ।
डिभिजनल इन्जिनियर भट्टले भने– हामी व्यवस्थित सहर निर्माणको क्रममा छौ । सभ्य र सुन्दर सहरका लागि सार्वजनिक शौचालय अपरिहार्य हो । स्मार्ट सार्वजनिक शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौचको सुविधा रहेको छ ।
त्यस्तै स्मार्ट सार्वजनिक शौचालयमा सफाईका लागि पानी, ट्वाइलेट पेपर, स्प्रे, साबुन तथा विद्युतीय हिटरको समेत सुविधा रहने छ । स्मार्ट शौचालयमा पानी धारा र बत्तीमा सेन्सर प्रणाली जडान गरिएको छ भने शौचपछि प्रयोग गरिने सामग्री व्यवस्थापनका लागि आधुनिक उपकरण समेत राखिएको छ ।