काठमाडा । अभिनेता तथा गायक प्रकास सपुतले आफ्नो डेव्यु निर्देशनमा नयाँ चलचित्र ‘वसन्त’ निर्माण गरेका छन् । यो चलचित्रको रिलिज मिति आगामी २२ चैतमा तय गरिएको छ । यसै क्रममा यो चलचित्रको पहिलो गीत ‘साँझ पर्यो झमक्क…’को भिडियो शनिबार साँझ काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।
चलचित्र सोल्टिनीको छायांकन दुई दिनको लागि छाडेर यही गीतको भिडियो सार्वजनिक गर्न प्रकाश सुपत शनिबार काठमाडौं आएका थिए । उनी आईतबार नै सो चलचित्रको छायांकनको लागि इलाम गएका छन् । भिडियो सार्वजनिक कार्यक्रममा सपुतले भने,‘म अब एक अहिना भन्दा बढी समय सोल्टिीनको छायांकनमा व्यस्त हुने भएकाले अहिले समय निकालेर यो चलचित्रको गीत सार्वजनिक गर्न आएको हुँ । चलचित्र वसन्तको अर्को गीत हामी एक महिनापछि यसरी नै सार्वजनिक गर्नेछौं ।’
निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको यो गीतमा शान्ति श्री परियार र प्रकाशकै स्वर छ । गीतमा संगीत सृजना पनि सपुतले गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक तथा निर्देशक प्रकास सपुतले बागलुङमा छायांकन गरेका हुन् ।
बाग्लुङ आसपासमा प्रचलित यानिमाया र सालैजो भाकालाई मिश्रण गरेर यो गीत तयार गरिएको छ । भिडियोलाई घाँसदाउरा, मेलापात, गाउँघरको परिवेशमा तयार गरिएको छ । आफुले गाउँघरमा हुर्कँदा सुन्दै र गाउँदै अएको भाकाहरुलाई नै जोडेर यो गीत तयार गरेको प्रकाशले भिडियो सार्वजनिक कार्यक्रममा बताए ।
यो गीतको भिडियोमा प्रकाश सपुतसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु)ले अभिनय गरेका छन् । यी कलाकारसँगै चलचित्रमा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारको पनि अभिनय रहेको सपुतले जनाए ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहको यो सामाजिक कथामा आधारित चलचित्रको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिलका लागि गरेको संघर्षको कथा वसन्तमा समेटिएको प्रकाश सपुतले जानकारी गराए ।
यो चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । चलचित्र वसन्तलाई सुसन प्रजापतिले खिचेका हुन् । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।