पोखरा । माघेसंक्रान्ति अवसरमा पुछारसिटे अभियान, पोखराले १० औं शृङ्खलामा कवयित्री केशु शर्मालाई एकल कविता वाचनमा उभ्यायो । ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा केशु शर्मा’ कार्यक्रममा शर्माले आफ्ना कविचा वाचन गरेर दर्शकलाई मन्त्रमुग्ध पारिन् ।
‘च्याउ उम्रेझैँ
उम्रिरहन्छन् राजनेताहरू
अर्बौ खर्बौ बगिरहन्छन्
हर्के, साहिँला र माहिलाका सपनाहरू
दुखिरहन्छन् कमली, बाटुली र चमेलीका जिन्दगीहरू
साँच्चै मृत्युअघि
मान्द्राभरि आश्वासनका बिस्कुन नसुकाउनेहरूले
कसैको मनमुटु नदुखाउनेहरूले
यो देश हाँकेको हेर्ने रहर छ ।’
यसरी एकल कविता वाचन सुरु गरेकी उनले बीचबीचमा आफ्नो जीवनयात्राका अनेक मोड र घुम्तीहरू सम्झिन् । सम्झँदासम्झँदै उनले घर सम्झिन्, परिवार सम्झिन्, साथीभाइ सम्झिन् र सम्झिन् विद्यार्थीहरू ।
उनका कवितामा सरल शब्दमा गहन भाव प्रकट हुन्छन् । साथै सहरभित्रको ग्रामीण जनजीवनको यथार्थ चित्रण, देशको राजनीतिक एवं सामाजिक विकृति विसङ्गतिमाथिको विद्रोह, प्रकृतिप्रेम, मानवतावाद, देशप्रेमको भाव ओतप्रोत भएर आएको पाइन्छ । नेपाली नारीका दुःख एवम् संघर्षका अनुभूतिहरू उनका कविता एवम् गीतका मुख्य विशेषता बनेर आएका छन् ।
पचासको दशक पूर्वाद्र्धमा पोखरामा हुने हरेकजसो साहित्यिक कार्यक्रममा भाग लिँदै आफ्नो लेखनलाई अगाडि बढाएकी उनी विवाहपश्चात् भने कार्यक्रममा उपस्थित हुन भ्याइनन् । पातलो साहित्यिक उपस्थितिबीच उनी आफ्नो घरायसी जिम्मेवारी र पेशागत जीवन अगाडि बढाउँदै लगिन् । तैपनि लेखनमा निरन्तरता दिई नै रहिन् ।
मदरल्यान्ड माविमा २०५४ सालदेखि शिक्षिकारूपमा आबद्ध भइन् । उनी प्राथमिक तह इन्चार्जसम्म बनिन् । उनी हाल उक्त विद्यालयमा प्राथमिक तहको कुशल व्यवस्थापक हुन् ।
अचेल भने साहित्यिक कार्यक्रममा केशु शर्माको उपस्थिति बाक्लो छ । गीत, कविता, गजल लगायतका विविध साहित्यिक सिर्जनामा कलम चलाउँदै आएकी उनी पोखरेली युवा सांस्कृतिक परिवारकी साहित्य संयोजक चयन भएकी छिन् ।
०७४ सालमा स्थापना भएदेखि पुछारसिटे अभियानले पोखरामा नै विविध साहित्यिक, सामाजिक एवम् पर्यटकीय गतिविधि गर्दै आएको छ । आगामी समयमा शिक्षा, स्वास्थ्यलाई पनि केन्द्रमा राखेर संस्थाले विविध क्षेत्रमा प्रतिभा भएका सहरदेखि गाउँसम्मका व्यक्तिलाई मूलधारको मञ्चमा जोड्ने योजना रहेको संस्थाका अभियन्ता वसन्त विनोदले जानकारी दिए । यसभन्दा अगाडि प्रकट पँगेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’, डा. वसन्त गौतम, डा.ईश्वरमणि अधिकारीलाई संस्थाले एकल वाचकरूपमा मञ्चमा उभ्याइसकेको संस्थाका संयोजक सञ्जीव पौडेलले बताए ।