काठमाडौं । ‘छैटौँ नेपाल कल्चर इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५’ यही १७ माघबाट काठमाडौँमा सुरु हुने भएको छ । महोत्सव १९ माघसम्म तीन दिन आयोजना हुने भएको छ । यसको तयारी तीव्र गतिमा भइरहेको महोत्सवका अध्यक्ष सन्तोष सुवेदीले जानकारी गराए । अध्यक्ष सुवेदीका अनुसार विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्धनका लागि यो महोत्सव हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको छ ।
महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको थियो । ती चलचित्र मध्यबाट नेपाल सहित ४७ देशका ९८ वटा चलचित्र छैटौँ नेपाल कल्चर इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५को लागि चयन गरिएको पनि अध्यक्ष सुवेदीले बताएका छन् ।
‘हामीलाई प्राप्त करिब ४०० वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समुहले करिब डेढ महिना लगाएर हे¥यो । सो समुहले ती ४०० चलचित्रबाट फाईनलका लागि ९८ वटा चलचित्र चयन गरेको हो’, महोत्सव अध्यक्ष सुवेदीले भने,‘यी मध्य धेरैजसो लघु चलचित्र रहेका छन् । महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, बृत्तचित्र, प्रयोगात्मक चलचित्र, कार्टुन तथा एनिमेटेड चलचित्र, बृत्तचलचित्र, सांगीतिक चलचित्रलगायत रहेका छन्’,दुई मिनटदेखि साँढे दुईघन्टासम्मको चलचित्र महोत्सवको लागि चयन भएको पनि अध्यक्ष सुवेदीले बताएका छन् ।
महोत्सवमा दक्षिण एशियाली मुलुकहरू भारत, बँगलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जस्ता देशका चलचित्रहरू चयन भएका छन् । यस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेशिया, पोर्चुगल, पोल्यान्ड, हँगेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका चलचित्र यो महोत्सवमा चयन भएका छन् यस्तै मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका चलचित्र पनि यो महोत्सवमा फाइनलको लागि चयन गरिएको छ ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला पनि आयोजना गरिने महोत्सव अध्यक्ष सन्तोष सुवेदीले राजधानीलाई जानकारी गराए । उनका अनुसार चलचित्रको उद्घाटन समारोह काठमाडौँको दरबारमार्ग स्थित क्युएफएक्स राईजिङ मल चलचित्र घरमा आयोजना गरिने छ । उद्घाटन पछि सोही चलचित्र घरमा तीन दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शन गरिने भएको छ । त्यसपछि चलचित्र विकास बोर्डमा महोत्सवको समापन समारोह आयोजना गरिने पनि महोत्सव अध्यक्ष सुवेदीले जानकारी गराएका छन् ।
महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जुरी समेत चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन ढोलौ, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराईनबाट चलचित्र निर्माता निर्देशक एवम.् लेखक इभा दाउद र रशियाबाट चलचित्रकर्मी इरिना बेराजीरहेका छन् ।
नेपालबाट अग्रज संगीतकार शम्भुजीत बसकोटाको संयोजकत्वमा पनि नेपाली चलचित्रको लागि निर्णायक टिम चयन गरिएको पनि अध्यक्ष सुवेदीले जानकारी गराएका छन् । जसमा अभिनेत्री मिथिला शर्मा अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के खनाल र टेलिभिजन कार्यक्रम सञ्चालक टिकाराम यात्री रहेका छन् । नेपाली चलचित्रको अन्य विधाको निर्णायकको नाम पनि चाँडै सार्वजनिक गरिने समेत उनले जानकारी गराएका छन् । यो महोत्सवको लागि चयन भएका नेपाली चलचित्रको सुची यसै साता सार्वजनिक गर्ने उनले जानकारी गराएका छन् ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकार, सम्पादक, स्क्रिप्टजस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिने पनि महोत्सव अध्यक्ष सन्तोष सुवेदीले राजधानीलाई जानकारी गराएका छन् ।