राजविराज । तीन अघि डुबेर मृत्यु भएको बालिकाको गाडिएको शव हिजो विहीवार क्षत–विक्षत अवस्थामा बाहिर भेटिएपछि सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवा टोल र आसपासका क्षेत्रमा दिनभर सनसनी फैलियो ।
कुनै अर्कै बालिकाको हत्या गरी फालिएको हुनसक्ने अनुमानका साथ हल्ला फैलिएपछि उक्त टोलमा यसरी सनसनी फैलिएको हो । उक्त टोल खाडो नदी नजिक पर्दछ ।
एकाविहानै एक बालिकाको क्षत विक्षत शव खोला किनारमा फेला परेको हल्ला फैलिएपछि उक्त टोलका साथै आसपासका गाउँबाट समेत मानिस ओइरिएका थिए । हल्ला फैलिएपछि प्रहरी टोली पनि घटना स्थलमा पुगेर अनुसन्धान सूरु गरे । अनुसन्धानका क्रममा तीन दिन अघि पौष २९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकका ५ कोइलाडी बर्साइनमा पोखरीमा डुबेर मृत्यु भएकी २ वर्षिया साक्षी मण्डलको शव रहेको पत्ता लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई तिलाठी कोइलाडी गाउँपालिका स्थित मामा घर आएकी बेला ती बालिका साथीहरु संग खेल्ने क्रममा अचानक खुट्टा चिप्लिएर पोखरीमा डुबेकी थिइन । उपचारका लागी अस्पताल ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको थियो ।
पोस्टमार्टम पश्चात उनका आफन्तजनले उक्त टोल नजिकै रहेको खाँडो खोलाको किनारमा बालिकाको शव गाडेका थिए । तर गहिरो खाडल न खनी गाडेपछि स्याल र कुकुर लगायतका जनावरले शव बाहिर निकालेको प्रहरीको भनाई छ । जसलाई हेर्न स्थानीयको ओइरो लागेको थियो ।
शरिरका कतिपय अंग जनावरले खाईसकेको अवस्थामा फेला परेको र सो शव तीन दिन अघि डुबेर मृत्यु भएकी साक्षी कै हो भनी पुष्टी भईसकेपछी पुनः सोही स्थानमा गहिरो खाडल खनेर अन्त्येष्टी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।