खोटाङ । खोटाङमा क्रियाशील पत्रकारहरूले न्यूनतम पारिश्रमिक समयानुकूल वृद्धि हुनुपर्ने माग गरेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले शुक्रबार दिक्तेलमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक अन्तरक्रियामा उनीहरूले यस्तो माग राखेका हुन् ।
वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले मोफसलका पत्रकारको वास्तविकता बुझ्न आग्रह गर्दै भने, “एउटा समाचार तयार पार्न तीनदेखि पाँच हजार रुपैयाँसम्म खर्च हुन्छ, तर त्यही समाचार प्रकाशित भएबापत २५० देखि २८१ रुपैयाँमात्र पाइन्छ । यस्तो अवस्थामा मोफसलमा पत्रकारिता टिकाउन कठिन छ ।” नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको सहकार्यमा होटल थ्री ब्रदर्शमा आयोजित कार्यक्रममा सहभागीहरूले लोक कल्याणकारी विज्ञापनमा समेत केन्द्र र मोफसलबीच विभेद गरिएको गुनासो गरे ।
महासंघका जिल्ला अध्यक्ष हरिबोल आचार्य, पूर्वअध्यक्ष डम्बरसिं राई, प्रेस सेन्टर नेपालका केन्द्रीय लेखा समिति सदस्य भीम राईलगायतले पत्रकारको हितका लागि ऐन संशोधन गर्नुपर्ने धारणा राखे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य टेनिस रोकाले कार्यक्रममा उठेका विषयलाई सरकारसमक्ष पुर्याउने प्रतिबद्धता जनाए । “तपाईंहरूको गुनासो र सुझावलाई समेटेर प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा पुर्याएर कार्यान्वयन गराउने प्रयास गर्नेछौं,” उनले भने ।
कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लास्थित सरकारी कार्यालयहरूको टेन्डर विज्ञापन स्थानीय पत्रकारमार्फत केन्द्रमा पठाउने व्यवस्था मिलाउन पनि माग गरे । यसैबीच, पत्रकार महासंघ खोटाङले महासंघको उपत्यका प्रदेश अध्यक्षमा निर्वाचित टेनिस रोकालाई सम्मान गरेको छ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रोका राजधानी दैनिकमा कार्यरत छन् ।
गत मंसिर २८ गते भएको निर्वाचनमा प्रेस सेन्टर नेपालबाट उम्मेदवार बनेका उनी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका उम्मेदवारलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । सम्मान कार्यक्रममा बोल्दै रोकाले जिल्लाको समस्या समाधान र सहकार्यका लागि आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।