काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित लुम्बिनी केबलकार बुटवल हिलको सभाहलमा डीआईजीस्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयले शुक्रबार आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व नेपालको तर्फबाट नं.५ विन्ध्यवासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदीपकुमार पाल र भारततर्फबाट उनका समकक्षी भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वाटर लखिमपुर खिरीका डीआईजी बी. विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहले गरेका थिए ।

बैठकमा नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनालगायत बाहिनी मातहत गणपति र भारतीय सशस्त्र सीमा बलका बटालियन कमान्डरहरूको उपस्थिति रहेको थियो ।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, समयमै सीमा स्तम्भहरूको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाइ तथा सौन्दर्यीकरण, सीमा अपराधहरू जस्तैः मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलीगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधीलगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरूको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रुपमा छलफल भएको थियो । साथै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियानअन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क सञ्चालन, खेलकुद तथा विविध अभ्यासहरूलाई समेत निरन्तरता दिइने सहमति गरिएको थियो ।

बैठकमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पालले छलफलको क्रममा उठेका सबै विषयको कार्यान्वयन सम्बन्धमा समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको औँल्याउँदै सो सम्बन्धमा समकक्षी निकायबाट भएको प्रतिबद्धताको प्रशंसा गरेका थिए । उनले थप सक्रियताका साथ कार्यक्षेत्रमा होमिन मातहत गणपतिहरूलाई निर्देशनसमेत दिएका थिए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनाले उक्त बैठकमा स्वागत मन्तव्य राख्नुका साथै नेपाल–भारत खुल्ला सीमासम्बन्धी समस्या तथा चुनौतीहरू र त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले यस किसिमका नियमित बैठकहरूको सञ्चालनले नेपाल भारत सीमासँग सम्बन्धित समस्याहरू तत्काल समाधान गर्न थप सहयोग पु¥याउने बताएका थिए ।
यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच डीआईजीस्तरीय पाँचौँ समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित आईसीपी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो ।