नेकपा विवाद: आ–आफ्नै अडानमा शीर्ष नेता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बढ्दै गइरहेको विवाद मिलाउन प्रयास भए पनि शीर्ष नेताहरू आ–आफ्नै अडान रहेकाले विवादको समाधान हुन सकेको छैन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तत्कालको विवादलाई समाधान गरेपछि स्थायी समितिको बैठक बोलाउने पक्षमा छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पक्षधर नेताहरू भने तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा छन् । सोमबार दुवै पक्षबीच भएको छलफलमा मंगलबार सचिवालय बैठक राखेर थप छलफल गर्ने विषयमा सहमति भएको बुझिएको छ । स्थायी समिति बैठक’bout भने अन्योल कायमै छ ।

अध्यादेश खारेज भएकाले विवाद आवश्यक छैन : ओली पक्ष
धेरै गल्ती भयो, गम्भीर रूपमा लिनुपर्छ : दाहाल–नेपाल पक्ष

हालै जारी र खारेज भएको दुई अध्यादेशसँगै नेकपामा नेताहरूबीच धु्रवीकरण बढ्दै छ । दाहाल, नेपाल पक्षधर नेताहरू पार्टी र सरकार सञ्चालमा प्रधानमन्त्री ओलीले मनोमानी गरेको आरोप लगाउँदै त्यस सम्बन्धमा स्थायी कमिटी बैठकमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने पक्षमा छन् । तर, ओली भने अध्यादेश खारेज भइसकेकाले अहिलेको अवस्थामा बैठक आवश्यक नभएकाले केही समयपछि बैठक बोलाउने पक्षमा छन् । ओली पक्षधर नेताहरूले विवादास्पद अध्यादेश खारेज भएको र त्यससम्बन्धी ‘च्याप्टर क्लोज’ भएकाले यसलाई थप विवादको विषय बनाउन नहुने बताउँदै आएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका थिए । तर, नेपालले अरू साथीसँग छलफल गर्नुपर्ने जवाफ दिएका थिए । यसपछि कोटेश्वरस्थित नेपाल निवासमा ओली र नेपाल समूहको छलफल भयो । ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शंकर पोखरेलगायत कोटेश्वर पुगेका थिए । त्यस्तै, नेपाल पक्षबाट स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता सहभागी थिए ।

आइतबार नेपाल निवासमा भएको भेलाले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकाले विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेपछि बालुवाटार तरंगित भएको हो । त्यसपछि दुवै समूहका नेताहरूबीच छलफल गर्दै मिलेर अगाडि बढ्ने विषयमा कुराकानी भएको एक सदस्यले बताए ।

तर, दुवै तर्फका नेताहरू आ–आफ्नै अडानमा अडिग छन् । दाहाल, नेपाल समूह बैठक बोलाउने र ओली समूह बैठक नबोलाउने पक्षमा भएकाले समस्या झन् झन् बढ्दै छ । आन्तरिक विवादले जटिलता बढ्दै गएपछि त्यसलाई समाधान गर्न दुवै तर्फका नेताहरूले सहजीकरण गर्न खोजेका हुन् ।

अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र ओलीविरुद्धको मत बलियो बन्दै गएको छ । यता, ओलीको विकल्प खोज्ने भन्दै अध्यक्ष दाहाल, नेपाल, खनाल र गौतम समूह एकै ठाउँमा उभिएपछि यो समीकरणलाई भत्काउने प्रयासमा बालुवाटार जुटेको छ ।

स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्प’bout छलफल गर्न दाहाल, नेपाल, खनाल र गौतम समूह सक्रिय भएका छन् भने ओली स्थायी समिति बैठक नबोलाउने पक्षमा छन् ।

नेकपाको ४४ सदस्यीय स्थायी समितिमा दाहाल र नेपाल समूहका ३२ सदस्य छन् । ओली पक्षमा जम्मा १२ जना मात्रै छन् । २० भन्दा बढी स्थायी कमिटी सदस्यले यसअघि नै दुवै अध्यक्षलाई सम्बोधन गर्दै बैठक बोलाउन माग गरिसकेका छन् ।

बैठक बोलाउन ओलीले आलटाल गरिरहेको निष्कर्षसहित सोमबार दाहाल निवास खुमलटारमा शीर्ष नेताहरूबीच छलफल भएको छ । दाहाल, नेपाल, खनाल, गौतमलगायतका नेताहरू सहभागी बैठकले ओलीले बैठक बोलाउने विषयमा आलटाल गरिरहेकाले कडा रूपमा प्रस्तुत हुने निष्कर्ष निकालेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार बैठक कुनै पनि हालतमा बोलाउनैपर्ने सबैको निष्कर्ष रहेको बताए ।

यसअघि ओली सरकारी निवास बालुवाटारमा, अर्का अध्यक्ष दाहाल खुमलटार र वरिष्ठ नेता नेपालले कोटेश्वर निवासमा छुट्टाछुट्टै बैठक गर्दै आफू निकटका स्थायी कमिटी सदस्यसँग निरन्तर छलफल गरेका थिए ।

नेकपा एक स्थायी कमिटी सदस्यका अनुसार पछिल्लो समय नेताहरूबीच बढ्दै गइरहेको धु्रवीकरणबीच अगामी रणनीति तय गर्न शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । आफू निकटका नेताहरूलाई राखेर उनीहरूले आगामी रणनीति तय गर्न खोजेको देखिएको छ ।

‘कोही पनि आफ्नो अडानबाट पछि हट्ने संकेत देखिएको छैन । आफू निकटका नेताहरूसँग अगामी रणनीति’bout शीर्ष नेता छलफलमै हुनुहुन्छ,’ स्थायी कमिटीका ती सदस्यले भने, ‘यो समूहगत बैठकले भोलिको दिनमा नेकपाको आन्तरिक जीवनमा ठूलो नोक्सान पुग्नेछ ।’

संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धीको व्यवस्थामा अध्यादेशमार्फत सरकारले कानुनमा सशोधन गर्न खोजेपछि सत्तारूढ नेकपामा विवाद बढेको होे । नेकपाभित्र र बाहिर चर्को विवाद र दबाब बढेपछि सरकारले सो अध्यादेश फिर्ता लिएको छ । तर, सरकारको पछिल्लो अध्यादेश ल्याउने निर्णय, सरकार र पार्टी सञ्चालनलगायतका एजेन्डामा छलफल गर्न बैठक बोलाउने माग नेकपामा छ ।

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनको अग्रता