बाजुरा । बाजुरा जिल्लाको पूर्वात्तर क्षेत्रमा रहेको कोल्टी बजारमा हरेक वर्ष बस सञ्चालन गर्ने भन्दै बस लिँदै नेताहरूले उद्घाटन गर्ने क्रम चलेको छ । तर, उद्घाटनका लागि ल्याइएका बस फर्केपछि पुनः कोल्टी आएको भने पाइँदैन ।
५ वर्षअघि १६ फागुन, २०७७ मा भेरी यातायातको ०२००१ख०४०२ नम्बरको बस लगेर बस सेवा उद्घाटन गरिएको थियो । त्यसपछि दोस्रोपटक सुदूरपश्चिम यातायातको २९६० नम्बरको बस उद्घाटनकै लागि लगिएको थियो । साढे १० महिनाअघि गत २७ फागुनमा महाकाली यातायात, भेरी यातायात र सुदूरपश्चिम यातायात एक–एकवटा बस लगेर तेस्रोपटक बस सेवा सञ्चालन हुने भन्दै उद्घाटन गरिएको थियो ।
तर, ती बसहरू फर्केपछि पुनः नजाँदा स्थानीय जनतामा चरम निराशा छाएको छ । पछिल्ला दिनमा त नेताहरूले आफूहरूलाई मूर्ख बनाएको टिप्पणीसमेत स्थानीय जनताले गर्न थालेका छन् ।
स्वामीकार्तिक खापर गाउँपालिका–४ का जीवन महताराले भने, ‘प्रत्येक वर्ष बस ल्याएर उद्घाटन गरिन्छ । नेताहरू भाषण गर्छन्, अनि बाटो लाग्छन् । बसको हालत पनि नेताजस्तै भएको छ ।’
उनले थपे, ‘हामी जनताले यहाँबाट मार्तडीसम्म जिपमा नचढी हुँदैन, बाटो बनेकै छैन । एक दिन ल्याएका बसले वर्षभरि चित्त बुझाउनु छैन ।’ गाडी नियमित नहुँदा जिपमा चर्को भाडा तिरेर हिँड्नुको विकल्प पनि जनतामा छैन ।
जगन्नाथ गाउँपालिका–५, गोत्रीका प्रकाश शाही पनि नेताहरूले आफूहरूलाई पटकपटक बेबकुफ बनाएको बताउँछन् । उनी भन्छन्, ‘कर्णालीका नेता बलिया भएकाले बाजुराको भूगोल छिचोलेर हुम्लाको सरिसल्लासम्म बस नियमित रूपमा सञ्चालन भइरहेको छ । बाटो पनि फराकिलो छ । गाडी भाडा पनि सस्तो छ । त्यहाँ एक दिनमा तीन÷चारवटा बस ओहोरदोहोर गर्छन् । हाम्रा नेताहरू भने एक दिन बस ल्याएर नियमित रूपमा सञ्चालन हुने भयो भनेर प्रचार गर्छन् तर भोलिबाटै सडकमा बस देखिँदैनन् ।’
कोल्टी–मार्तडी सडकखण्डको जम्मा ४२ किलोमिटर सडक २५ वर्षदेखि पूरा हुन सकेको छैन । जिल्ला विकास समितिअन्तर्गत आरसीआईडब्लूले ट्रयाक खोलेको बाटो ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य सम्पन्न हुन सकेको छैन । कालोपत्रका लागि ठेक्का भएको ४ वर्ष पूरा हुँदासमेत काम सम्पन्न भएको छैन । ‘कच्ची बाटो चौडा नहुँदा हामीले हरेक वर्ष दुःख पाउनुपरिरहेको छ,’ स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका पदम शाहीले भने ।
कोल्टी–मार्तडीको सडकमा चार ठाउँमा मोटरेबल पुलको आवश्यकता छ । जसमा दुईवटा पुलको मात्र ठेक्का लागेको छ भने बाँकी दुई पुल कहिले बन्ने भन्ने सुरसार नै छैन । सो सडकखण्डमा पनि पूर्वाधार कार्यालय र सडक डिभिजन कार्यालयका फरकफरक ठेक्का छन् । सडकका ठेक्का भएका ठाउँमा काम प्रभावकारी रूपमा सञ्चालनमा छैनन् ।
पूर्वाधार विकास तथा भवन निर्माण डिभिजन कार्यालय साँफेबगरका प्रमुख जंगबहादुर थापाले आफूहरूको कार्यालयबाट ठेक्का भएका सबै काम तीव्र गतिमा भइरहेको बताए । उनले दानसाँगुको खोलामा पुल बनाउनका लागि रकमको व्यवस्था नभएकाले समस्या भएको बताए ।
मार्तडी–कोल्टी सडकका बाउली र बुढीनन्दाको दानसाँघुमा पुल नहुँदा बर्सातका बेला भने बस चल्न कठिनाइ छ ।
बस नियमित सञ्चालन हुन सकेनन् भन्ने जिज्ञासामा बाजुरामा सञ्चालनमा रहेका बसको संयुक्त बुकिङ काउन्टरका सन्तोष डँडालले भने, ‘पहिले त बाटो बन्नुप-यो, ४२ किलोमिटरमा बसलाई आठ घण्टाभन्दा बढी समय लाग्ने भएपछि कसले बस चलाउन सक्छ ? बाटो फराकिलो नबनाएसम्म र सडकमा बनेका घरटहरा नहटाएसम्म गाडी नियमित गराउन सकिँदैन । हिउँ परे चल्दैन, पानी परे चल्दैन, वर्षामा त पुल नभएका कारण जिप त चल्दैनन्, बस कसरी नियमित हुन्छ ?’
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या भने सो सडकखण्डमा बस चले÷नचलेको’bout जानकार नै रहेनछन् । कुराकानीको सुरुमा बस नियमित चलेको बताएका प्रमुख जिल्ला अधिकारी पाध्याले पछिचाहिँ सडकमा भएका घरटहरा हटाएपछि नियमित हुने बताए ।