काठमाडौं । कवाड व्यवसायी समाज नेपालले शान्ति, सुरक्षाको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् । शान्तिपुर्ण रुपमा आफ्नो पेशा व्यवसाय गर्न पाउनुपर्ने माग गृहमन्त्री लेखकसँग उनीहरुले गरेका हुन् ।
आज गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले कानून विपरित काठमाडौं महानगरपालिकाले गरिरहेको तोफोड, धरपकड तथा मनोमानी काम अन्त्य गर्नुपर्ने माग गरेका छन् । कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले ज्ञापनपत्र बुझाउदै आफूहरुलाई पेशाव्यवसायबाट धपाउन खोजिएको बताउदै सरकारको तर्फबाट शान्ति, सुरक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गृहमन्त्री लेखकले आफूले शान्ति, सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ’ कवाड व्यवसाय समाजले गृहमन्त्री लेखकलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकाले कानून विपरित आफूहरुलाई दुख दिने, तोडफोड गर्ने र व्यवसायबाट धपाउँन खोजेको अध्यक्ष गुप्ताले जनाएका छन् । यस अघि समितिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई समेत एक ज्ञापनपत्र बुझाउदै शान्ति, सुरक्षाको माग गरेको थियो ।
काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानून विपरित कवाड व्यवसायीलाई दुख दिने र अराजक गतिविधि गर्दै डोजरले घर पनि भत्काउने गरेकाले उनीहरुले शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।