काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीकै शीर्ष नेताबाट घेराबन्दीमा परेपछि आफ्नो पक्षमा बहुमत जुटाउने रणनीतिमा जुटेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा सांसदलाई बोलाएर पार्टी र सरकारलाई एकताबद्ध रूपमा अगाडि बढाउन एकजुट हुन आवश्यक रहेको बताएका छन् । बालुवाटार पुगेका तत्कालीन माओवादी केन्द्रका एक सांसदले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा रहेर सहयोग गर्न आग्रह गरेको बताए ।
‘अहिले पार्टीकै शीर्ष नेताहरूबाट पुरै घेराबन्दी गर्ने काम भएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘सरकार र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढ्न तपाईंहरूको सहयोग चाहिएको छ ।’
यसअघि प्रधानमन्त्री ओलीले सोमबारसमेत आफू निकटका केही सांसदलाई बालुवाटर बोलाएर घेराबन्दी तोड्न प्रतिकारमा उत्रन निर्देशन दिएका थिए । मंगलबार सामूहिक तथा छुट्टाछुट्टै सांसदलाई भेट्दै ओलीले आफ्नो पक्षमा लाग्न आग्रह गरेका छन् ।
नेकपाको सर्वोच्च निकाय सचिवालयसहित स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा ओलीको बहुमत पुग्दैन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल अहिले एकजुट भएकाले बहुमत गुमाएका ओली उनीहरूको गठबन्धन तोड्ने प्रयासका साथै आफ्नो पक्षमा बहुमत जुटाउने प्रयासमा लागेका छन् ।
ओली पक्षबाट नेपाललाई आगामी महाधिवेशनपछि पार्टी अध्यक्षका साथै उनको समूहलाई अहिले तत्काल मन्त्री र मुख्यमन्त्री पद दिने प्रस्ताव गरिएको छ । तर, नेपाल पक्ष त्यसलाई अस्वीकार गर्दै बैठक बस्नुपर्ने अडानमा रहेको एक स्थायी कमिटी सदस्यले बताए ।
आफू कमजोर भएपछि प्रधानमन्त्री ओली संसद्को अंक गणितमा जुटेका छन् । नेकपासँग १ सय ७४ सांसद छन् । जसमा तत्कालीन एमालेका १ सय २१ र तत्कालीन माओवादीका ५३ जना सांसद छन् ।
१ सय २१ जनामध्ये ओली समूहका ७८ सांसद मात्रै छन् भने बाँकी ४३ जना नेपाल, खनाल र गौतम समूहका सांसद छन् । संसदीय दलमा बहुमत कायम गर्न ८८ सांसद चाहिन्छ । यसो हुँदा ओलीलाई १० जना सांसद अपुग हुन्छ । त्यही १० सांसद पु¥याउन ओलीले दाहाल, नेपाल, खनाल र गौतम निकटका सांसदलाई फकाएर आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् ।
संसदीय दलमा बहुमत पु-याउन सके प्रधानमन्त्री पद जोगाउन सकिने भएकाले ओली बहुमत पु-याउने अंक गणितमा लागेका हुन् । त्यस्तै, केही पद दिएर नेपाल र दाहालबीच दूरी बढाउने दोस्रो रणनीति ओलीको रहेको छ ।
टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, दिनानाथ शर्मालगायतका नेतासँग ओलीले छलफल गरेको स्रोतको दाबी छ । नेकपाको सचिवालय ९ सदस्यीय छ । अहिलेसम्म नेकपा सचिवालय निर्णयकै आधारमा चलिरहेको छ । जहाँ प्रधानमन्त्री ओली निकै कमजोर छन् । नौ जनामध्ये आफूसहित ओलीसँग तीन मत मात्र छ ।
पछिल्लोपटक उनलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले मात्र साथ दिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल एक ठाउँमा छन् । महासचिव कहिले दाहाल–नेपाल समूहमा त कहिले ओली पक्षमा समेत देखिने गरेका छन् ।
सचिवालयपछि नेकपाको शक्तिशाली कमिटी स्थायी कमिटी हो । ४५ सदस्यीय स्थायी कमिटीमा ओलीसँग एक तिहाइ मत पनि छैन । ओलीसँग स्थायी आफूसहित ११ जना छन् भने दाहालसँग १७ र नेपालसँग १५ जना छन् ।
अग्नि सापकोटा सभामुख बनेकाले एक स्थान रिक्त छ । स्थायी समितिमा दाहाल र नेपाल मिल्दा ओली निकै कमजोर देखिएको प्रस्टै देखिन्छ । स्थायी समितिमा दाहाल पहिलो, नेपाल दोस्रो र ओली तेस्रो स्थानमा छन् ।
खासै क्रियाशील नभए पनि विधिविधान मान्ने हो भने केन्द्रीय समिति महाधिवेशन नहुँदासम्मको अवस्थामा नेकपाको सबैभन्दा शक्तिशाली निकाय हो । तर, विवाद बढ्दै गए सबै कुरा केन्द्रीय समितिमा लैजानुपर्ने हुन्छ । यस्तो अवस्थामा यसले आफ्नो शक्ति देखाउन सक्छ । तर, केन्द्रीय समितिमा पनि ओलीको अवस्था कमजोर छ ।
४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ओलीको पक्षमा १ सय ४० जना छन् । त्यस्तै, केन्द्रीय समितिमा पनि दाहालसँग सबैभन्दा धेरै १ सय ८३ र वरिष्ठ नेता नेपालका पक्षमा १ सय १४ जना छन् । केन्द्रीय समितिमा पनि दाहाल र नेपाल मिल्दा ओली कमजोर देखिन्छन् ।
सोमबार नेकपा वरिष्ठ नेता नेपालले ओली निकटका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा गर्नुपर्ने सुझाव दिएपछि ओली आफ्नो पक्षमा बहुमत पु-याउने रणनीतिमा जुटेका हुन् ।
ओली निकट मानिने उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र महासचिव विष्णु पौडेलसँग वरिष्ठ नेता नेपालसहित स्थायी कमिटीका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तबीच नेकपामा देखिएको विवाद समाधान गर्न छलफल भएको थियो ।
वरिष्ठ नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छोड्नुपर्ने भनेर दिएको सुझावमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरूको समर्थन छ ।
पछिल्लो समय सरकारले दुई अध्यादेश जारी र खारेज गरेपछि नेकपामा विवाद बढ्दै गएको छ । स्थायी कमिटीका २० भन्दा बढी सदस्यले नेकपा अध्यक्षद्वय ओली र दाहाल लिखित रूपमै निवेदन दिएर बैठकको माग गरिसकेका छन् ।
सरकार र पार्टी सञ्चालनमा ओलीले मनोमानी गरेको आरोप लगाउँदै त्यस विषयमा बैठकमा छलफल गर्नुपर्ने आवाज पार्टीभित्र उठ्दै आएको छ । दाहाल र नेपाल पक्षले बैठक बस्नुपर्ने माग गरिरहेका छन भने ओलीले बैठक छल्न खोजिरहेका छन् ।
यसैबीच ओलीले आफू निकटका सांसद र स्थायी कमिटीका सदस्यहरूलाई काठमाडौं बोलाएका छन् । जतिखेर पनि बैठक बस्न सक्ने भएकाले उपत्यका बाहिर रहेका नेतालाई काठमाडौं आउन उनले निर्देशन दिएका हुन् ।
आज सचिवालय बैठक बस्ने
नेकपा अध्यक्षद्वय ओली र दाहालबीच मंगलबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपश्चात् आज (बुधबार) सचिवालय बैठक बस्ने सहमति भएको छ ।
पछिल्लो राजनीतिक अवस्था’bout छलफल गर्दै दुई नेताले सचिवालय बैठक बोलाउने सहमति गरेका छन् । बैठक बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बताइएको छ ।
आफू अल्पमतमा परेपछि ओली बैठक छल्ने प्रयासमा थिए । दाहाल, नेपाल, खनाल, गौतमलगायतका नेताहरूको दबाबमा ओली आफ्नो पक्षमा बहुमत जुटाएर बैठक बस्ने तयारीमा छन् ।