काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालले पाथीभरा क्षेत्रमा पहिचान पक्षधरको ‘नो केवलकार आन्दोलन’ का आन्दोलनकारीमाथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली प्रहार गरेकोमा आपत्ति जनाएको छ ।
जसपा र मुक्ति पार्टीले छुटाछुटै मंगलबार बिज्ञप्ती जारी गर्दै आन्दोलनकारीको मागअनुसार उक्त क्षेत्रमा केवलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गरेका छन् ।
‘ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा अवस्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा नाफाखोर केवलकार निर्माणको विरोधमा उत्रेको ‘नो केबलकार समूह’ माथि नश्लीय सत्ताका प्रहरीद्वारा बर्बर दमन गरिएको घटना प्रति म गहिरो आक्रोश व्यक्त गर्दै यसको घोर भत्र्सना र निन्दा गर्दछु,’ मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भनेका छन् ।
शनिबार बेलुकी शान्तिपूर्णरूपमा आफ्ना आस्था, संस्कृति र पहिचान जोगाउन भेला मात्र भएका नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार हुनु अत्यन्त निन्दनीय भएको मुक्ति पार्टीले जनाएको छ । यस गोलीकाण्डमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती गम्भीर घाइते भएका छन् ।
‘मुकुलुंग (पाथीभरा) कुनै साधारण स्थल होइन; यो सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा र विश्वासको धरोहर हो । यो मात्र एक भूमि होइन, आस्थावानहरुको पुर्खाहरूको आत्मा बस्ने स्थल हो,’ महतोले भनेका छन्, ‘यसलाई कुनै एक व्यक्तिको नाफा र घाटाको रुपमा प्रयोग गर्नु दिनु हुदैन यसलाई प्राकृतिक रुपमा जस्तो छ त्यस्तै रहन दिनु पर्छ र रैथाने परम्परा अनुसारनै यसको पुजा, आराधना हुनु पर्दछ भन्ने माग लिएर धर्नामा बसेका आन्दोलनरत निहथ्था जनताहरु उपर सरकारले बर्बरता पुर्बक बल प्रायोग, बन्दुकको गोली प्रहार गरेर दमन गर्न सक्छु भनेर कल्पना गर्नु व्यर्थ छ ।’
प्राकृतिक स्वरूपमा रहेका यस्तो पवित्र स्थललाई अस्थिरता र विनाशतर्फ धकेल्ने कुनै पनि प्रयासलाई मुक्ति पार्टीले अस्वीकार गर्ने महतोले जनाएका छन् । “आस्था र धरोहर प्राणभन्दा प्रिय हुन्छ’’ भन्ने पुर्खाहरूका वाणीलाई वर्तमान पुस्ताले पनि आत्मसात् गरी सकेका छन् ।
‘यही आस्थाको बलमा मुकुलुंगका जनताले यो अन्यायपूर्ण योजनालाई रोक्न भिषण संघर्ष गर्दै आइरहेका छन् । न्यायपूर्ण एवं आस्थापूर्ण क्रान्ति नझुकेको छ, न त कहिल्यै झुक्ने छ । तसर्थ पश्चिमा ज्ञानमा आधारित औपनिवेशिक रहेको वर्तमान राज्य सत्ता जो आस्था एवं प्रकृतिको बिनास गर्न भन्दै चढेको आधुनिकताको घोड सवार अबिलम्ब त्याग्न म कडा चेतावनी दिन चाहन्छु’ महतोले भनेका छन् ।
यस्तै कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण बिना हुन नसक्ने ठहर महतोको छ । मुक्ति पार्टीले मुकुलुंगमा केवलकार बनाउने योजनालाई तुरुन्त खारेज गर्नुपर्ने, घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्याय सुनिश्चित गर्नुपर्ने, आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।
‘खुवालुङ, मुकुम्लुङ मात्र ढुँगा वा पहाड होइन जसरी पूँजिवादले बुझ्दछ यो आस्था हो आध्यात्म हो । प्राण हो, यसलाई जोगाउन जनता जे पनि सहन र गर्न तयार छ । सत्य र न्यायको यो लडाइँ कहिल्यै झुक्ने छैन्’ महतोले भनेका छन् ।
यसैगरी जसपा नेपाले पाथीभरा क्षेत्रमा पहिचान पक्षधरको ‘नो केवलकार आन्दोलन’ का आन्दोलनकारीमाथि प्रहरी प्रशासनल अन्धाधुन्ध गोली प्रहार गरेको विषयमा आपत्ति जनाएको छ ।
जसपा, नेपालका प्रवक्ता मनिष कुमार सुमनले प्रहरीको गोली लागी घाइते भएकाहरु यमबहादुर लिम्बु, सगुन लावती, धर्मान पालुङ्वालगायत घाइते भएको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गर्नु अत्यन्त निन्दनीय तथा भत्र्सनायोग्य भएको बताएका छन् । आन्दोलनकारीको मागअनुसार उक्त क्षेत्रमा केवलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गरेको छ ।