काठमाडौँ । गुरु प्रसाद मैनालीको कथा ‘परालको आगो’मा केन्द्रित रहेर ४७ वर्ष अघि सोही नाममा चलचित्र निर्माण गरिएको थियो । प्रताप सुब्बाको निर्देशनमा बनेको सो चलचित्रमा टंक शर्मा र वसुन्धरा भुसालले अभिनेता–अभिनेत्रीको रूपमा काम गरेका थिए ।
यति बेला फेरी चलचित्र परालको आगो निर्माण हुन लागेकोमा अभिनेत्री वसुन्धरा भुसालले खुसी व्यक्त गरेकी छिन् । आफूहरूले साँढे चार दशक अघि अभिनय गरेको चलचित्र परालको आगो फेरी अहिलेको परिबेसमा निर्माण हुन लाग्नु खुसीको कुरा भएको उनले बताएकी छिन् ।
शनिवार काठमाडौँको चलचित्र विकास बोर्डमा छैटौं नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको समापन समारोहमा भेटघाटको क्रममा उनले परालको आगोमा काम गर्दाको अनुभव पनि राजधानीलाई सुनाइन् । यो चलचित्रमा उनी मुख्य भूमिकामा थिइन् । जसमा टंकले चामे र बसुन्धराले गौँथलीको भूमिका निभाएका थिए । त्यो चलचित्रमा आफु अहिले पनि काम गर्न इच्छुक रहेको उनले बताएकी छिन् ।
चलचित्र परालको आगोमा चामेको भूमिकामा अभिनेता खगेन्द्र लामिछाने र गौँथलीको भूमिकामा अभिनेत्री सुहाना थापाले काम गर्ने भएका छन् । श्रीमान् श्रीमतीको झगडा परालको आगो भन्ने उखानमा केन्द्रित कथालाई अहिलेको परिवेशमा निर्देशक लक्ष्मण सुनारले तयार गर्ने बताएका छन् ।
चलचित्र परालको आगोलाई सुशील पोखरेलले निर्माण गर्दै छन् । यो चलचित्रलाई आगामी दसैँमा रिलिजको तयारी गरिएको निर्माता पोखरेलले बताए । यसलाई अहिले सुशील देवकोटाले पटकथा पुनर्लेखन गरिरहेका छन् । चाँडै नै चलचित्रको छायांकन सुरु गरिने पनि निर्माण पक्षले जनाएको छ ।