वीरेन्द्रनगरमा खोला किनारमा संरचना बनाउँदा ६ मिटर छाड्नैपर्ने

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले नयाँ सहरी योजना तथा भवन निर्माण मापदण्ड बनाएको छ । प्रदेश राजधानी भएपछि जनसंख्याको अधिक जनघनत्व बढेसंगै व्यवस्थित सहर निर्माणमा टेवा पु¥याउने उद्देश्यले नयाँ मापदण्ड लागू गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८१ अनुसार खोला, नदी, कुलो, ताल किनार आसपासमा संरचना बनाउन कडाइ गरिएको छ । प्रस्तावित नयाँ मापदण्डमा नगरक्षेत्रभित्र रहेका खोला, खोल्सी र राजकुलो वा अन्य कुलोको किनारबाट निर्माण गरिने संरचनाको हकमा नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ ६ मिटरको दूरी छोड्नुपर्नेछ ।

वीरेन्द्रनगरमा रहेका नेवारे खोला, इत्राम खोला, खोर्के खोला, खारखोली खोला, आँपडाली खोला, लामे खोला, पोलघोले खोला, भराली खोला र अन्य खोला तथा नहर क्षेत्रनजिक संरचना निर्माण गर्दा खोला किनारबाट ६ मिटरको सेटब्याक छोड्नुपर्नेछ । नगर प्रमुख मोहनमाया ढकालले कुलो, राजकुलो, खोल्सीको सम्बन्धमा किनारबाट तीन मिटरको सेटब्याक छाड्नुुपर्ने गरी मापदण्ड तय गरिएको बताइन् ।

नगरपालिकाले मालपोत र नापी कार्यालयसँग समन्वय गरी आफ्नो क्षेत्रका खोला, नदी, कुलो तथा ताल किनाराको जमिनको अभिलेख राख्न तथा सार्वजनिक तटबन्धन वा सार्वजनिक संरक्षणबाहेक अन्य संरचना निर्माणमा रोक लगाएको हो । खोला, नदी, ताल, कुलो, पैनी, सिमसार क्षेत्रको अधिकार क्षेत्र भित्र भने कुनै प्रकारको भौतिक संरचना निर्माणको अनुमति प्रदान नगर्ने, तर यस क्षेत्रमा नगरपालिकाले आफ्नो वा समुदायको लागत सहभागितामा संरक्षणका लागि तटबन्धन, पर्खाल निर्माण, पुल निर्माण गर्न भने पाइनेछ ।

नगर क्षेत्रभित्र परम्परागत पानीको मुहान, निकास, प्राकृतिक ताल, धाप, नदी, पोखरी, धारा, कुवा, कुण्ड, ढुङ्गेधारा, जरुवा, इनार आदि मास्ने वा प्रतिकूल असर पर्ने गरी कुनै पनि संरचना निर्माण गर्न नदिने व्यवस्था मापदण्ड बनाइएको छ ।

त्यस्तै सुर्खेतको प्रमुख पर्यटकीय संरक्षित क्षेत्रका रूपमा रहेको बुलबुले तालको सिमानाबाट न्यूनतम २० मिटरभित्र भौतिक संरचना निर्माण गर्न नपाइने भएको छ । तालको किनारमा सार्वजनिक पार्क, खुल्ला ठाउँ, खेलकुद मैदान वा अन्य भौतिक संरचना निर्माण गर्न समेत उल्लेखित मापदण्ड पालना गर्नुपर्नेछ ।

मनोरञ्जन, चरा अध्ययनस्थल वातावरण तथा जैविक विविधता संरक्षणका लागि शैक्षिक क्षेत्रका रूपमा विकास गर्न नगरपालिका वा नगर विकास समितिको अनुमति लिई तोकिएको जग्गाभित्र अस्थायी रेस्टुरेन्ट, टहरा तथा पसलजस्ता व्यापारिक प्रयोजनका लागि भने प्रयोग गर्न सकिने मापदण्डमा उल्लेख छ ।

कुनै पनि प्रकारको फोहोर निष्कासन गर्न, फोहोर, फोहोर पानी वा ढल निष्कासन गर्न, स्थायी भवन निर्माण गर्न, कृषिजन्य कार्यका लागि रासायनिक मललगायत रसायन प्रयोग तथा नगरपालिकाले आवश्यक ठानेका बाहेक अन्य कार्यमा निषेध गरिनेछ । बुलबुले तालको साढे एक किलोमिटरको अर्धव्यासमा कुनै पनि ग्यारेज स्थापना गर्न पाइने छैन । उक्त स्थानभित्र यो मापदण्ड लागू हुनुपूर्व निर्माण भएका ग्यारेजहरू अनिवार्य हटाइनेछ ।

नगर प्रमुख ढकालले ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, सम्मुन्नत वीरेन्द्रनगर’ मूल नारालाई साकार पार्ने उद्देश्यका साथ दीर्घकालीन सोचसहितको सहरी योजना तथा भवन निर्माण मापदण्ड तयार पारिएको बताइन् । ‘स्थानीय सरकारको सहरी योजना तथा भवन निर्माणसम्बन्धी कामकाजलाई पारदर्शी, जवाफदेही, जनउत्तरदायी र मापदण्डमा आधारित रहेर स्थानीय सरकार सञ्चालन ऐनबमोजिम मापदण्डको मस्यौदा तयार पारिएको छ’ उनले भनिन् । मस्यौदा भने नगरपालिकाबाट पारित भएको छैन् ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता