काठमाडौं । विश्वका थुप्रै देशका नृत्य कलाकारहरू एकल तथा समूहगत रूपमा सहभागी हुने अमेरिकी फ्रेन्चाइज ‘वल्र्ड अफ डान्स’मा यस पटकबाट नेपालले पनि सहभागिता जनाउन पाउने भएको छ ।
विभिन्न देशका नृत्य कलाकारहरू बिच संयुक्त राज्य अमेरिकामा हुने वल्र्ड अफ डान्स प्रतिस्पर्धामा सहभागी हुनको लागि नेपाल फ्रेन्चाइजले ग्राण्ड फिनाले काठमाडौँमा सम्पन्न गरेको छ । वल्र्ड अफ डान्स नेपालको अन्तिम प्रतिस्पर्धामा ३३ समूह उत्रिएका थिए । जसबाट तीन फरक समूह (डिभिजन)का विजेताहरू चयन गरिएको छ ।
अन्तिम प्रतिस्पर्धामा ‘अपर टिम’तर्फ बुटवलको द ब्रेभ गोरखा विजेता बन्यो । यो विधामा काठमाडौँको ग्रुप ओभर डोज फस्ट रनर अप र ललितपुरको वाई स्ट्यान्ड क्रू सेकेन्ड रनर अप घोषित भए ।
सो प्रतिस्पर्धामा ‘जूनियर टिम’तर्फ काठमाडौँको नेपा डान्स एकेडेमी प्रथम, मोरङको ह्यान्ड टु ह्यान्ड क्रू द्वितीय र ललितपुरको क्रिएटर क्रु तृतीय बनेका छन् ।
यो प्रतिस्पर्धामा ‘अपर डिभिजन’तर्फ कैलालीको बब्लू एण्ड रोहित पहिलो, काठमाडौँकी स्वस्तिक अर्याल दोस्रो र झापाको एसएनएस क्विन्स तेस्रो घोषित भए । विजेताले आगामी जुलाईमा अमेरिकामा आयोजना हुने ‘वल्र्ड अफ डान्स’ प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् । यो प्रतियोगितामा कन्टेम्पोररी नृत्यकार जेडी तमु, एभरेस्ट क्रूका निशान्त गौचन र पपर मुकेश ढकाल निर्णायकमा थिए ।
यो प्रतियोगिताका राष्ट्रिय निर्देशक रोशन गहतराजले स्वदेशी नृत्यकारलाई विश्वसामु परिचित गराउने र नेपाली कला संस्कृति उजागर गर्नको निम्ति कार्यक्रम आयोजना गरिएको विजेता घोषणा समारोहमा बताए ।
सुस्ताएको नेपाली नृत्य क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता नयाँ सुरुवात भएको शोका कला निर्देशक समेत रहेका जेडी तमुले बताए ।
भारतको डान्स रियालिटी शो ‘डान्स इण्डिया डान्स’, लिटल मास्टर, झलक दिखलाजाका विजेता तेरिया मगरले सो कार्यक्रममा शुभकामना दिँदै आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कसरी उपाधि हासिल गर्ने भनेर आफ्नो अनुभव सुनाइन् ।
मण्डला इन्टरटेनमेन्टकोे आयोजनामा भएको समारोहमा काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले विजेतालाई पुरस्कार प्रदान गरिन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट नृत्य गरेर नेपाललाई पुरस्कार जिताउन विजेताहरूलाई शुभकामना दिइन् ।