घोराही । दाङमा मोही किसानहरुले हलोजुवा बोकेर आइतबार घोराहीको सडकमा प्रदर्शन गरेका छन् । स्वर्गद्वारी गुठीको जग्गामा अधिकार माग गर्दै उनिहरु सडकमा उत्रिएका हुन् । काठमाडौंको माइतीघर मण्डलमा माघ २० देखि अनिश्चितकालीन धर्ना दिइरहेका मोही किसानको समर्थनमा उनीहरूले सडकमा प्रर्दशन गरेका हुन् ।
घोराही उपमहानगरपालिका–१४, झिंगौरास्थित थारु गाउँबाट सयौंको संख्यामा आएका मोही किसानहले घोराही बजार परिक्रमा गरेका थिए । उनीहरूले स्वर्गद्वारी गुठीको जग्गामा कायम भएको मोही हक कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । जमिनमाथिको अवैध स्वामित्व अन्त्य हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, धर्मका नाममा शोषण गर्न नहुने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर किसानहरुले प्रदर्शन गरेका छन् ।
लामो समय आन्दोलन गर्दा पनि आवाजको सुनुवाइ नभएपछि सरकारलाई दबाब दिन भन्दै दाङका ३९ जना मोही किसान काठमाडौं पुगेका छन् । उनीहरूले गत फागुन ८ देखि चैत ७ गतेसम्म घोराहीमा विभिन्न आन्दोलनका कार्यक्रम गरेका थिए । त्यसपछि सरकारले वार्ता गरेर माग पूरा गर्ने आश्वासन दिएको थियो । चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तापछि स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुन तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको थियो ।
मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको नेतृत्वमा गठित वार्ता तथा अध्ययन समितिले मोही किसानसँग वार्ता गरी उक्त सहमति गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि गुठीसम्बन्धी एकीकृत कानून ल्याएर भूमिको अवैध स्वामित्व अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
झण्डै एक वर्ष पुग्नै लाग्दा समेत दुबैपक्षबीच भएको सहमति कार्यान्वयन नभएपछि मोही किसान फेरि आन्दोलित भएको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो । २०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामीना हुन नदिनू भनी परमादेश जारी गरेपछि मोही किसान जग्गाको अधिकार पाउनबाट वञ्चित भएका हुन् ।
स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम रहेको छ । उक्त जग्गामा ३ हजार ५ घरधुरीका १५ हजार बढी सदस्य आश्रित रहेको अध्यक्ष चौधरीले बताए ।