काठमाडौं । नाट्य सम्राट् बालकृष्ण समको १२३ ओैँ जन्म जयन्तीका अवसर पारेर त्रिमूर्ति निकेतनले अठारौँ त्रिमूर्ति दिवस एवम् बालकृष्ण समको १२३ ओैँ जन्म जयन्ती मनाएको छ । सो अवसरमा समारोहमा तीन जना स्रष्टालाई त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा रामबाबु सुवेदी, प्रा.डा.सावित्री कक्षपती र प्रा.डा.बेन्जु शर्मालाई पुरस्कार प्रदान गरिएको हो । ताम्रपत्रका साथै यी तीनै जनालाई जनही एक एक लाख रूपियाँ राशीको पुरस्कार प्रदान गरियो ।
छ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्द कविताको सिर्जना एवम् छन्द काव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान दिएको ठहर सहित रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिएको कार्यक्रममा जानकारी गराइयो ।
यसै गरी नाट्य सम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्ताबेज प्रस्तुत गर्नका साथै नेपाली रंगकर्मको संवद्र्धनमा समेत निरन्तर योगदान दिएको भन्दै प्रा.डा.सावित्री कक्षपतिलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको हो । उनी प्रध्यापनसँगै नेपाली भाषा साहित्यको सेवामा पनि त्यत्तिकै समर्पित छिन् ।
यस्तै विगत छ दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको सम्वर्धनमा विशिष्ट योगदानका निम्ति प्रा.डा.बेन्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको कार्यक्रममा जानकारी गराइयो ।
यी पुरस्कार प्रदान गर्दै काठमाडौँको सञ्चार ग्राममा रहेको त्रिमूर्ति निकेतनमा बालकृष्ण समको जन्म जयन्ती मनाइएको हो । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, लेखनाथ पौडयाल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थीले नेपाली नाट्य क्षेत्रमा बालकृष्णले पु¥याएको योगदानको चर्चा गरे । समारोहमा कवि उषा शेरचनले आफ्नो कविता सुनाउँदै बालकृष्णको योगदानको बिषयमा बोलिन् ।
त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले पुरस्कृत तीन जना स्रष्टाको चिनारी सो कार्यक्रममा प्रस्तुत गरेका थिए ।