काठमाडौं । शनिवार बेलुका काठमाडौँमा सम्पन्न अन्तिम प्रतिस्पर्धाबाट ‘मोडल हन्ट नेपाल’ सिजन ९को उपाधि युवा तर्फ विवश विष्ट र युवती तर्फ नेहा बुढाले जितेका छन् । नवौँ संस्करणको प्रतियोगितामा ३३ युवती र १७ युवा अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । करिब एक महिनाको विभिन्न प्रशिक्षण पछि उनीहरुलाई अन्तिम प्रतिस्पर्धाको लागि ¥याम्पमा उतारिएको थियो ।
उपाधिसँगै यी दुवैले विभिन्न पुरस्कार र कम्बोडियामा आयोजना हुने ‘मिस्टर एन्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेका छन् । आफूहरू मोडलिङमा करिअर बनाउन भनेर यो क्षेत्रमा आएको र यति बेला मोडल हन्ट नेपालको विजेता बन्दा अझ हौसला बढेको पनि विवश र नेहाले बताए ।
नियमित हुँदै आएको नेपाली मोडलहरूको यो प्रतियोगितामा यस पटक पनि फेसन, स्टाइल, मोडलिङ र ग्ल्यामरसँग समर्पित थियो । प्रतियोगितामा आदित्य थपलिया र मोना के.सी. फस्ट रनर अप बने । यसै गरी एलेन डंगोल र चाँदनी श्रेष्ठले सेकेन्ड रनर अपको उपाधि हाँसिल गरे ।

प्रतियोगितामा मोस्ट स्टाइलिस अवार्ड मनिश गौतम र जेनिता सेन्चुरीले प्राप्त गरे भने वेस्ट पर्सनालिटी अवार्ड सुजल श्रेष्ठ र डा. अनिमा भण्डारीले, वेस्ट वाक अवार्ड छेवाङ शेर्पा र पूजा सिंह राजपूतले पाए । यस्तै सो प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड आदित्य कौशल र सारु कार्कीडोली परियारले, मोस्ट फोटोजेनिक अवार्ड प्रसून कुमार र अनुजा पौडेलले, फिटनेस मोडल अवार्ड आयन चौधरी र वेस्ट फिगर अवार्ड नेहा बुढाले हाँसिल गरे । यसै गरी विवश विष्ट र चाँदनी श्रेष्ठले टप मोडलको अवार्ड प्राप्त गरे भने मोष्ट पपुलर अवार्ड कृतिका खड्का र खेमराज पोखरेलले पाए ।
प्रतियोगिताको यो संस्करणको फाइनल प्रतिस्पर्धाको निर्णायकमा पूर्व मिस नेपाल द्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, मिस्टर नेपाल २०२४का विजेता सन्तोष लोक्सम लिम्बु, जोय कस्मेटिक्सका नेपालका प्रमुख मदन रौनियार, फेसन कोरियोग्राफर मनिश राई तथा अर्की फेसन कोरियोग्राफर आस्था पोखरेल थिए ।
प्रतियोगितामा स्मृति लम्साल, सिला र कासाले तयार पारेका विभिन्न डिजाइनको फेशनमा प्रतियोगीहरू ¥याम्पमा उत्रिएका थिए । यस पटक ब्ल्याकबेरिज् र क्यान्टाविल जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका डिजाइन पनि ¥याम्पमा प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट बाह्र प्रतियोगी राउन्डमा युवा तथा युवती प्रतियोगीहरू डिजाइनर मनिश राईले तयार पारेका पहिरनमा ¥याम्पमा प्रस्तुत भएका थिए ।
फेशन शोसँगै विभिन्न सांगीतिक प्रस्तुतिले करिब तीन घण्टासम्मको चलेको यो प्रतियोगितात्मक कार्यक्रमको रौनक बढेको थियो । नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको यो प्रतियोगिताको निर्देशकमा रवि धमला र यतना पाण्डे थिए । मोडल सविता कार्कीको कोरियोग्राफी रहेको प्रतियोगितालाई फेसन कोरियोग्राफर रोजिन शाक्यले सहजीकरण गरेका थिए ।