काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार शीतल निवासमा एक समारोहबिच ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’ प्रदान गरेका छन् । संगीत महर्षी नातिकाजीको नाममा स्थापित नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०को घोषणा नातिकाजीको १०० औँ जन्म जयन्तीको अवसर पारेर गत पुसमा गरिएको थियो । सोही पुरस्कार राष्ट्रपति पौडेलले प्रदान गरेका हुन् ।
नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटाको सभापतित्वमा भएको सो पुरस्कार समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०८० बाट विभिन्न स्रष्टालाई सम्मान गरियो ।
समारोहमा गीतकार नगेन्द्र थापा, लोक गायक बोमबहादुर कार्की, संगीत प्रवर्धक प्रकाश सायमी, शास्त्रीय संगीतकार ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गीतकार किरण केसी ’क्रोधी’, गायक दिवाकर खड्का, सञ्चारकर्मी धन लामा र गायिका यशोद पराजुलीलाई नातिकाजी विशिष्ट संगीत सम्मानबाट राष्ट्रपतिद्धारा सम्मानित गरियो । सोही समारोहमा नातिकाजी राष्ट्रिय योगदान सम्मानबाट इटहरीको संगीत साधना प्रतिष्ठान र लेखक विमल भौकाजीलाई सम्मानित गरियो ।
समारोहमा नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०८० बाट गीतकार वि. पाण्डे (बद्री पाण्डे), संगीतकार आशिष अविरल (खिमबहादुर गौतम), गायक हिमाल सागर, गायिका बिन्दु परियार र संगीत संयोजक सम्राट् थापालाई पुरस्कृत गरियो ।
यसै गरी नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट संगीतकार कल्याण सिंह, गायक डेभिड शँकर, गायिका स्मिता दाहाल र रेकर्डिष्ट भोला पौडेललाई पुरस्कृत गरियो । सोही समारोहमा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०८० बाट संगीतकार रमेश पोखरेल, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०८० बाट लोक गायकद्धय रामप्रसाद अवस्थी, कृष्ण वि.क र लोक गायिका सुष्मा शाही ठकुरी पुरस्कृत भए ।
सोही समारोहमा २०८० सालको नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट पत्रकार द्वय सुशील अर्याल र सुकृत नेपाल नेपाललाई पुरस्कृत गरियो । यी सबै पुरस्कारको राशि जनही ११ हजार १११ रुपैयाँ रहेको थियो ।
राष्ट्रपति पौडेलले समारोहलाई सम्बोधन गर्दै नेपाली सुगम संगीत आजको अवस्थासम्म आउनुमा नातिकाजीको अतुलनीय योगदान रहेको बताए । तिनै संगीतकारको नाममा पुरस्कार स्थापना गरेर नेपाली संगीत क्षेत्रमा योगदान दिएका संगीतकर्मीलाई यसरी पुरस्कृत गर्नु अझ प्रसंसनीय कार्य भएको पनि उनले बताए । नातिकाजीले देखाएको बाटोमा अघि बढेर नेपाली मौलिक संगीतको प्रवर्धनमा योगदान दिनको लागि पुरस्कृत संगीतकर्मीहरुलाई उनले सुझाव दिए ।
संस्कृति मन्त्री बद्री प्रसाद पाण्डेले पुरस्कृत तथा सम्मानित सबैलाई वधाई ज्ञापन गर्दै गीत संगीतको क्षेत्रमा राष्ट्रलाई योगदान दिने स्रष्टालाई सरकारले गर्नु पर्ने यस्तो सम्मान नातिकाजी स्मृति समाजबाट हुनु निकै राम्रो कार्य भएको बताए ।
नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बासकोटाले कार्यक्रममा बोल्दै नेपाली संगीतमा नातिकाजीको योगदान’bout चर्चा गरे । उनले नेपाली संगीतको विकासमा नातिकाजीले पु¥याएको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनको लागि यो सम्मान तथा पुरस्कार आफुहरुले प्रदान गर्दै आएको बताए ।