खेलाडी छनोटको आधार बन्दै राष्ट्रपति रनिङ सिल्ड

इलाम । घर बलियो हुन जग राम्रो बनाए जस्तै खेलकुदको विकासमा पनि जग आवश्यक पर्छ । स्कुल जीवनदेखि नै खेलकुदको विकास गर्न सकियो भने भविष्यमा खेलकुदको स्तर राम्रो हुन्छ । जसको आधार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हो ।

देशैभर हुने यो प्रतियोगिता विद्यालयमा निकै लोकप्रिय छ । प्रतियोगिताले विद्यालय स्तरबाट प्रतिभावान् खेलाडी पहिचान गर्न मद्दत गर्छ । पहिले वीरेन्द्र सिल्डको रूपमा हुने प्रतियोगिता गणतन्त्र पछि २०६५ सालमा पहिलो पटक राष्ट्रपति रनिङ सिल्डको नामबाट सुरु भएको थियो ।

राष्ट्रपति रनिङ सिल्ड विद्यालय स्तरमा खेलकुदको विकासका लागि निकै राम्रो मानिन्छ । चार चरण पार गरेपछि मात्र केन्द्रमा बृहत् रूपमा राष्ट्रपति रनिङ सिल्डको आयोजना समेत हुने गर्दछ । सुरुमा स्थानीय तहबाट छनोट गरी जिल्ला र त्यसपछि प्रदेश प्रतियोगिता हुँदै छनोट भएका उत्कृष्ट खेलाडी केन्द्रमा हुने राष्ट्रिय रनिङ सिल्डमा खेल्न योग्य हुने गर्दछन् ।

स्थानीय तह स्तर, जिल्ला स्तर, प्रदेश स्तर र केन्द्र स्तरमा सञ्चालन हुन्छ । तर अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी भने यस प्रतियोगितामा सहभागी हुन पाउँदैनन् । स्थानीय तह स्तरको उत्कृष्ट खेलाडीले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्न पाउने र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरूलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रदेश स्तरमा प्रतिस्पर्धा गराइन्छ ।

यसरी प्रदेशमा प्रदेश स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरूलाई प्रदेश स्तरीय खेलकुद विकास समितिको सिफारिसमा केन्द्र स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न खेलकुद प्रतियोगितामा सहभागी गराइन्छ । राष्ट्रपति रनिङ शिल्ड एक नियमित प्रतियोगिता भएकोले अघिल्लो वर्षको शिल्ड नै विजयीलाई रनिङ शिल्डको रूपमा उपलब्ध गराउने व्यवस्था छ ।

तर लगातार तीन वर्ष सम्म एउटै विद्यालय, स्थानीय तह, जिल्ला र प्रदेश शिल्ड जितेमा सो शिल्ड उनीहरूले सेँधैका लागि राख्न पाउने व्यवस्था छ । त्यसैले राष्ट्रपति रनिङ सिल्डमा हजारौँ विद्यार्थी खेलाडी सहभागी हुन्छन् । प्रतियोगिताले गर्दा पनि गाउँ गाउँमा पनि प्रत्येक विद्यालयले खेलकुदलाई प्राथमिकतामा राखेको पाइन्छ । राष्ट्रपति रनिङ सिल्डको १५औँ संस्करणको तयारी भइरहेको छ ।

तीन वर्षयता सदरमुकाम बाहिर प्रतियोगिता
सदरमुकाममा मात्र नभई गाउँका पालिकामा समेत खेलकुदको लहर ल्याउने प्रयासमा राष्ट्रपति शिल्डको इलाम जिल्ला स्तरीय १५ औँ प्रतियोगिता माई नगरपालिकामा सञ्चालन हुँदै छ । लगातार तीन वर्षयता सदरमुकाम बाहिरका पालिकामा सञ्चालन भइरहेको प्रतियोगिता यस पटक माई नगरमा हुन लागेको हो ।

यस अघि २०७९ सालको प्रतियोगिता फाकफोकथुम र ०८० को माङ्सेबुङ गाउँपालिकामा आयोजना गरिएको थियो । हाल माई नगरपालिकामा हुने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका आठ सय ९५ विद्यार्थी (खेलाडी)ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एक सय २० जना हुनेछन् । प्रतिनिधि शिक्षक र अन्यसमेत गरी एक हजार पाँच सयभन्दा धेरै जना प्रतियोगितामा सामेल हुने आयोजकले जनाएको छ ।

सदरमुकामबाहिर प्रतियोगिता आयोजना गर्दा त्यहाँको पनि आर्थिक अवस्था चलायमान हुने भएकाले प्रत्येक वर्ष सदरमुकामबाहिरका पालिकामा प्रतियोगिता सञ्चालन गरिरहेको समिति अध्यक्ष बाँस्कोटाले बताए । ‘सङ्घीयतालाई कार्यान्वयन गर्ने एउटा रूप पनि हो यो,’ उनले भने, ‘सम्बन्धित पालिकाको पर्यटन, संस्कृतिको प्रचार र आर्थिक विकासमा पनि यो प्रतियोगिताले सहयोग पुग्छ ।’ पहिलो पटक सदरमुकाम बाहिर प्रतियोगिताको आयोजना गरेको इलाम कोशिकै उत्कृष्ट भई सम्मानित समेत भएको छ ।

एक वर्ष अघि नै प्रतियोगिता गर्ने टुङ्गो
नगरले माईमा प्रतियोगिता सञ्चालन गर्नका लागि अघिल्लो वर्ष झण्ड बुझेको थियो । पालिका पालिकामा प्रतियोगिता सञ्चालन गर्न थालिएपछि पालिकाले पालिका स्तरीय र जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनका लागि ३० लाख हाराहारी बजेटको व्यवस्थापन गरेको जनाएको छ । प्रतियोगिता आयोजना गर्दा २५ लाख रुपियाँ बढी खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ ।

पालिका स्तरीय प्रतियोगिता गर्दा अहिले इलामका पालिकाले पाँच देखि १० लाख सम्म खर्च गर्न थालेका छन् । “राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन्, यो राम्रो हो” माईका नगर प्रमुख लिम्बुले भने । पालिकाले अहिले प्रतियोगिता सँगै ग्रामीण क्षेत्रमा खेलमैदानको समेत व्यवस्था गर्न थालेका छन् ।

प्रतियोगितामा ६ विधा अन्तर्गत भलिबल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । पालिकाबाट छनौट भई जिल्ला र जिल्लामा छनौट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउने खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले बताए ।

रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन् । जुन पालिकामा प्रतियोगिता सम्पन्न हुन्छ उक्त पालिका आयोजक पालिकाको रूपमा रहने गरेको छ । अन्य पालिकाले समेत जिल्ला खेलकुद विकास समितिलाई प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित सुनिश्चित भएपछि बालेनले भने : हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ