काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वको खेलकुद गतिविधि ठप्प छ । कोरोनाको त्रास अझै हट्न सकेको छैन । केही देशमा कोरोना संक्रमण र मृत्युदर न्यून हँदै गइरहेको छ । तर, अझै रोकिन सकेको छैन । यस्तो अवस्थामा केही देशले खेल गतिविधि पुनः सुरु गर्ने योजना बनाइरहेका छन् । फ्रान्स सरकारले सेप्टेम्बरसम्म सबै खेल गतिविधि नगर्न निर्देशन दिएको छ । जर्मनी, स्पेन, इटाली र इंग्ल्यान्डले खेल गतिविधि बन्द रंगशालामै गरेर सिजन सकाउने योजना बनाइरहेका छन् ।
कोरोनाको त्रासबाट नेपालको खेलकुद गतिविधि पनि अछुतो छैन । चैत पहिलो साताबाट नेपाली खेलुकद गतिविधि ठप्प छ । यस्तो अवस्थामा सम्पूर्ण खेलाडी र प्रशिक्षकले घरमै बसेर आपूलाई फिट राखेका छन् । खेल संघहरूले अत्यावश्यक काम (वर्क फ्रम होम) घरबाटै गरिरहेका छन् । लकडाउनका कारण विगत ३८ दिनदेखि खेलाडीले आफ्नो नियमित प्रशिक्षण गर्न पाएका छैनन् । प्रशिक्षकले आफ्नो प्रशिक्षण कला सिकाउन पाएका छन् । उनीहरू घरमै बसेर सामान्य प्रशिक्षणमा मात्रै रहँदा आफ्नो स्तर खस्केमा चिन्तित छन् । केही खेलाडी लकडाउनको समयमा विपन्न परिवारको सहयोगमा जुटेका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)का करातेतर्फका प्रशिक्षक तारा गुरुङले घरमै बसेर नियमित प्रशिक्षण गर्दै आफूलाई फिट राखेका छन् । अरू बेला सबैरै उठेर नियमति प्रशिक्षणका लागि भौंतारिने तारा लकडाउनका कारण केही ढिला उठ्ने गर्छन् । तैपनि, उनी प्रशिक्षण गर्न छुटाउँदिनन् । प्रशिक्षक तारा अहिले बिहान ७ बजे उठ्छिन् । त्यसपछि केहीबेर समाचार अपडेटसँगै ब्रेकफास्ट गर्छिन् । त्यसपछि करिब ११ बजेसम्म प्रशिक्षणमा व्यस्त हुन्छिन् ।
त्यसपछि खाना बनाउने र करिब २ बजेतिर खाना खान्छिन् । त्यसपछिको समय पुनः समाचार र सामाजिक सन्जालमा अपडेट हुन्छिन् । घर सफा गर्ने, करातेसम्बन्धी पुस्तक पढ्ने र करातेसम्बन्धी फिल्म हेर्ने ताराको दैनिकी छ । त्यसपछि आफैं खाजा बनाएर खान्छिन् । करिब १ घन्टा काता तथा करातेको अभ्यासमा निरन्तर व्यस्त हुन्छिन् । परिवारसँगै मिलेर खाना बनाउँछिन् । हरेक दिन फरक–फरक क्रियाकलाप गर्नु ताराको लकडाउनपछिको दैनिकी हो । यसबाहेक प्रशिक्षक ताराले आफ्नो व्यक्तिगत सरसफाइलाई ध्यान दिन्छिन् ।
मानव समुदायले पहिलेदेखि नै धेरै विपत्तिको सामना गरिरहेको र यसबाट बच्न सबैजना सजग हुनुपर्ने तारा बताउँछिन् । ‘यो संकटलाई शक्तिमा बदल्नुपर्छ । राम्रो पुस्तकहरू पढ्ने, गीत संगीत सुन्ने, साथीभाइसँगको पुरानो सम्झनालाई ताजा गर्ने, क्रिएटिभ कामहरू गर्ने, जंक फुड नखाने र विशेष गरी खेलाडीहरूले वर्कआउटमा ध्यान दिनुपर्छ,’ तारा भन्छिन् ।
कराते ब्ल्याक बेल्टको चौथो डान ताराले पछिल्लो समय प्रशिक्षकसँगै रेफ्रीको भूमिका निभाइरहेकी छन् । ताराले २०५२ देखि कराते खेल्न थालेकी थिइन् । आफ्नो समयमा प्रायः सबै राष्ट्रिय प्रतियोगितामा ताराले स्वर्णपदक जितेकी छन् । उनले चीनको गोन्जाओमा आयोजना भएको १६औं एसियाड गेम्समा सहभागिता जनाएकी थिइन् ।