नेपालको वाम एवं लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको वैशाख १३ गते २१औं स्मृति दिवस मुलुकमा कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारबाट लकडाउन लागू गरेका कारण नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट औपचारिक कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाइएन । यद्यपि सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट भने शुभचिन्तक, समर्थकले भने अधिकारीप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको जन्म १९७५ असार १५ गते काठमाडौंको लाजिम्पाटमा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारीको माइला पुत्रका रूपमा मध्यमवर्गीय परिवारमा जन्म भएको थियोे । पिता रामचन्द्र अधिकारी सरकारी जागिरे भए पनि त्यतिबेला भारतीय स्वतन्त्रता संग्राममा सहयोग पु¥याउँदै अत्याचारी निरंकुश जहाँनिया राणा शासनविरुद्ध भित्रभित्रै लागिरहेका थिए । पिताजीकोे राजनीतिक गतिविधिप्रति मनमोहन अधिकारीमा पनि राजनीतिक प्रभाव पर्न थाल्यो । चन्द्र शम्शेरको प्रधानमन्त्री हुँदा कालमा राणाविरोधी गतिविधि बढ्दै जाँदा पिता रामचन्द्र अधिकारीलाई निर्वासनको सजाय दिइयो । यसले गर्दा सिंगो परिवारमा राणाविरोधी भावना जागृत गरायो । निर्वासनमा भारततिर जाँदा पिता रामचन्द्रले मनमोहनलाई पनि सँगै लगेर प्रारम्भिक शिक्षा त्यतै गराएका थिए ।
चन्द्र शमशेरको मृत्युपछि पिता निर्वासनबाट फर्किएर विराटनगर आएपछि मनमोहन त्यहीँ अध्ययन गर्न गरे । पछि बनारसबाट सन् १९४०मा मेट्रिक उत्तीर्ण गरेर त्यही उच्च शिक्षा अध्ययन गर्न थाले । उच्च शिक्षा अध्ययनसँगै वामपन्थी राजनीतिबाट प्रभावित भएर भारतको कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेपछि राजनीतिमा होमिनुभएका मनमोहन अधिकारी नेपालको मजदुर आन्दोलन, प्रजातान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलनमा नेतृत्व गर्दै नेकपा एमालेको अध्यक्ष हुँदै पहिलो निर्वाचित कम्युनिस्ट सरकारको नेतृत्व गरेर नेपालको वाम आन्दोलन, प्रजातान्त्रिक आन्दोलन, मजदुर आन्दोलनमा मनमोहन अधिकारीले अग्रणी नेतृत्वकारी भूमिका निर्वाह गरेर नेपालको राजनीतिमा राजनेता (स्टेटमेन्सिप)झंै भूमिका निर्वाह गरेका छन् । उनले अफ्नो राजनीतिक जीवन कालमा निर्वाह गरेका भूमिका अन्य नेताको तुलनामा विशिष्ट ऐतिहासिक महŒवका रहेका छन् ।
निर्वाचित कम्युनिस्ट सरकारको नेतृत्व गरेर नेपाली वाम, प्रजातान्त्रिक तथा मजदुर आन्दोलनमा मनमोहन अधिकारीले राजनेताको भूमिका निर्वाह गरेका छन्
कम्युनिस्ट विचार फैलाउने प्रथम व्यक्तित्व ः निरंकुश जहाँनिया राणा शासनको दबदबा भएका बेला मनमोहन अधिकारीले भारतको बनारसमा उच्चशिक्षा अध्ययन गर्न थाले । राजनीतिप्रति सचेत र जागरुक बनेका मनमोहन अधिकारी भारतीय स्वतन्त्रता संग्रामको आन्दोलनमा सरिक भए । ब्रिटिस उपनिवेशवादीलाई भारतबाट लखेट्न सन् १९४२ देखि सुरु भएको ‘भारत छोडा’ आन्दोलनमा मनमोहन अधिकारी संलग्न भए । यसैक्रममा सन् १९४२ तिर नै भारतीय कम्युनिस्ट पार्टीको सम्पर्कमा रही काम गरे । यसैबीच आन्दोलनमा लागेका थुप्रै भारतीय कम्युनिस्ट पार्टीका नेता पक्राउ परे । मनमोहन अधिकारी पनि पक्राउ परी भारतको जेलमा परे । जेल जीवनकै क्रममा जेलभित्र भूमिगत हिसाबले सञ्चालित कम्युनिस्ट पार्टीको सदस्यता अधिकारीले प्राप्त गरका थिए । यस अर्थमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा ६ र ७ वर्ष अगाडि नै विदेशमा रहेर कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्ने पहिलो नेपाली व्यक्तित्व हुन् ।
पहिलो मजदुर आन्दोलनका नेता : मनमोहन अधिकारीले बनारसमा अध्ययनकै क्रममा जेल परेर डेढ वर्षपछि रिहाइ भएका अधिकारी कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेर रेल्वे क्षेत्रका मजदुरलाई संगठित र परिचालन गर्न लेवर फ्रन्टमा रहेर पाँच वर्षसम्म काम गरेका थिए । कम्युनिस्ट पार्टीको काम, लेबर फ्रन्टको कामसँगै उच्च शिक्षा अध्ययनको क्रममा २००१ सालमा विज्ञान विषयमा स्नातक उतीर्ण गरेपछि अधिकारी सोही वर्ष विराटनगर फर्किए । विराटनगर आउने बित्तिक्कै अधिकारी स्थानीय विराटनगर जुट मिलमा प्राविधिक अधिकृत नियुक्त भए । भारतको जोगबनी क्षेत्र औद्योगिक क्षेत्र भएको र त्यहाँ मजदुरको शोषण तीव्र बनेको थियोे । विराटनगर क्षेत्रमा मिल्स एरियामा ५०औं उद्योग कलकारखाना सञ्चालनमाा थिए र त्यहाँ पनि मजदुर शोषणको मारमा परेका थिए । भारतमा रहँदा कम्युनिस्ट पार्टी र ट्रेड युनियनमा रहेर काम गर्दाको अनुभवले परिपक्व नेताका रूपमा विकास भइसकेका अधिकारी विराटनगर क्षेत्रमा मजदुरहरूलाई संगठित गर्दै युनियनमा आबद्ध गराउने काममा लाग्न थाले । यसरी मनमोहन अधिकारीले मजदुरहरूलाई संगठित गर्न थालेपछि मजदुर आन्दोलनको राप र ताप बढ्न थाल्यो ।
हरेक कारखानामा मजदुरहरूले आफ्ना पीरमर्का समाधान गर्न कारखाना मालिकहरूसमक्ष माग अगाडि सार्न थाले । पछि २००३ सालतिर बीपी कोइरालासमेत मजदुर आन्दोलनमा सहभागी भएर विराटनगरमा ठूलो मजदुर आन्दोलन भयो । आन्दोलनकै कारण मनमोहन अधिकारी, बीपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायतका नेतालाई पक्राउ गरी काठमाडौं ल्याइयो । नेतालाई गिरफ्तार गरेपछि मजदुर आन्दोलन झन् चर्किएर गयो । विराटनगरको मजदुर आन्दोलनको राप र ताप काठमाडौं उपत्यका हुँदै देशका प्रमुख सहरमा फैलिएको थियो । यही मजदुर आन्दोलनले नै २००७ सालको राणा शासनविरोधी आन्दोलनलाई माथि उठाउन र निर्णायक बनाउन महŒवपूर्ण सहयोगी भूमिका निर्वाह गरेको थियो । यसरी हेर्दा नेपालमा मजदुरलाई संगठित र आन्दोलनमा परिचालन गर्न सुरुवात गर्ने पहिलो व्यक्तित्व मनमोहन अधिकारी थिए ।
प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री : बन्दुकको नालबाट मात्रै सत्ता प्राप्त हुन्छ भन्ने परम्परागत कम्युनिस्ट स्कुलिङलाई भने नेपालका कम्युनिस्टले त्यागेर २०१५ सालको आमनिर्वाचनमा भाग लिएर चार सिटमा विजय हासिल गरेका थिए । तर, २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि पञ्चायतकालभर कम्युनिस्ट पार्टीलगायत दलहरू प्रतिबन्धित भए । २०४६ सालको परिवर्तनपछि मात्रै खुला तवरले दलीय गतिविधि अगाडि बढे । २०४८ सालको आमनिर्वाचनमा ६८ सिट ल्याएर प्रमुख प्रतिपक्षी दल बनेको नेकपा एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरी ठूलो दलको हैसियतले सरकार बनाएर समकालीन विश्व राजनीति र कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश दिन सफल भयो । नेपालकै इतिहासमा कम्युनिस्ट पार्टी स्थापना भएको ४५ वर्ष पछाडि जनताबाट निर्वाचित भएर सरकार कम्युनिस्ट पार्टीको नेतृत्वमा एकल सरकार गठन भयो, जसको नेतृत्व मनमोहन अधिकारीले गरेका थिए ।
कम खर्चमा सुशासनयुक्त सरकार सञ्चालन गर्ने प्रथम प्रधानमन्त्री : प्रधानमन्त्री मनमोहन अधिकारी स्वच्छ छविका भएका कारण सरकारको नेतृत्व गर्दा पनि जथाभावी खर्च गरेर देशको ढुकुटी सक्ने काम गरेनन् । आफू प्रधानमन्त्री हुँदा सचिवालय सञ्चालन गर्न र मनोरञ्जन खर्चबापत पाउने रकमसमेत बचत गरेर राख्ने, सानो तिनो खर्च भएमा पनि त्यसउपर निगरानी राख्ने स्वभावका अधिकारीको प्रधानमन्त्रीत्व कालमा साधारण खर्चमा अहिले जस्तो जथाभावी खर्च हुँदैनथ्यो । माथिदेखि तलसम्म अनियमितता र भ्रष्टाचारजन्य घटनामा न्यूनता आएको थियोे । बहुदल स्थापना भएपछि पहिलोपटक निर्वाचित नेपाली कांग्रेसको सरकारले चालेको राष्ट्रघाती कदम, सार्वजनिक संस्थानको निजीकरणसँगै विपक्षी दललाई पेलेर जाने नीति लिएर सारा राज्यसंयन्त्रलाई राजनीतीकरण गरेपछि राजनीतिक दलबीचमा द्वन्द्वको सुरुवात भयो । दर्जनांै मानिस गोलीको सिकार भए । देशमा यसकै कारण सशस्त्र द्वन्द्वको सुरुवात भयो । तर, मनमोहन अधिकारीको प्रधानमन्त्री कालमा शान्ति, सुरक्षा र अमनचैन कायम भएको थियोे । एक जना नागरिकले पनि गोलीको सिकार हुनुपरेन । यस अर्थमा नेपालको शासकीय व्यवस्थाको इतिहासमा सुशासनयुक्त सरकार सञ्चालन गर्ने प्रथम प्रधानमन्त्री मनमोहन अधिकारी थिए ।
कोरोनाविरुद्ध सिंगो पार्टीको शक्तिलाई परिचालित गरी यो महाविपत्तिमा जनताको अभिभावकत्व लिन सकेमा मनमोहनप्रति सच्चा सम्मान हुनेछ
गाउँमा पहिलोपटक विकासको लहर लैजाने प्रथम प्रधानमन्त्री : नेपालमा योजनाबद्ध विकासको थालनी २०१३ सालबाट भए पनि ४४ वर्षसम्म गाउँमा विकास समानुपातिक हिसाबले पुगेको थिएन । विकास त पञ्चहरूको भोट बैंक थियो । मलाई भोट दिए विकास ल्याइदिने भनेर आश्वासन बाँडेर चुनाव जित्ने चलन थियोे पञ्चायतकालमा । राजाको नजिक भएका निर्वाचित पञ्चहरूले आफूखुसी विकासको कार्यक्रम लगिदिने गर्दथे । आफूलाई भोट नदिने गाउँमा विकास नै पुग्न सक्तैनथ्यो । गर्दागर्दै २०४८ सालमा नेपाली कांग्रेसको सरकारले सरकारले पनि सरकार बनाएपछि पञ्चहरूकै सिको गर्दै कम्युनिस्टहरूले जितेको क्षेत्रमा विकासका योजना नै नपारिदिने खालको ‘विकासको राजनीति’ ग¥यो । तर, मनमोहनको सरकारले सबै गाउँमा समानुपातिक हिसाबले विकासको लहर सिर्जना गर्न ‘आफ्नो गाउँ आफंै बनाऔं’, ‘नौ स’को अभियानका साथ सिंहदरबार वरिपरि रहने विकासको बजेट रकम सोझै हरेक गाउँमा पठाउन थालेपछि देशव्यापी रूपमा विकासको लहरको सुरुवात भयो । ज्येष्ठ नागरिक, महिला, असहाय र बालबालिकालाई सम्मान गर्दै सामाजिक सुरक्षा सुविधाअन्तर्गत भत्ता र सुविधा दिन थालेपछि मनमोहन अधिकारी ज्येष्ठ नागरिकको समेत अभिभावक भएर राष्ट्रभर परिचित भए आजपर्यन्त ज्येष्ठ नागरिकले मनमोहनको सम्झना गरिरहेका छन् । यस अर्थमा गाउँमा विकासको लहर सिर्जना गर्न सुरूवात गर्ने प्रथम प्रधानमन्त्री मनमोहन अधिकारीलाई लिइन्छ ।
राष्ट्रियताका असल पहरेदार प्रथम प्रधानमन्त्री : २००७ सालको क्रान्तिसँगै नेपालको राष्ट्रियतालाई कमजोर बनाउन त्यतिखेर नेपाली शासकले विस्तारवादी भारतसँग सम्झौता गरे । नेपाल भारतबीच सन् १९५० को असमान सन्धि भयो । जुन सम्झौता राष्ट्रिय हितमा थिएन । जनस्तर र वामपन्थी आन्दोलनमा उक्त सम्झौताको विरोध हुँदै आए पनि नेपालका भारत परस्त पार्टी र सम्झौतापछि बनेका अनेकन सरकार कसैले पनि विरोध गरेका थिएनन् । तर, मनमोहन अधिकारीले प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा पहिलोपटक आवाज उठाएर पुनरावलोकन गर्न माग गरेका थिए । यद्यपि, यो विषय अहिलेसम्म पुनरावलोकन हुन सकेको छैन । यसरी, मनमोहन अधिकारी प्रतिपक्षमा बस्दा मात्रै होइन, सरकारमा रहँदा पनि राष्ट्रियताको संरक्षणका लागि बुलन्दका साथ आवाज उठाउने प्रथम प्रधानमन्त्रीका रूपमा परिचित व्यक्तित्व हुन् ।
मनमोहन अधिकारी २०४७ सालमा तत्कालीन माक्र्सवादी र मालेबीचको एकताबाट बनेको नेकपा एमालेको अध्यक्ष भए । मध्यमवर्गीय परिवारमा जन्मिएर पनि सादा जीवन उच्च विचारका धनी अधिकारी पार्टीभित्र शालीन र आदरणीय व्यक्तित्वका रूपमा स्थापित थिए । उनमा पदको अहंकार, घमण्ड, गुटबन्दी गरी मन परेकालाई मात्रै काखी च्याप्ने बानी थिएन । गुटबन्दी, भ्रष्टाचार, अनियमितता, पक्षपात र जनताबाट टाढा रहने कार्यशैलीप्रति कडा प्रतिवाद गर्ने मनमोहन अधिकारीको स्वभाव, व्यक्तित्वबाट पार्टीभित्र मात्रै होइन, विपक्षी पार्टी र सिंगो कर्मचारीतन्त्र नतमस्तक थिए ।
मनमोहन अधिकारीको योगदान र सरकारमा हुँदा लोकप्रिय काम गरेकाले लाखौं मानिस कम्युनिस्ट पार्टीमा आकर्षित हुँदै अहिलेसम्म आइपुग्दा त हजारौं हजार मानिस कम्युनिस्ट पार्टीको कार्कर्ताका रूपमा काम गरिरहेका छन् । यस सन्दर्भमा आज नेपाल कम्युनिस्ट पार्टीले जुन उचाइ प्राप्त गरेको छ र अहिले दुई तिहाइको जुन जनमत प्राप्त गरेको छ, यो मनमोहन अधिकारीको टावरिङ पर्सनालिटी र सादा जीवन उच्च विचारको नेतृत्व शैलीको गुणात्मक विकास क्रममा हासिल भएको जनमतका रूपमा पनि मूल्यांकन गर्न जरुरी छ । तर, अहिले गुटबन्दीमा लागेकले हिजोका त्याग, बलिदान, योगदान र टावरिङ व्यक्तित्व, योगदान र भूमिकालाई चटक्कै बिर्सिएर सबै कुरा भर्खरै आर्जन भएको भन्ने ढंगले व्यक्तिको गुणगान गाउने गरिएको छ । यो कम्युनिस्ट पार्टीभित्रको व्यक्ति पूजा गर्ने, नीति होइन व्यक्तिका पछि हिँड्ने, आलोचनात्मक चेत नराख्ने, द्वन्द्ववादी नहुने प्रवृत्तिको उपज हो । मनमोहन अधिकारी यस्तो प्रवृत्ति मनपराउने व्यक्तित्व नभएको उनको योगदान र भूमिकाबाट स्पष्ट हुन्छ ।
यतिखेर मनमोहन अधिकारीले छोडेर गएको पार्टी नेपाल कम्युनिस्ट पार्टी सत्तारूढ भएको छ । मनमोहन अधिकारी पार्टी अध्यक्ष पनि प्रधानमन्त्री पनि भएर दुवै मोर्चा लोकप्रिय र गुटबन्दीरहित भएर संगठनात्मक विधि पद्धति र जनमुखी भएर सरकारको नेतृत्व गरेको सबैले झलझल्ली सम्झिरहेका छन् । अहिले पार्टीभित्र पार्टी सञ्चालनका क्षेत्रमा देखापरेका समस्या, पार्टी र सरकारबीचको सम्बन्धलाई लिएर थुप्रै प्रश्न खडा हुन थालेका छन् । जुन लेनिनवादी सिद्धान्तलाई अंगीकार गरेको कम्युनिस्ट पार्टीका लागि सुहाउने विषय नहुनेगरी समस्या झांगिदै गएका छन् । अहिले अध्यादेश प्रकरणले त पार्टीको इमेजमा, मुलुकको संविधानको भावनाको रक्षा, पालना र इमानदारिताका विषयमा प्रश्न खडा गरिदिएको छ ।
कोरोना भाइरस विश्वव्यापी डरलाग्दो महामारी फैलिएर हजारौं हजार मानिसको मृत्यु भई लाखौं मानिस मृत्युु शøयामा छटपटिरहेको बेलामा, अर्थतन्त्र संकटमा पर्दै नेपालमा संकट उत्पन्न भएको बेला राष्ट्रिय सहमतिका साथ एक भएर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेलामा अध्यादेश प्रकरणले पार्टीभित्र र बाहिर नराम्रो तरङ र द्वन्द्व उत्पन्न भएको छ । अब यसलाई नेकपाले शीघ्रताका साथ आपसी छलफल गरेर उत्पन्न समस्या र आशंकालाई हटाएर पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने, पार्टीका नीति र निर्देशनबाट सरकार सञ्चालन हुने सुनिश्चित संयन्त्र निर्माण गरी राजनीतिक दलसँगको सहकार्यलाई पनि जीवन्त बनाउनेगरी नेकपाले यतिखेर भूमिका निर्वाह गर्नुपर्दछ । कोरोनाविरुद्ध सिंगो पार्टीको शक्तिलाई परिचालित गरेर कम्युनिस्ट पार्टी जनताको विपत्तिको अभिभावक र साथी हो भन्ने व्यवहारमै लाग्नेगरी यतिखेर नेकपाले भूमिका निर्वाह गर्न सक्दा मात्रै मनमोहनप्रति सच्चा सम्मान हुनेछ र उनले छोडेर गएको अधुरा सपना पूरा हुने विश्वास लिन सकिन्छ ।