लमजुङ । लमजुङको जिल्ला सदरमुकाम क्षेत्रममा सञ्चालित अधिकांस फार्मेसी तथा औषधि पसलहरू मापदण्ड विपरित सञ्चालन रहेको फेला परेको छ । जिल्ला प्रशासन कार्यलयद्वारा गरिएको अनुगमनका क्रममा बेसीशहर बजार क्षेत्रमा त्यस्तो स्थिति फेला परेको हो ।
जिल्ला बजार अनुगमन समितीका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिहं गौतम नेतृत्वको नेतृत्वको जिल्ला अनुगमन समितिको अनुगमन टोलीले बेसीशहर नगरपालिका– ८ प्रदेश अस्पताल क्षेत्र तथा सेरा बजार क्षेत्रमा सञ्चालित १० वटा औषधि पसलमा अनुगमन गर्दा त्यस्तो स्थिति फेला परेको हो ।
अनुगमनका क्रममा टोलीले अनुमतिप्राप्त व्यक्तिबाट औषधि विक्री वितरण भएको नभएको, तोकिएको मापदण्डअनुसार चलेको–नचलेको विषयमा अनुगमन गरेको जिल्ला बजार अनुगमन समितीका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिहं गौतमले बताए । उनका अनुसार औषधि पसलहरूको दर्ता, नवीकरण स्थिति, विलविजक, साइनबोर्ड, सरसफाईका विषयमा विशेष रुपमा हेरिएको थियो । उनले भने, ‘नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि पसलको अवस्था वुझ्न गरिएको अनुगमनमा अधिकाशं औषधि पसल सञ्चालकहरुले सरसफाईमा ध्यान नदिएको तथा पसल सञ्चालनको अवस्था सन्तोषजनक पाउन सकिएन ।’
तोकिएको व्यक्ति तथा दक्ष स्वास्थ्यकर्मीले मात्र औषधि विक्रिवितरण गर्नुपर्नेमा औषधि पसलहरूमा उक्त व्यक्तिको उपस्थिति न्युन पाइएको सहायक प्रजिअ गौतमले जानकारी दिए । उनले भने, ‘कमजोरी सुधार गर्नका लागि औषधि पसलहरूलाई सुझाव सहित सुधार गर्न सात दिनको निर्देशन दिइएको छ ।
औषधि पसलमा खाद्यपुरक सामग्रीहरू, औषधीको रुपमा दर्ता नभएका सामग्री बेचविखन गरेको र इजाजत बिना कप्युटर बिलिङ प्रयोग गरेको पाइएकाले उक्त तोकिएको समयअवधिमा सुधार नभएमा कानुन बमोजिम जरिवाना तथा कारवाही गरिने जिल्ला अनुगमन समितिले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रदेश जनस्वास्थ्य कार्यलयका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, करदाता सेवा कार्यालयका प्रमुख, पर्यटन तथा उद्योग कार्यालय, बेसीशहर नगरपालिका, जिल्ला प्रहरी कार्यालय तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू पत्रकार महासंघका प्रतिनिधि सहितको टोलीले अनुगमन कार्य गरेको हो ।