इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा सञ्चालन भएको निःशुल्क वृहत् स्वास्थ्य शिविरमा १९ सय ५६ जनाले सेवा लिएका छन । फाकफोकथुम गाउँपालिकाको आयोजनामा चैत १ र २ गते सिहँ देवी माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा १९ सय ५६ जनाले सेवा लिएका हुन ।
जसमा मुटुको जाँच १४ सय जनाले सेवा लिएका छन । त्यस्तै बालरोग चार सय बढी, स्त्रीरोग सातसय, नाककान घाँटीको जाँच १२ सय बढीले सेवा लिएको फाकफोकथुम गाउपालिकाका योजना तथा प्रशासन प्रमुख माधव दहालले जानकारी दिए । दुइदिन सञ्चालन भएको उक्त शिविरमा ६ सय १६ जनाको इसिजी र २ सय ९० जनाको इको जाँच र १८ सय भन्दा बढीले ओपिडी सेवा लिएको उनको भनाइ छ । शिविरमा जिल्लाका १० वटै पालिकाबाट सेवालिन आमचोक पुगेका थिए भने ताप्लेजुङ, पाँचथर, झापाबाट पनि सेवालिन शिविरमा आएको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए ।

५६ जनाको अप्रेसन गर्नुपर्ने
फाकफाथुममा सञ्चालन भएको निःशुल्क वृहत् स्वास्थ्य शिविरमा १९ सय ५६ जनाले सेवा लिएका मध्ये ५६ जनाको अप्रेसन गर्नुपर्ने पाईएको छ । गाउपालिकाको आयोजनामा दुइदिन सम्म सञ्चालन भएको शिविरमा सेवा लिएका मध्ये ५६ जनाको अप्रेसन गर्नुपर्ने पाईएको हो । जसमा मुटुरोगीको १५ जनाको अप्रेसन मध्ये ८ जनाको तत्काल गर्नुपर्ने देखिएको डाक्टरले जनाएको प्रमुख दहालले बताए । मुटुमा प्वाल र मुटुको बाथ देखिएका मध्ये ८ जनाको तत्काल अप्रेसन गर्नुपर्ने रहेको उनको भनाई छ ।
त्यस्तै बाल रोगका बिरामी मध्ये ८ जनाको अप्रेसन, स्त्रीरोगमा ३ जनाको र नाक, कान,घाँटीसम्बन्धी ३० जनाको अनिवार्य अप्रेसन गर्नुपर्ने डाक्टरले बताएको पालिकाले जनाएको छ ।
अप्रेसन गर्नु पर्ने विरामीमध्ये मुटु रोगीको नि शुल्क अप्रेसन काठमाण्डौमा हुने र अन्य अप्रेसन दमकमा गर्ने तयारी भइरहेको गाउपालिकाका अध्यक्ष दिपेन्द्र खनालले बताए । शिविरमा मुटु रोग विशेषज्ञ अनिल भट्टराई, बाल रोग विशेषज्ञ गेहराज दाहाल, गाईनोलोजिस्ट सिता राई, नाक कान घाँटी रोग विशेषज्ञ गणेश चालीसेको नेतृत्वमा २५ जना भन्दा बढी डक्टरहरूको सेवा रहेको थियो ।
सुविधा सम्पन्न अस्पताल गाउँमै नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रूपमा प्राप्त गर्ने र धेरैले राहत पाउने भएको हुँदा पालिकाले समन्वय गरी शिविरको आयोजना गरेको थियो । फाकफोकथुम गाउँपालिकाको आयोजनामा सञ्चालन भएको उक्त शिविरमा विपन्नका लागि स्वास्थ्य नेपालको सहकार्य र मनमोहन कार्डियोथोराशिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टर त्रि वि शिक्षण अस्पतालको प्राविधिक सहयोग र दमक बाल अस्पतालको सहयोग रहेको थियो ।