तुलसीपुरको श्रीगणेश सामुदायिक वनमा एक्कासि आगो लागेपछि…

तुलसीपुर । करिब साढे आठ बजेको थियो । तुलसीपुरको राप्ती शान्ति उद्यान पार्कदेखि झण्डै एक किलोमिटर पूर्व श्रीगणेश सामुदायिक वनमा डढेलो लागेको खबर आयो । खबर पाए लगत्तै मानिसहरूको एक हुल ‘गाउँले हो, वनमा डढेलो लागेको छ निभाउन जाउँ है’ भन्दै गुहार माग्दै जङ्गलतिर पसे । श्रीगणेश र धारापानी सामुदायिक वनको सिमानामा आगो लागेको रहेछ । हातहातमा कूचो, खरेटो, स्वाटर र पानी वाटर ज्याकेट लिएर डढेलो लागेको ठाउँमा पुगेका उपभोक्ताहरूले आगो निभाउन थाले । वनमा सल्किएको आगोलाई नियन्त्रणमा लिनु त्यति सहज थिएन ।

आगोलाई नियन्त्रणमा लिदाँलिदै ५ जना उपभोक्ता जलेर घाइते भए । उनको तत्काल उद्धार गरेर उपचारका लागि हस्पिटल पठाइयो तर अन्य उपभोक्ताहरू भने आगोलाई नियन्त्रणमा लिने कार्यमा नै तल्लिन रहे । उनीहरूको एउटै अठोट थियो जसरी हुन्छ, सामुदायिक वनलाई डढेलोबाट जोगाउनु । केही समयपछि उपभोक्ताले आगोलाई नियन्त्रणमा लिए । जङ्गलमा लागेको आगोलाई नियन्त्रणमा लिन कसैले चारैतिरबाट खरेटोले बढारे, कतिपयले प्लाष्टिकको स्वाटर र स्याउलाले आगोलाई थुरे निभाउने प्रयास गरे । कतिपयले पानी वाटर ज्याकेटको सहायताले पानीको फोहरा मार्फत आगोलाई नियन्त्रणमा लिए ।

यो कुनै वास्तविक घटना थिएन । वन डढेलो सप्ताह कार्यक्रम अन्तर्गत जनचेतन जगाउन डिभिजन वन कार्यालय दाङले आयोजना गरेको डेमो प्रदर्शन कार्यक्रम मात्र थियो । डढेलो सप्ताह कार्यक्रम अन्तर्गत तुलसीपुरको श्रीगणेस सामुदायिक वन, घोराहीको शिवशक्ति सामुदायिक वन र बबईको पदमपुर सामुदायिक वनमा एकैपटक डेमो प्रदर्शन गरेर जनचेतना फैलाउने काम गरिएको हो । यो कार्यक्रम चैत्र ७ गतेसम्म निरन्तर संचालन हुने सवडिभिजन वन कार्यालय तुलसीपुरका रेञ्जर प्रकाश ढकालले बताए ।

९५ प्रतिशत मानवीय कृयाकलापकै कारण वन जङ्गलमा डढेलो लाग्ने गरेको रेञ्जर ढकालले बताए । ‘घासँ पलाउँछ, च्याउ उम्रिन्छ, भन्ने कतिपयको परम्परागत सोंच छ । कतिपयले वन्यजन्तुको शिकार गर्न आगो लगाउँछन् । कतिपयले जानीजानी पनि आगो लगाउने गर्दछन् । यसका लागि कानुनी कुराको पनि जानकारी गराउनुपर्ने हुन्छ । आगो लगाउने व्यक्तिलाई वन ऐन अनुसार ३ वर्ष कैद र ६० हजार रुपैयाँ वा दुवै सजायको व्यवस्था छ । यसको विषयमा हामीले आम नागरिकलाई बुझाउन आवश्यक छ ।’ रेञ्जर ढकालले भन्नुभयो । फागुन–चैत्रदेखि वैशाख–जेठसम्म हावाहुरी बढी चल्ने र सुक्खायामका कारण डढेलो बढी लाग्ने गर्छ ।

यसबाट वनजंगललाई जोगाउन अग्नि रेखा निर्माण, नियन्त्रण गर्ने तरिका, जोखिमबाट बच्ने उपाय, आगो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री वा औजारको व्यवस्थापन लगायतका विषयमा डेमो मार्फत उपभोक्तालाई जानकारी गराइएको साहयक वन अधिकृत नवराज कडेंलले जानकारी दिनुभयो । यस्ता जनचेतनामूलक कार्यक्रमबाट वर्षेनी सामुदायिक वनमा लाग्ने डढेलोका घटनाहरुमा कमि आउनुका साथै पूर्व सावधानी र प्राकृतिक तथा मानवीय क्षेतिमा समेत कमि आउने अपेक्षा डिभिजन वनले गरेको छ । दाङमा ८८ हजार हेक्टर वनको क्षेत्रफल रहेको छ । वन डढेलो दृष्टिकोणले तुलसीपुर उपमहानगरपालिकाको १३, घोराही उपमहानगरपालिकाको १ र ३ र बबई गाउँपालिकाको १ र ५ नम्बर वडा अति जोखिमको सूचिमा छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०–२०८१ मा दाङका विभिन्न १ सय ८ स्थानमा आगलागि हुँदा करिब ४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएको डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख टेकन आचार्यले बताए । जसबाट सयौ प्रजातिका बोटविरुवाहरु जलेर नष्ट भएका थिए भने वन्यजन्तु, काठदाउरा, जैविक विविधता लगायतका क्षेत्रमा ठूलो नोक्सानी पुगेको अनुमान गरिएको थियो । डिभिजन वनले चैत्र ७ गतेसम्म विविध कार्यक्रम गरेर डढेलो सप्ताह कार्यक्रम मनाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिए