सामुदायिक वनको डढेलो बस्ती छिर्दा खोटाङमा विद्यालय र ७ घर जलेर नष्ट

डिकुवा क्षेत्रको बाल्छीखोला सामुदायिक वनमा लागेको आगो ।

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो गाउँ भित्र प्रवेश गर्दा एउटा सामुदायिक विद्यालयसहित सात वटा घरहरू जलेर पूर्णरूपमा नष्ट भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा क्षेत्रको बाल्छीखोला सामुदायिक वनमा लागेको आगो अनियन्त्रित हुँदा आसपासका छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका स्थानीयवासीहरूको घरहरूमा पुगेको थियो । साबिक डिकुवा गाउँ विकास समितिको वडा नं. ६ का अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पृतिबहादुर राई, रणबहादुर राई, अबिन्द्र राई र हीराधन राईको घरहरू आगलागीमा परी नष्ट भएका छन् ।

डिकुवाका पूर्ववडा सदस्य घनश्याम राईका अनुसार डढेलोबाट बालकन्या आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ, जहाँ कक्षा पाँचसम्म पढाइ हुन्छ । काठबाट निर्मित विद्यालयको दुईकोठे प्रशासनिक कार्यालय भवन जलेर नष्ट भएको जनाइएको छ । प्रहरीका अनुसार डढेलोबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन बाँकी छ । डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जनाए अनुसार, साबिक डिकुवा गाविसको वडा नं. १, २, ४, ५ र ६ का सामुदायिक वनमा डढेलो फैलिएको छ ।

डढेलो नियन्त्रणका लागि स्थानीयवासी, नेपाली सेना, सशस्त्र तथा जनपद प्रहरी परिचालित छन् । वडाध्यक्ष राईका अनुसार डढेलो लागेको क्षेत्र सुख्खाग्रस्त इलाकामा पर्ने भएकाले पानीको अभावमा आगो नियन्त्रण बाहिर रहेको छ । आगो समयमा निभाउन नसक्दा ठूलो क्षति भएको उनले बताए । प्रत्यक्षदर्शीहरूका अनुसार दाम्लीको नबेल्खा जङ्गलमा चैत ३ गतेदेखि शुरु भएको डढेलोले डिकुवाका अन्य घरहरूमा समेत क्षति पुग्न सक्ने खतरा रहेको छ ।

दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकबाट खटिएका नेपाली सेनाले आगो नियन्त्रणका लागि अग्नीरेखा निर्माण गरिरहेका छन् । यसअघि गत फागुन ४ गते पनि जिल्लाकै पश्चिमी क्षेत्रको हलेसी तुवाचुङ नगरपालिकामा आगलागी भएको थियो । वडा नं. ७ महादेवस्थानस्थित हलेसी बजारका स्थानीय पदमशेर राईको घरबाट सल्किएको आगोले चार घर जलेर नष्ट हुँदा सात करोड ३० लाख बराबरको क्षति भएको प्रहरीको प्रतिवेदनले उल्लेख गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी