काठमाडौँ । चलचित्र चलचित्रका कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघको २० औँ साधारण काठमाडौँमा सम्पन्न भएको छ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनयरत विभिन्न कलाकारलाई सो समारोहमा विभिन्न पुरस्कारबाट पुरस्कृत गरियो ।
संघले अग्रज कलाकारहरूलाई प्रदान गर्दै आएको नेपाल चलचित्र कलाकार संघ पुरस्कार यस पटक एकसाथ तीन जना अग्रज कलाकारलाई प्रदान गरेको छ । पाँच दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता मुकुन्द किशोर भट्टराईलाई नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०७९ प्रदान गरियो ।
यस्तै चार दशकदेखि अभिनय क्षेत्रमा क्रियाशील चरित्र अभिनेता श्री लय संग्रौलालाई समारोमा नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०८० प्रदान गरियो । यसै गरी चार दशकदेखि अभिनयमा संलग्न अभिनेता पूरण जोशीलाई नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०८१ बाट पुरस्कृत गरियो । यी तिनवटै पुरस्कारको राशि जनही जनही ७५ हजार रुपैयाँ रहेको छ । दुई वर्ष देखि रोकिएको पुरस्कार एकै पटक बिगतको पनि प्रदान गरिएको छ ।
यस वर्षको शान्ति मास्के स्मृति पुरस्कार अभिनेत्री गौरी मल्ल लाई प्रदान गरियो । यो पुरस्कारको राशि ५६ हजार रुपैयाँ थियो । चार दशकदेखि अभिनयमा योगदान दिँदै आएकी अभिनेत्री गौरी भने आमाको अशौचमा रहेका कारण कार्यक्रममा सहभागी हुन सकिनन् । यसै गरी कलाकार संघले गोपाल राउत स्मृति पुरस्कार कलाकार रामकाजी घिमिरेलाई प्रदान गरेको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँ थियो ।
त्यस्तै, कलाकार संघले विगतका वर्षझैँ यस वर्ष पनि चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई विशेष योगदान सम्मान प्रदान गरेको छ । कार्यक्रममा विशेष योगदान सम्मानबाट कार्यक्रममा डा. रूपक घिमिरे, अभिनेता धिरेन शाक्य, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह, सञ्चारकर्मी कृष्ण भट्टराई र एयर सेल ट्राभललाई प्रदान गरियो ।
समारोहमा संघका अध्यक्ष मोहन निरौलाले नेपाल चलचित्र कलाकार संघको स्थापना देखि हालसम्म नियमित रूपमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताए । संघबाट आफुहरुले अग्रज ब्यक्तित्वहरुलाई सम्मान गर्दै आएको पनि उनले जिकिर गरे ।
सम्मानित कलाकार लय संग्रौलाले आफूलाई कलाकार संघको पुरस्कारले फेरी अभिनयमा अघि बढ्न ऊर्जा थपेको बताए । चलचित्रमा लागेर धेरै कुरा गुमाएको बेला पाउने यस्ता पुरस्कारले हौसला जगाउने गरेको पनि उनले बताए ।
कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले नेपाली चलचित्रको विकासमा कलाकारहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताए । नेपाल चलचित्र कलाकार संघका सल्लाहकार कृष्ण मल्लले आगामी दिनहरूमा नेपाल चलचित्र कलाकार संघ अझै बढी सक्रिय हुनुपर्ने सुझाव दिए ।
त्यस्तै नेपाल चलचित्र कलाकार संघकी संरक्षक वसुन्धरा भुसालले नयाँ पुस्ताका कलाकारहरूमा अनुशासनको अभाव हुँदै गएको भन्दै त्यसमा चिन्ता व्यक्त गरिन् । आफ्नो नेतृत्वमा संघले स्थापना गरेका पुरस्कारलाई निरन्तरता दिएको भन्दै उनले पुरस्कृतहरूलाई बधाई दिइन् ।
चलचित्र बिकाश बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रमा लामो समयसम्म योगदान दिएका कलाकारहरूलाई सम्मानित गरेर कलाकार संघले प्रशंसनीय कार्य गरेको छ भने ।