स्याङ्जा । माध्यमिकतहका विद्यार्थीहरुको अन्तिम परीक्षा एसइई चैत्र ७ गते बिहीबारबाट देशभर सञ्चालन हुदैछ । चैत्र ७ गतेदेखि १९ गते सम्म सञ्चालन हुने एसइई परीक्षाका लागि स्याङ्जामा तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ । एसइई परीक्षा २०८१ को तयारीका लागि शिक्षा विकास तथा समन्वय इकाई कार्यालय स्याङ्जाका प्रमुख विश्वराज आचार्यले तयारी पुरा भएको जानकारी दिए ।
एसइई परीक्षाका लागि स्याङ्जामा २५ ओटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । १ सय ७२ माध्यमिक विद्यालयका विद्यार्थीहरु एसइई परीक्षामा सम्मिलित हुने कार्यालयले जनाएको छ । १३७ सामुदायीक (धार्मिक—३, प्राविधिक—६) र संस्थागत ३५ विद्यालयका विद्यार्थीहरुको परीक्षामा सहभागिता रहने छ । नियमित तर्फ ३ हजार ५ सय ९८, नियमित प्राविधिक तर्फ १३४, ग्रेड बृद्धि साधरणतर्फ १ हजार २ सय १० र ग्रेड बृद्धि प्राविधिकतर्फ ५० जना गरी यो बर्ष स्याङ्जाबाट ४ हजार ९ सय ९२ विद्यार्थीले एसइई परीक्षा दिने कार्यालय प्रमुख आचार्यले बताए । जसमा २४२३ छात्रा र २५६९ छात्र रहेका छन् ।
परीक्षाका लागि २५ केन्द्राध्यक्ष, सहायक केन्द्राध्याक्ष ४५, निरीक्षक २६५, परीक्षा सहायक ६२, कार्यालय सहयोगी ११०, सुरक्षाकर्मी ३७५ गरी ८८२ जना जनशक्ति खटिने प्रमुख आचार्यले बताए । परीक्षालाई मर्यादित र शान्तिपुर्ण सम्पन्न गर्न खटिएका कर्मचारीहरुलाई निर्देशन दिएको र यो कार्यमा सहयोग गर्न जिल्लावासी सबैमा अनुरोध समेत गरिएको आचार्यले बताए ।
परीक्षामा खटिने केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम प्रदान गरेर पठाएका छौं उनले भने,‘तालिम सकेर गएका केन्द्राध्यक्ष बुधवारबाट परीक्षा केन्द्रमा पुग्ने छन् ।’ केन्द्राध्यक्षले परीक्षा केन्द्रस्थलका अभिभावक, समाजसेवी, राजनीतिकदल, जनप्रतिनिधि लगायत सबैसँग सल्लाह सुझाव लिएर परीक्षालाई मर्यादित बनाउन लाग्नेछन् उनले भने । चैत्र ७ गतेदेखी १९ गतेसम्म संचालन हुने एसइई परीक्षामा साधरणधारको १५ गतेसम्म, प्राविधिकधारको १७ गतेसम्म र ग्रेडबृद्धि धारको चैत्र १९ गतेसम्म परीक्षा संचालन हुने छ । प्रश्नपत्र सबै प्रहरी इकाईहरुमा पठाईसकिएको समन्वय इकाईले जनाएको छ ।