खोटाङ । खोटाङमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाका १०४ वटा माध्यमिक विद्यालयबाट तीन हजार २२६ जना विद्यार्थी सहभागी हुने भएका छन् । चैत ७ गतेदेखि देशभर एकैसाथ शुरु हुने एसइई परीक्षाका लागि खोटाङमा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थबहादुर विश्वकर्माका अनुसार साधारणधार र प्राविधिकधार गरी दुई थरीका पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरू यस परीक्षामा सहभागी हुँदैछन् । साधारणधारतर्फ दुई हजार ४८३ जना विद्यार्थी छन् भने प्राविधिकधारतर्फ नियमित १७२ जना मात्र परीक्षार्थी रहेका छन् । यसैगरी, साधारणधारतर्फ ग्रेड वृद्धि गर्न चाहने ५७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् भने प्राविधिकधारतर्फ ग्रेड वृद्धिका लागि एक जना पनि सहभागी हुँदैनन् ।
जिल्लाका ९८ वटा सामुदायिक तथा छ वटा निजी माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी हुने यस परीक्षाको सम्पूर्ण तयारी पूरा गरिएको इकाई प्रमुख विश्वकर्माले जानकारी दिए । चैत १९ गतेसम्म सञ्चालन हुने उक्त परीक्षा अन्तर्गत पहिलो दिन अर्थात् चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार प्रत्येक दिनको परीक्षा बिहान ८ः०० बजेबाट शुरु हुनेछ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सञ्चालन हुन लागेको एसइई परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले विशेष आग्रह गरेको छ ।
प्रशासनले बुधबार एक अनुरोधपत्र जारी गर्दै परीक्षालाई सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्न राजनीतिक दल, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षकसँग सम्बन्धित पेशागत संघसंगठन, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण नागरिकसमक्ष अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेद्वारा जारी गरिएको अनुरोधपत्रमा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक अन्य सबैका लागि मोबाइल फोन निषेध गरिएको उल्लेख छ ।
यसैगरी विद्यार्थीहरूले मोबाइल, किताब, नोटबुक, गेसपेपर लगायत अन्य पठन सामग्री परीक्षा केन्द्रमा लैजान पूर्णरूपमा निषेध गरिएको जानकारी दिइएको छ । प्रशासनले परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई परीक्षालाई डर र त्रासका रूपमा नलिई आफूले जानेका र पढेका कुरालाई निर्धक्क भएर लेख्न समेत आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनुरोधपत्रमा परीक्षा मर्यादित र व्यवस्थित बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गरिएको छ ।