काठमाडौं । रंगकर्मी विमल सुवेदीले अमेरिकामै रहेर आफ्नो लेखन तथा निर्देशनमा नयाँ चलचित्र ‘हिउँको गीत’ तयार गरिरहेका छन् । उनले बुधवार यो चलचित्रको फस्ट लुक्स (पोस्टर) समेत सार्वजनिक गरेका छन् । चलचित्रको रिलिज मिति चाँडै घोषणा गर्ने पनि उनले बताएका छन् ।
हिउँको गीतमा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, इशिर कर्माचार्य र पूजा चन्द केन्द्रीय भूमिकामा रहेका छन् । यिनै शीर्ष कलाकारहरूलाई फस्ट लुक्समा समेटिएको छ ।
यो चलचित्रका अन्य कलाकारमा थोमस किथ स्कट, केदार उप्रेती, आर बी खड्का, अर्जुन रसाइली, मनोरथ खनाल आदि रहेका छन् । यस्तै पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी स्थानीय नेपाली तथा नेपाली भाषी भुटानी कलाकारलाई समेत यो चलचित्रमा समेटिएको निर्देशक सुवेदीले बताएका छन् ।
चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मेहुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, संघर्ष, नेपाली भाषी भुटानीहरू माथि त्यति बेलाको शासकले गरेको चरम अन्याय, अत्याचार, बर्बरता र चरम यातना समेटिएको छ । आफूले यो चलचित्रमा नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रूपले समेटेको विमल सुवेदीले बताए ।
यो चलचित्र ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको निर्देशक सुवेदीले जानकारी गराएका छन् । यो चलचित्रलाई ह्याप्पी होम स्टुडियोको लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् ।
चिनइन गाउको छायांकन रहेको यो चलचित्रमा निशान घिमिरेको सम्पादन, दिकेश खड्गी शाहीको ध्वनी, देउ कुमार राई नेतृत्व समूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्माचार्यको नृत्य निर्देशन रहेको छ । चलचित्रमा आर. बी. खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द, तथा कालीप्रसाद बासकोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन छ ।