इलाम । कहिले गुन्द्रक, सिस्नु,करेला ब्रान्डिङ त कहिले तीतेपाती खेतीमा किसानलाई उक्साइरहेको रोङ गाउँपालिकाले ‘गुरु किसान’ कार्यक्रम अघिसारेको छ । कृषकलाई प्रतिस्पर्धी बनाउने गरि ‘गुरु किषान’ कार्यक्रम अघि सारेको हो ।
कृषि भूमिको अवैज्ञानिक प्रयोग, निर्वाहमुखी कृषि प्रणाली र गैरकृषि क्षेत्रको तुलनामा कृषि क्षेत्रको न्यून आम्दानीको कारण कृषि क्षेत्र आकर्षक र सम्मानित हुन सकेको छैन हामी यो कार्यक्रममार्फत वास्तविक किसानको अवस्था परिवर्तनको प्रयासमा लागेको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए ।
रोङ गाउँपालिकाको भौगोलिक परिवेश, प्राकृतिक स्रोत एवं बजारको पहुँचले उपलब्ध गराएको अवसर र किसानहरूको अन्तर्निहित क्षमतालाई विकास गर्दै आधनिक कृषि प्रविधिहरूको उपयोगगरी व्यावसायिक कृषिको माध्यमबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सुरक्षाका लागि नेपालमै पहिलो पटक गुरु किसान योजना अघि सारेको पालिकाले जनाएको छ ।
रोङ गाउँपालिकाभित्र रहेका कृषकहरूमध्येबाट नै उत्कृष्ट ज्ञान, सीप, दक्षता नेतृत्व हासिल गरेका ‘गुरु किसान’ तयार गर्न कार्यविधि निर्माण गरेको अध्यक्ष स्याङ्बोले बताए ।

लाखौं युवा कृषि पेसाबाट विदेश पलायन हुने अवस्थामा परिवर्तन ल्याउनसमेत यो कार्यक्रम अघि सारेको उनको भनाइ छ । उनले कृषि क्षेत्रलाई उत्पादन, आम्दानी र रोजगारको लागि प्रतिस्पर्धी र व्यावसायिक कृषक बनाउने अभियानमा गाउँपालिका लागेको बताए ।
देशमै पहिलो र नमुनाको रुपमा रहेको यो कार्यक्रममा संघीय सरकाले १५ लाख सहकार्य गरेको छ भने बाँकी सबै खर्च गाउँ पालिकाले बेहोर्ने छ ।
लोगो र परिचयपत्र वितरण गरिने
गुरु किसान हुन योग्य किसानको छनोट गरेपछि कृषि सामग्री, तालिम, कृषि उपकरणलगायतको क्षत्रमा सहजीकरण गर्ने अध्यक्ष स्याङ्बोले बताए । उनले भने ‘गुरु किसान योग्य र उदाहरणीय भए पछि अरू कृषकहरूलाई आफ्नो योग्यता, क्षमता र अनुभवबाट उदाहरणीय बनाउन सहयोग गर्नेछन् ।’
कार्यक्रमले गुरु किसानहरूको नेतृत्वमा अन्य कृषकहरूमा खाद्यबाली, तरकारी, उच्च मूल्य बालीलगायत पशुपालनको क्षेत्रमा व्यावसायिक क्षमता विकास गर्ने लक्ष्य राखेको छ । कार्यक्रमले गुरु किसानलाई व्यावहारिक र अनुभवले खारिएको अघोषित प्राविधिकको रूपमा विकास गर्ने लक्ष्यसमेत राखेको छ ।
‘सुरुमा करिब तीन सय जना ‘गुरु किसान’ पहिचान गर्ने तयारी छ,’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, ‘किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरूपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको छ ।’
उनीहरूलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । उनले भने, ‘गुरु किसानलाई पालिकको हरेक कार्यक्रमममा आशनग्रहण हुन्छ, सम्मान हुन्छ ।’ गाउँपालिकाले गुरु किसानमार्फत उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ ।
रोङ गाउँपालिकाको कुल १५६ दशमलव ०२ वर्ग किलोमिटर क्षेत्रमध्ये ४९ दशमलव ६२ वर्गकिलोमिटर जमिनखेती योग्य रहेको छ । पालिकाको तथ्यांकअनुसार पालिकाभरिमा अलैंची २० मेट्रिकटन, धान ३५० मेट्रिकटन, मकै १५० मेट्रिकटन, सुन्तला १६० मेट्रिकटन, सुपारी ३५ मेट्रिकटन, अदुवा १५ मेट्रिकटन, केरा १०० मेट्रिकटन, आलु १८० मेट्रिकटन र स्कुस ५०० मेट्रिकटन उत्पादन हुने गरेको छ ।
यसबाहेक तोरी, बेसार, सिस्नु, खुर्सानी, च्याउ, कुरिलो, मुला, काँक्रो, टमाटर, तीतेकरेला, कुरिलोलगायतका बाली किसानले लगाउने गरेको पालिकाको कृषि शाखाले जनाएको छ ।
गुन्द्रुकबाट सुरु
देशमै पहिलो पटक घर घरबाट उत्पादन हुने सागबाट गुन्द्रुक उत्पादनमा सफल रोङ अहिले चाहिँ किसानलाई नै गुरु बनाउने अभियानमा जुटेको हो । गुन्द्रुकको ठूलो बजार समात्न उसले गरेको प्रयासमा एकपछि अर्को सफलता मिलिरहेको गाउँपालिकाको दाबी छ । गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकेजी १० रुपैयाँ निर्धारण गरेको छ । साग गाउँपालिकाको फ्याक्ट्रीलाई दिने किसानले सागमा प्रतिकेजी ६ रुपैयाँ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ । त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० रुपैयाँ अनुदानको व्यवस्था छ । त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ ।

मौरीपालनको विकासमा
गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको छ । मौरीले वातावरण जोगाउनका लागि राम्रो भूमिका निर्वाह गर्ने भएकाले पनि मौरी जोगाउनुपर्ने बताइएको छ । साथै मौरी रहेमा महसमेत उत्पादन गर्ने र किसानको जीविकोपार्जनमा सहयोग पुर्याउनेछ । पछिल्लो समय ‘रोङ मह’ सधैं र सबै ठाउँमा किन्न पाइँदैन भन्ने नारासहित सो गाउँपालिका अघि बढेको रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवास बताउँछन् । गाउँपालिकाले मौरीपालनलाई गाउँपालिकाको पहिचानका रूपमा स्थापित गर्न यो कार्यक्रम नै अगाडि बढाएको अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए ।
करेलाको ब्रान्डिङ
गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री सुरु गरेको हो । तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा पाँच(१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् ।
गाउँपालिकाले यसअघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचोलगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेल बताउँछिन् । रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उनको भनाइ छ ।