काठमाडौं । केही समय यताबाट हरेक हप्ता प्राय दुई तीन वटा नेपाली चलचित्र रिलिज हुँदै आएका छन् । यसै क्रममा यो शुक्रवार दुई वटा नेपाली चलचित्र रिलिज हुँदै छन् । केशव पाण्डेको निर्देशनमा एक्सन थ्रिलर क्राईम जनराको चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) र ऋषि राज आचार्यको निर्देशनमा सामाजिक जनराको चलचित्र ‘द्रौपदी’ एकसाथ शुक्रवारबाट रिलिज हुँदै छन् । चलचित्र घरमा यो साता यी दुई चलचित्रबिच प्रतिस्पर्धा हुने भएको छ ।
यी दुवै चलचित्रसँगै अघिल्लो साता रिलिज भएका मध्य दुई नेपाली चलचित्र अञ्जिला र आउटल ः दफा २१९ पनि दोस्रो साता प्रदर्शन हुँदै छन् ।
रोचक प्रसंग के भने पहिलो सातामा निकै राम्रो व्यापार गरेको चलचित्र अञ्जिलाले यो साता रिलिज भएका नयाँ चलचित्रहरू भन्दा बढी शो पाएको छ । पहिलो साताको भन्दा अञ्जिलाको व्यापार दोस्रो साता थप राम्रो भएको छ ।
शुक्रवार मुलुकका करिब १०० वटा पर्दामा रिलिज हुने चलचित्र द्रौपदीमा कर्णाली भेकको जनजीवनको कथा प्रस्तुत गरिएको हो । ऋषि राज आचार्य लिखित तथा निर्देशित यो चलचित्रको छायांकन डोल्पाका विभिन्न ग्रामिण क्षेत्रमा गरिएको हो । चलचित्रले कर्णालीको सुन्दरता, जनजीवन र व्यथाहरूलाई प्रस्तुत गर्ने यसका निर्देशक ऋषिले राजधानीलाई बताए ।
स्थानीय लवज र जीवनशैली प्रस्तुत गरिएको यो चलचित्रलाई निर्देशक आचार्य मौलिक नेपाली चलचित्रको रूपमा व्याख्या गर्छन् । केही अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत विशेष चलचित्रको अवार्ड जितेको यो चलचित्रमा डोल्पाको शे फोक्सुन्डो तालको सुन्दरता पनि समेटिएको छ ।
नारी संवेदनामा आधारित यो चलचित्रमा स्वयम् ऋषि राज आचार्य सहित आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, कविराज भाम, जेल्सन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक आचार्यको लेखन, अनिल महर्जनको सम्पादन, सौरभ शर्माको पाश्र्व संगीत, मोहनकुमार झिल्लुको छायांकन रहेको यो चलचित्रमा रबि ओड र इन्द्रकला राईको स्वरमा गीत रहेको छ ।

आर बि मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको सहनिर्माता ऋतु आचार्य र विष्णु ठडराई, निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । यो चलचित्रलाई नेपालमा एप्पल इन्टरटेन्टमेन्ट, एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रूपमा वितरण गर्दै छ ।
यस्तै ८ चैत शुक्रवारबाट १२० भन्दा बढी पर्दामा प्रदर्शनमा आउने नेपाली चलचित्र ११ः५५ले एउटा घर भित्र भएको एक युवतिको हत्या पछिको आरोह अवरोहको घटनालाई प्रस्तुत गरेको छ । यो चलचित्रको शीर्ष भूमिकामा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको अभिनय रहेको छ । चलचित्रमा बुद्धि तामाङ सहायक भूमिकामा छन् । बाँकी ६ जना पात्रकै वरिपरि चलचित्र घुमेको छ ।
चलचित्र ११:५५ (डु नट ट्रस्ट एनिवन)को बुधवार काठमाडौँमा रेडकार्पेट प्रिमियर गरियो । प्रिमियरमा चलचित्रकर्मी तथा सञ्चारकर्मीले यो चलचित्रलाई क्राइम थ्रिलर जनरामा राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए । प्रिमियरमा पुगेका अभिनेत्री मलिना जोशी, अभिनेता आर्यन अधिकारी, गजित विष्ट, जय किशन बस्नेत, निर्देशकहरू दीपक आचार्य (काकु), सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, विनोद पौडेल, लक्ष्मण सुवेदीलगायतले क्राईम जनरामा सशक्त चलचित्र बनेको प्रतिक्रिया दिए ।
यही चलचित्रबाट केशव पाण्डेले निर्देशनमा डेव्यु गरेका हुन् । नेपालमा थोरै मात्रै सस्पेन्स क्राइम थ्रिलर जनरामा चलचित्र निर्माण हुने भएकाले आफूले यो चलचित्र बनाएको बताए । कार्यक्रममा उनले भने,‘मैले जुन सपना देखेर यो सिनेमा निर्माण गरेका थिए । त्यो पाउँदा निकै खुसी लागेको र मेरो कथालाई मैले छानेका कलाकारहरूले जीवन्त अभिनय गरेर न्याय गरिदिनु भएकोमा प्रफुल्ल छु ।’
यो चलचित्रलाई निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन् । जसमा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन, शैलेश श्रेष्ठको ध्वानी डिजाइन र मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्लेको प्रोडक्सन डिजाइनर रहेको छ ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको यो चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । यो चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्रलाई नेपालमा कुवेर सिने डिष्ट्रीब्युसन प्रालि र गोविन्द शाहीले वितरण गरेका छन् ।