खोटाङ । नेपाल नेत्रज्योति संघ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन शनिबार ३४ जना आँखाका बिरामीको सफल शल्यक्रिया गरिएको छ। शिविरमा उपचारका लागि २५७ जना बिरामीले नाम दर्ता गराएका छन् ।
दिक्तेलस्थित आँखा उपचार केन्द्रमा चैत ११ गतेसम्म सञ्चालन हुने यस शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गरिनेछ। शल्यक्रिया गरिएका बिरामीहरूलाई खाना, खाजा र बासको निःशुल्क व्यवस्था मिलाइएको नेत्रज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए।कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उद्धघाटन गर्नुुभएको शिविरको सगरमाथा चौधरी आँखा अस्पताल सिराह लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा शुरु भएको हो ।
शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी र आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठसहित १६ जना चिकित्सकको टोलीले सेवा प्रदान गरिरहेका छन्। यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित शिविरमा ४७ जनाको शल्यक्रिया र ३९२ जनाको आँखा जाँच गरिएको थियो ।
नेत्रज्योति संघले चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसी बजारमा पनि निःशुल्क शिविर सञ्चालन गर्दैछ। यस पटकको शिविरबाट जिल्लाका करिब २,१०० जना आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको छ। खोटाङमा १,५४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ ।