सप्तरी । मादक पदार्थ सेवन गरी गाली गलौज गरेको भन्दै एक युवक छिमेकीद्वारा निर्घात कुटिएका छन् । सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका ४५ वर्षिय जालाधर राम यसरी कुटिएका हुन् ।
टाउकोमा गम्भिर चोट लागेका उनको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा १० वटा टाँका लगाइएका उनको अवस्था बिग्रिदै गएपछी चिकितसकले बाहिर लगेर उपचार गराउन सल्लाह दिएका छन् ।
घाइतेका बुबा महेन्द्र रामका अनुसार तीन दिन अघि मादक पदार्थ सेवनगरी आफूहरुलाई गाली गलौज गरेको भन्दै छिमेकी राजलाल राम र उनका नाती निरज रामले बाँसको भाटाले छोरालाई निर्घात कुटपिट गरेका थिए ।
बेहोस अवस्थामा उपचारका लागि ल्याइएको छोराको अवस्था झन विग्रिदै गएको र चिकित्सकले उपचारका लागि बाहिर लैजान भनेपछि आर्थिक अभावले आफू थपसमस्यामा परेको उनले सुनाए ।
उनले सोमबार छोरालाई मरनासन्न हुनेगरी कुटपिट गर्ने राजलाल राम र निरज कुमार राममाथी कडा कारवाही, घाइतेको उपचार तथा क्षतिपूर्तीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन समेत दिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान तथा कुटपिटमा संलग्नको खोजिकार्य भइरहेको जनाएको छ ।