बलिउडमा फेरि सम्बन्धविच्छेदको लहर

मुम्बई । भारतीय चलचित्र उद्योगमा चलचित्रकर्मीहरूको सम्बन्धविच्छेदको क्रम बढेको छ । यस्ता सम्बन्धविच्छेदका कारण चलचित्रकर्मीहरूको चरित्रमा समेत प्रश्न उठ्न थालेको छ भने सम्बन्ध बिग्रँदै गर्दा मानसिक रूपमा पनि त्यत्तिकै तनाव हुने गरेको सम्बन्धित चलचित्रकर्मीले बताएका छन् ।

ऋतिकको सम्बन्धविच्छेद साह्रै महँगो

यसैक्रममा पछिल्लो समय केही कलाकारले सम्बन्धविच्छेद गरेका छन् भने केहीले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दासमेत दायर गरेका छन् ।

यतिबेला बलिउड अभिनेत्री इसा देओलले सम्बन्धविच्छेदको घोषणा गरेकी छन् । लामो समयसम्म सँगै दाम्पत्य जीवन बिताएपछि इसाले आफ्ना पति भरत तख्तानीसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी हुन् । उनी अहिले पतिलाई छाडेर आफ्ना दुई छोरीहरू राध्या र मिरायासँगै बस्न थालेकी छन् । परिवारनजिकको स्रोतका अनुसार उनलाई देओल परिवारले मिलेर बस्न केही समयदेखि सुझाव दिएका थिए । तर, अब आफू पतिसँगै बस्न नसक्ने भएकाले सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेको इसाले बताएकी छन् । उनले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरिसकेकी छन् । इसाको यस निर्णयले आमा तथा अभिनेत्री हेमा मालिनी दुःखी भएकी छन् ।

यता, बलिउड अभिनेत्री उर्मिला मातोंडकरले पनि ८ वर्षको विवाह सम्बन्धलाई तोड्ने निर्णय लिएकी छन् । उर्मिलाले आफ्ना पति मोहसिन अख्तर मीरसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन् । यी जोडीले सन् २०१६ मा पारम्परिक रूपमा विवाह गरेका थिए । यस जोडीबीच १० वर्षको उमेर अन्तर थियो । मोहसिन अख्तर मीर कश्मीरमा बस्ने एक व्यवसायी र मोडेल हुन् । आफूसँग उर्मिलाले सम्बन्धविच्छेद गर्न लागेको कुरा मोहसिनले पनि स्विकारेका छन् ।

यसरी बलिउडका दुई अभिनेत्रीले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गर्दैगर्दा दक्षिण भारतीय अभिनेता धनुषले पत्नी ऐश्वर्यासँग सम्बन्धविच्छेद गरेका छन् । ऐश्वर्या भारतका लोकप्रिय अभिनेता रजनी कान्तकी छोरी हुन् ।

अभिनेता धनुष र उनकी पत्नी ऐश्वर्याले २०२२ जनवरीमै सामाजिक सञ्जालमा आफूहरू अब सम्बन्धबाट अलग हुने घोषणा गरेका थिए । यस घोषणापछि उनीहरूले चेन्नई पारिवारिक अदालतमा आपसी सहमतिमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए ।

करिब २ वर्षको अदालती प्रक्रियापछि गत २१ नोभेम्बरमा उनीहरू दुवैले आफूहरू पूर्ण रूपमा छुट्टिन लागेको भन्दै अदालतमा बयान दिएका थिए । सो बयान आएपछि २७ नोभेम्बर २०२४ मा अदालतले यी दुईबीच सम्बन्धविच्छेद भएको निर्णय सुनाएको थियो । धनुष र ऐश्वर्याका दुई छोरा, यात्रा र लिंगा छन् । यी दुवै सन्तानलाई धनुष र ऐश्वर्याले संयुक्त अभिभावकत्व दिनुपर्ने निर्णयसमेत अदालतले गरेको छ ।

विवाह सम्बन्ध टुट्दा त्यसको ठूलो असर छोराछोरीको पालन पोषणमा पर्ने गरेका घटना त धेरै छन् । सम्बन्धविच्छेदपछि पत्नीलाई त्यत्तिकै सम्पत्ति दिनुपर्ने समस्या पनि पतिले भोग्ने गरेका छन् । यसैक्रममा बलिउडमा सबैभन्दा महँगो सम्बन्धविच्छेदको पीडा अभिनेता ऋतिक रोशनले भोग्नुपरेको छ । ऋतिक र सुजैन खानले ४ वर्षसम्म डेट गरेपछि बल्ल विवाह गरेका थिए । सन् २००३ मा विवाह गरेका यी जोडीले सन् २००६ मा आफ्नो पहिलो छोरा रेहान र सन् २००९ मा हृदानलाई जन्म दिएका थिए । यी दुईले विवाहको ११ वर्ष लामो सम्बन्ध तोडेका थिए ।

ऋतिक र सुजैनको सन् २०१४ मा सम्बन्धविच्छेद भएको हो । उनीहरूको सम्बन्धविच्छेदको वास्तविक कारण थाहा नभए पनि सुजैनको अर्जुन रामपालसँगको प्रेम सम्बन्धले उनीहरूको विवाह टुटेको समाचार बाहिर आएको थियो । सुजैनले एक अन्तर्वार्तामा दाम्पत्यको एउटा अन्तिम मोडमा पुगेपछि आफूले सम्बन्धविच्छेद गर्नुपर्छ भन्ने निर्णय लिएको बताएकी थिइन् ।

सुजैनले सम्बन्धविच्छेदको मागसहित आफ्नो पालन पोषण भत्ताका रूपमा ४ सय करोड भारतीय रुपैयाँ मागेकी थिइन् । यो प्रकरण अदालतसम्म पुगेपछि अभिनेता ऋतिकले पत्नी सुजैनलाई ३ सय ८० करोड रुपैयाँ भत्ता दिएका थिए । त्यसपछि उनीहरूबीच सम्बन्धविच्छेद भएको थियो ।

ऋतिक र सुजैन अहिले आ–आफ्ना पार्टनरसँग खुसी जीवन बिताइरहेका छन् र दुवैले आफ्ना छोराछोरीलाई हेरचाह पनि गरिरहेका छन् । तथापि, बलिउडमा सबैभन्दा महँगो सम्बन्धविच्छेदका रूपमा ऋतिक र सुजैनको जोडीलाई लिने गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मेनपावरहरूले खुलेआम लाखौं रकम असुली गरिरहदा सरकार किन मौन छ: प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प