कोरोना महामारी रोक्न ३ अर्ब ४२ करोड बजेट रकमान्तर

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँबराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा सो रकम खर्च गरेको जानकारी दिएका हुन् ।

अर्थ मन्त्रालयले १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको मन्त्री खतिवडाले जानकारी दिए । अर्थमन्त्री खतिवडाले कोरोनाविरुद्धको लडाइँमा बजेट अभाव हुन नदिएको पनि बताए । लकडाउन लम्बिँदै जाँदा सरकारको खर्चमा प्रभाव परेको मन्त्री खतिवडाले समितिलाई जानकारी गराए । चैत मसान्तसम्म कुल चालूतर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात् ४ खर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ ।

भन्सार नाकाबाट मासिक लक्ष्यको एक चौथाइ मात्र राजस्व संकलन भएको, भन्सार, मूल्यवृद्धि कर र अन्तःशुल्क असुली सबैमा कमी आएको उनको भनाइ छ ।

मन्त्री खतिवडाले कोरोना भाइरस रोकथाम कोषमा २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र सो रकम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भएअनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको पनि बताए । कोरोना नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालनमा करिब डेढ खर्ब रुपैयाँ प्रतिबद्धता पाएको पनि जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयमार्फत स्वास्थ्य उपकरण खरिदका लागि २ अर्ब ३४ करोड रुपैयाँ दिइएको बताए । संसद्को अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि बजेट अभाव हुन नदिने पनि जानकारी गराए ।

कोरोनाका कारण राजस्वमा चाप परेको भन्दै उनले यसबाट खर्चमा समेत प्रभाव पारेको जानकारी दिए । आगामी आर्थिक वर्षको बजेट कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई जोगाउने गरी निर्माण भइरहेको उनले समितिलाई जानकारी गराए ।

‘शिथिल बनेको अर्थतन्त्रलाई उकास्ने गरी आगामी आर्थिक वर्षको बजेट बन्छ,’ उनले भने, ‘स्वाभाविक रूपमा कोरोनाबाट अतिप्रभावित भएको अर्थतन्त्रलाई हामीले माथि उठाउनु छ । हामी फेरि पुरानै अवस्थामा फर्कनु छ । यी क्षेत्रको पहिचान गर्दै आगामी बजेट बन्नुपर्छ । यसमा पहिलो प्राथमिकता कृषि उत्पादन र सम्भावना भएका क्षेत्रमा नेपाल आत्मनिर्भर बन्नेतर्फ उन्मुख हुनुपर्छ । कोरोनाका कारण अतिप्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा गएका नेपालीसमेत बेरोजगार बन्ने अवस्था सिर्जना भएको छ । यसबाट करिब १५ लाख बेरोजगारी थपिने जोखिम देखिन्छ । उनीहरूलाई कुनै न कुनै रूपबाट काम दिनुपर्ने हुन्छ । त्यो अवसर सिर्जनाको खोजीमा बजेटले भूमिका खेल्नुपर्छ । कृषि र उद्योगले धेरै रोजगारी सिर्जना गर्न सक्छ ।’

खतिवडाले आन्तरिक राजस्वमा भएको कमीलाई वैदेशिक सहायताबाट पूर्ति गर्ने बताए । उनले बढीभन्दा बढी वैदेशिक सहायता परिचालन गरेर आगामी वर्षको बजेट तर्जुमा गर्ने काम भइरहेको बताए । संसद्को अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री खतिवडाले कोरोनासँग सम्बन्धित रहेर वैदेशिक सहायताबापत १ खर्ब ५० अर्ब रुपैयाँको प्रतिबद्धता आइसकेको बताए । ‘यो अझै बढ्ने अवस्था छ,’ उनले भने, ‘यसबाट राजस्व कमीलाई पूर्ति गर्नेछौं ।’ खतिवडाले चालू वर्षको सुरुदेखि नै राजस्व उठ्तीमा चाप परिरहेको बताउँदै भन्सारलगायतमा गरिएको सुधारले राजस्व कम उठेको बताए । पछिल्लो समय आएर कोभिड–१९ का कारणले राजस्व प्रभावित भएको उनले जानकारी दिए । ‘चैतमा लक्ष्यको एक चौथाइ मात्र उठेको छ । वैशाखको दोस्रो सातासम्म आउँदा पनि एक चौथाइ नै छ,’ खतिवडाले भने, ‘भन्सार राजस्वमा उल्लेख्य कमी छ । भन्सारबाहेकको राजस्वमा पनि कमी आएको छ ।’

खतिवडाले कोरोना राहत कोषमा २ अर्ब २० करोड रुपैयाँ जम्मा भइसकेको जानकारी दिए । यो कोषमा सुरुमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेको थियो । खतिवडाले खर्चतिर पनि सुरुवातबाटै लक्ष्यअनुसार गर्न नसकिएको बताए । पछिल्लो समय खर्चलाई कोरोनाले प्रभावित पारेको उनले जानकारी दिए । उनले भने, ‘चैतसम्म चालू खर्चतिर ४८८ अर्ब खर्च भएको छ । यो लक्ष्यको ५१ प्रतिशत छ । पुँजीगत १०५ अर्ब अर्थात् लक्ष्यको २६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८४ अर्ब अर्थात् वार्षिक लक्ष्यको ५० प्रतिशत खर्च भएको छ । चैतसम्म कुल ६७६ अर्ब रुपैयाँ खर्च भएको छ ।’

चैतसम्म खर्च नभएको पैसा कानुनतः ‘सरेन्डर’ गर्नुपर्ने व्यवस्थाअनुसार २० अर्ब सरेन्डर भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै